कांग्रेसको महाधिवेशन सार्ने नेतृत्व प्रयास, समितिले आज सभापतिसँग छलफल गर्दै

हिमालय टाइम्स   POSTED ON : कार्तिक ९, २०७८ (५:२३ AM)

कांग्रेसको महाधिवेशन सार्ने नेतृत्व प्रयास, समितिले आज सभापतिसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनलाई लिएर नेतृत्व अनिर्णयको बन्दी भइरहेको अवस्थामा निर्वाचन समितिले सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरूसँग आज (मंगलबार) छलफल गर्ने भएको छ । समितिका एक सदस्यका अनुसार केन्द्रीय समितिको बैठक बस्नुभन्दा पहिले नै समितिले सभापतिसहित पदाधिकारीहरूसँग सकेसम्म महाधिवेशन निर्धारित मितिमा सम्पन्न गर्ने वातावरण बनाउन सुझाव दिन लागेको हो । 

आगामी मंसिर महिनाको ९ गतेदेखि गर्ने निर्णय भएको महाधिवेशनका लागि अब एक महिना मात्रै बाँकी रहेको अवस्थामा महाधिवेशनको कुनै पनि तयारी भएको छैन । तीन जिल्लाको सदस्यता विवाद टुंग्याउँदै, बाँकी रहेका पालिकाहरूको अधिवेशन तत्काल सम्पन्न गर्न र क्षेत्र, जिल्ला प्रदेशहरूको अधिवेशन र निर्वाचन गरी संघीय निर्वाचन गर्नुपर्ने छ । मुखले महाधिवेशन समयमै गर्ने भनी सभापति देउवाले दोहोर्‍याइरहनु भएको छ तर केही दिनअघि धनगढीमा पुगेर उहाँले निर्वाचनको काम आफ्नो नभएर निर्वाचन समितिले गर्ने भनी जवाफ दिनुभएपछि महाधिवेशन हुनेमा थप अन्योल देखिएको हो । यो अन्योललाई चिर्न निर्वाचन समितिले सभापतिलगायत पदाधिकारीसँग आज छलफल गर्ने बताइएको छ ।

संस्थापनइतरको नेतृत्व गरिरहनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी अवैध भइसकेको हुनाले यसलाई पहिले वैधानिक बनाउनुपर्ने अभिव्यक्ति दिनुभएको हुनाले कांग्रेसका सदस्यहरूमा पार्टीलाई लिएर चिन्ता बढ्न लागेको छ । चितवन कांग्रेसका नेता तथा महासमिति सदस्य प्रकाश अधिकारीले हिमालय टाइम्ससँग भन्नुभयो, ‘छोटो समयमा नै प्रतिपक्षी एमालले आफ्नो महाधिवेशन गर्न लागिसकेको छ । तर, नेपाली कांग्रेस जस्तो लोकतन्त्रको धरोहर पार्टीको महाधिवेशन वैधानिक सीमाको समाप्ती हुँदा पनि हुन नसक्नु अत्यन्त  चिन्ताको विषय हो’, पार्टीको वैधानिकतामाथि नै प्रश्न उठ्न लागेको चिन्ता गर्दै उहाँले अगाडि भन्नुभयो, ‘जुन रूपमा भए पनि पार्टीको वैधानिकता रहनुपर्दछ । यदि कसैले कांग्रेसको वैधानिकतामाथि प्रश्न उठाएको खण्डमा सदस्यहरूले विश्वासका साथ उत्तर दिनसक्ने हुनुपर्दछ ।’  यस्तै, कालिकोटका नवनिर्वाचित महासमिति सदस्य एवं युवानेता मोतीराज बमको प्रतिक्रिया पनि यस्तै छ । उहाँ भन्नुहुन्छ, ‘नेताहरूले नै वैधानिकता सकिएको उद्घोष गर्दै हिँड्न लागेपछि पार्टीका लाखौँ सदस्यहरूमा चिन्ता थपिएको छ । यसर्थ तुरुन्त पार्टीले आफ्नो इतिहास जोगाउन पनि  महाधिवेशन सुनिश्चित गर्नु आवश्यक छ ।’

निर्वाचन समितिले छलफलका लागि सभापति तथा प्रधानमन्त्री देउवासँग आजलाई समय माग गरिरहेको छ । तर, यो समाचार तयार पार्दासम्म समय तय भइनसकेको  निर्वाचन समितिका एक सदस्यले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।


Top