ग्रहण लागेको सूर्यले धाक नलगाए हुन्छ, भविष्य एकीकृत समाजवादीमै छ : नेपाल

‘निर्वाचनपछि एमाले चोइटिएर जाने पक्का छ’

हिमालय टाइम्स   POSTED ON : मंसिर ९, २०७८ (५:२४ AM)

ग्रहण लागेको सूर्यले धाक नलगाए हुन्छ, भविष्य एकीकृत समाजवादीमै छ : नेपाल

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिनुभएको छ । बुधबार जनकपुरधामस्थित पार्टी कार्यालय उद्घाटनको क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहन नपर्ने बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘नेकपा एस समानताको, न्यायको, विकासको र समृद्धिको यो चारवटा विषयलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढिरहेको हुनाले भविष्य यो पार्टीको छ । सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो ।’

उहाँले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढिरहेको पनि दाबी गर्नुभयो । अध्यक्ष नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम चम्किरहेको र यही मंसिर १५ गतदेखि सो चिन्हको स्टिकर लिएर आर्थिक संकलन गर्दै जनताको घरघरमा पुग्ने अभियान सञ्चालन गर्ने घोषणासमेत गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘अब कलम चम्किरहेको छ । सत्य र न्यायको सन्देश दिइरहेको छ । अब मंसिर १५ गतेदेखि स्टिकर वितरण गर्दै आर्थिक सहयोग संकलन गरी घरघरमा हामी जनताको माझमा पुग्ने अभियान सञ्चालन गर्न गइरहेका छौँ । यो पार्टीप्रतिको आकर्षण बढिरहेको कुरा सबैले महसुस गरिरहेका छन् । भविष्य छ भने एकीकृत समाजवादी पार्टीको छ,’ उहाँले भन्नुभयो । 

अध्यक्ष नेपालले निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी पनि गर्नुभयो । उहाँले चुनावपछि एमालेको अवस्था ‘विचरा’, ‘बिजोग’ र ‘बेहाल’ हुने टिप्पणी गर्नुभयो । ‘एमालेभन्दा हामी कमजोर छैनाँै, अहिले सातमध्ये दुईवटा प्रदेशमा हाम्रो पार्टीका मुख्यमन्त्री छन् । कर्णाली प्रदेशमा ओलीको पार्टीलाई धुलो चटाई उठ्नै नसक्ने अवस्थाको बनाउन हाम्रै पार्टीको ठूलो भूमिका छ । राष्ट्रियसभाको उपनिर्वाचनमा बागमती प्रदेशमा खिमलाल देवकोटालाई जिताएका छौँ’, उहाँले भन्नुभयो, ‘नेकपा एसको शक्ति देखेर केपी ओली आत्तिएका छन्, ओली छट्पटाएर अन्टसन्ट बोलिरहेका छन्, गालीगलौजमा उत्रेका छन्, तर हामी आफ्नो काममा मात्रै केन्द्रित छौँ ।’

एमालेभन्दा आफ्नो पार्टीको मधेशप्रतिको धारणा राम्रो रहेको भन्दै उहाँले भन्नुभयो, ‘म आफैं मधेशमा जन्मेको हुँ, मधेशी जनतालाई विश्वासमा लिएर हामी अगाडि बढ्दै छौँ ।’ आफ्नो पार्टीप्रति युवाहरूको आकर्षण बढ्दै गएको उहाँले दाबी गर्नुभयो । सञ्चारकर्मीको एक प्रश्नमा उहाँले भन्नुभयो, ‘प्रदेश २ को नाम र राजधानीको विषयमा अहिले हाम्रो पार्टीमा छलफल भएको छैन । छलफलपश्चात् यो विषयमा अधिकारिक धारणा सार्वजनिक हुन्छ ।’ पर्सादेखि सप्तरीसम्मको बीचमा जनकपुरधाम पर्ने भएकाले राजधानीका लागि जनकपुरधाम नै उपयुक्त हुने उहाँको भनाइ थियो । 


Top