मन्त्रिपरिषद् बैठक : धानबालीमा भएको क्षति अध्ययन गर्न कार्यदल गठन

हिमालय टाइम्स   POSTED ON : कार्तिक ९, २०७८ (५:१३ AM)

मन्त्रिपरिषद् बैठक : धानबालीमा भएको क्षति अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । सरकारले बेमौसमी वर्षाका कारण बाढी र डुबानका कारण धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले क्षतिको अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सचिवको नेतृत्वमा कार्यदल गठन गरेको हो । 

कार्यदलमा कृषि मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव, संघीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । असोज १ गतेदेखि तीन दिनसम्म परेको बेमौसमी वर्षाका कारण प्रदेश १, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत क्षेत्रमा धानबालीमा ठूलो क्षति पुगेको छ ।

उहाँका अनुसार बैठकले नेपाल वायु सेवा निगमको अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्दै कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

बैठकले नेपाल पुनर्बिमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डा. रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गरी उपलब्ध गराउने निर्णय गरेको छ । साथै कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय भएको पनि कार्कीले जानकारी दिनुभयो ।


Top