राष्ट्रियसभा सदस्य निर्वाचनको मिति चाँडै घोषणा हुन्छ : प्रधानमन्त्री देउवा

डिबी शर्मा   POSTED ON : कार्तिक ९, २०७८ (५:०९ AM)

राष्ट्रियसभा सदस्य निर्वाचनको मिति चाँडै घोषणा हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं  । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताउनुभएको छ । उहाँले स्थानीय तहको आगामी निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त सदस्यको उपनिर्वाचन भने सत्ता साझेदार र अन्य दलसँगको छलफलपछि मात्र निष्कर्षमा पुग्ने जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच सोमबार भएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । आगामी फागुनमा रिक्त हुने राष्ट्रियसभाका सदस्यहरूको निर्वाचनलगायत विषयमा प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित सदस्यबीच छलफल भएको हो । आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार पहिलो चरणमा आगामी फागुनमा रिक्त हुने राष्ट्रियसभाका सदस्यहरूको निर्वाचन गर्ने र मिति तोक्नेलगायत अन्य विविध विषयमा छलफल भएको हो । आयोगले माघभित्रै राष्ट्रियसभाको निर्वाचन गर्न सकिने प्रस्ताव गरेको छ । यसबारे थप छलफल हुँदै जाने उहाँले बताउनुभयो । ‘निर्वाचनबारे पहिलो चरणको छलफल भयो,’ सहसचिव भट्टराईले भन्नुभयो, ‘यसबारे थप छलफल हुनेछ । अर्को छलफललगत्तै हुनेछ ।’

राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि आगामी फागुन २१ गते पूरा हुँदैछ । राष्ट्रियसभाको कार्यकाल सकिनु ३५ दिनअघि चुनाव गर्नुपर्ने व्यवस्था भएकाले आयोगले माघ पहिलो साताका लागि चुनावको मिति प्रस्ताव गरेको हो । त्यस्तै, निर्वाचनसम्बन्धी कानुनको पुनरवलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानुन निर्माणका विषयमा पनि छलफल भएको उहाँको भनाइ छ । प्रधानमन्त्री र आयोग पदाधिकारीको भेटका क्रममा राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधिसभा, प्रदेशसभाको उपनिर्वाचनबारे छलफल भएको भट्टराईले जानकारी दिनुभयो ।

छलफलमा प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जामन्त्री पम्फा भुसाल, सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलगायत सहभागी हुनुहुन्थ्यो । 

स्थानीय तहको चुनाव एकै चरणमा गर्न प्रस्ताव

आयोगले स्थानीय तहको निर्वाचन एकैपटक गर्न प्रस्ताव गरेको छ । आयोगले आगामी वैशाखभित्र गर्नुपर्ने स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न प्रस्ताव गरेको हो । 

अघिल्लोपटक स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो । संविधानअनुसार वैशाखभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने भएकाले एकै चरणमा एकैदिन गर्न प्रस्ताव गरेको प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो । स्थानीय तहका पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा व्यवस्था छ । 

प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका विषयमा समेत छलफल भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले माघको पहिलो साताभित्र राष्ट्रियसभाको निर्वाचन गर्न सकिने प्रस्ताव गरेको छ । 

कानुनअनुसार कुन निकायको पदावधि कहिले सकिन्छ ? कहिलेसम्म निर्वाचन गर्न सकिन्छ भन्ने विषयमा हामीले कुराहरू राख्यौँ,’ थपलियाले हिमालय टाइम्ससँग भन्नुभयो, ‘नियम र कानुनअनुसार गर्न सकिने कुरा हामीले जानकारीसहित प्रस्ताव गर्‍यौँ । अहिले निर्वाचनबारे विभिन्न हल्लाहरू गरिएका छन् । जस्तो ‘अर्ली इलेक्सन’को कुराहरू । हामीले कानुनी व्यवस्थाबारे जानकारी गरायौँ । प्रधानमन्त्रीज्यूले छलफल गरेर मिति निर्णय गर्छौँ भन्नुभएको छ ।’ हाल प्रतिनिधिसभाका चार र प्रदेशसभाका १८ पद रिक्त छन् । छलफलमा ती पदमा उपनिर्वाचन गर्ने विषयमा समेत छलफल भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो ।

छलफलमा आसन्न निर्वाचनका लागि मतदाता नामावलीलाई अद्यावधिक गर्ने विषयमा समेत छलफल भएको उहाँले बताउनुभयो । त्यस्तै, निर्वाचनसम्बन्धी कानुनबारे पनि छलफल भएको हो । 

प्रधानमन्त्री देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचनबारे दलहरूसँग छलफल गरेर निर्णय गर्ने बताउनुभएको थियो । उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त सदस्य चयनका लागि उपनिर्वाचनबारे पनि दलहरूसँग छलफल गरी निष्कर्षमा पुग्ने बताउनुभएको हो । 


Top