एमालेको वडा अधिवेशन देशव्यापी रूपमा सम्पन्न

पाँच हजार बढी वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन, वर्षाबाट प्रभावित केही वडामा बाँकी

नारायण भण्डारी   POSTED ON : कार्तिक ७, २०७८ (५:२२ AM)

एमालेको वडा अधिवेशन देशव्यापी रूपमा सम्पन्न

काठमाडौं । नेकपा एमालेले देशभरका वडामा एकैपटक अधिवेशन सम्पन्न गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट देशभरको वडा अधिवेशनको उद्घाटन गरेपछि देशव्यापी रूपमा वडा अधिवेशन सुरु भएका थिए । ६ हजार ७४३ वडामध्ये बाढी-पहिरोले प्रभावित भएका र आन्तरिक व्यवस्थापन मिलाउन बाँकी भएका केही वडामा मात्रै अधिवेशन हुन बाँकी छ । अधिवेशन हुन बाँकी रहेका वडामा पनि छिट्टै अधिवेशन गर्न अध्यक्ष ओलीले निर्देशन दिनुभएको थियो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले देशभरका पाँच हजार बढी वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएका विवरण आएको जानकारी दिनुभयो । यसैगरी बाँकीमा पनि शान्तिपूर्ण अधिवेशन भएको उहाँको भनाइ छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने उद्देश्यले एमाले अघि बढिरहेको बताउनुभयो । आधारभूत संगठनको रूपमा रहेको वडा संगठनको अधिवेशन एकैपटक उद्घाटन गरेको छ । एकताबद्ध एमालेले मात्रै यस्तो काम गर्न सम्भव रहेको र त्यही काम सम्पन्न भएको ओलीले बताउनुभयो । केही दिनअघिको घनघोर वर्षाका कारण प्रभावित भएर रोकिएको ठाउँको वडा अधिवेशन केही दिनमै सम्पन्न हुने उहाँले बताउनुभयो । अ

धिवेशनबाट ६ हजारभन्दा बढी वडाले नयाँ नेतृत्व पाएका छन् । एमालेको विधान महाधिवेशनबाट पारित विधानअनुसार शनिबारको अधिवेशनबाट ३१ सदस्यीय कमिटीहरू बनेका छन् । त्यसअनुसार ६ हजार ७४३ वडाको आधारभूत तहको वडा कमिटीमा दुई लाख नौ हजार जनासम्म कार्यकर्ता संगठित रहनेछन् । विधानअनुसार अध्यक्ष, उपाध्यक्ष र सचिव एक/एक तथा दुई उपसचिव रहेको कमिटी बनेका छन्  । तर, उपमहानगरका वडामा ४१ र महानगरका वडामा ५१ सदस्यीय कमिटी बनाइएको छ । त्यस्तै, महानगर कमिटी एक सय एक सदस्यीय, उपमहानगर कमिटी ८५ सदस्यीय तथा गाउँपालिका र नगरपालिकाको ७५ सदस्यीय हुने विधानमा उल्लेख गरिएको छ । एमालेको पालिका कमिटीका अधिवेशनहरू ९ गते हुनेछन् । एमालेले मंसिर १०–१२ गते चितवनमा १० औं महाधिवेशन गर्दै छ । 

सत्तारूढ गठबन्धन ‘प्रतिक्रियावादी र प्रतिगामी’ : ओली

प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारूढ गठबन्धन ‘प्रतिक्रियावादी र प्रतिगामी’ भएको आरोप लगाउनुभएको छ । पार्टीको वडा कमिटीको शनिबार थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअल रूपमा उद्घाटन गर्ने क्रममा ओलीले सत्तारूढ गठबन्धनको चर्कोे आलोचना गर्नुभएको हो । आफू नेतृत्वको सरकार महान् उद्देश्यका साथ अगाडि बढेको तर पाँच दलीय गठबन्धनले त्यसलाई हटाएको ओलीको आरोप थियो । ‘पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी गठबन्धन हो । कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने, फुटाउने, कम्युनिष्ट सरकार ढाल्ने र कम्युनिष्ट आन्दोलनलाई प्रतिक्रियावादीका पाउमा सेवा गर्ने ?’ ओलीको आक्रोश थियो ।

मुलुकमा दिशाहीन, जनविरोधी सरकार गठन भएको पनि ओलीको आरोप थियो । मुलुकका सम्मानित निकायलाई विवादास्पद बनाउन खोजिएको र सिंगो प्रणालीमाथि जनताको विश्वास कमजोर हुन जानेतर्फ उहाँले सचेत गराउनुभएको छ । सत्तारूढ गठबन्धनले मुलुकलाई अस्थिरतामा धकेल्ने काम गरेको र अग्रगमन हुन नदिएको पनि उहाँको आरोप छ । अनुशासनहीनता राज्य तहबाट नै भइरहेकाले मुलुकलाई सत्तारूढ गठबन्धनले विपरीत र प्रतिगमनको बाटोमा लगिरहेको उहाँले भन्नुभयो । अग्रगमन हुन नदिएर अहिलेको पाँच दलीय गठबन्धनले संविधान कार्यान्वयनको बाटोमा अवरोध सिर्जना गरेको पनि उहाँले भन्नुभयो । ओलीले उपाध्यक्ष भीम रावलले काम गर्न सकिनँ भनेर १० बुँदे सहमति कार्यान्वयन सहजीकरण समितिबाट राजीनामा दिएको बताउनुभयो । आइतबार पत्रकारले रावलको राजीनामाबारे सोधेको प्रश्नको जवाफ दिँदै ओलीले त्यो त्यति ठूलो कुरा नभएको बताउनुभयो । ‘१० बुँदे कार्यान्वयन सहजीकरण समितिको संयोजक हुनुहुन्थ्यो, सहजीकरण मैले गरेर भएन, सकिनँ, त्यसकारण मेरो राजीनामा भन्नुभयो । त्यति ठूलो कुरा होइन, लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन’ उहाँले भन्नुभयो । 

शुक्रबार रावलले भने अध्यक्ष ओली १० बुँदे कार्यान्वयनमा गम्भीर नभएकाले सहजीकरण समितिबाट राजीनामा दिएको बताउनुभएको थियो । माधव नेपालले पार्टीं विभाजन गर्दा उनीसँग नभएका एमाले नेताहरू १० बुँदे सहमति गरेर एमालेमै बसेका थिए । तर, गत बुधबार एक कार्यक्रममा ओलीले अब १० बुँदेको एकतारे पनि धेरै बजाउनुको अर्थ नभएको भनी टिप्पणी गर्नुभएको थियो । ओलीको उक्त टिप्पणीप्रति नेताहरूले बिहीबार र शुक्रबार भएको स्थायी कमिटी बैठकमा आवाज उठाएका थिए । शनिबार पत्रकारको प्रश्नमा ओलीले १० बुँदे कार्यान्वयन गर्न केही ठाउँमा बाँकी रहेको भन्दै त्यो छिट्टै हुने प्रतिक्रिया दिनुभयो । 


Top