ओलीलाई दुईपटक प्रधानमन्त्री बनाउने मै हो, तर उनी खलनायक परेछन् : प्रचण्ड

हिमालय टाइम्स   POSTED ON : मंसिर ९, २०७८ (५:२६ AM)

ओलीलाई दुईपटक प्रधानमन्त्री बनाउने मै हो, तर उनी खलनायक परेछन् : प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले केपी ओलीलाई दुईपटक प्रधानमन्त्री बनाएको भए पनि उनी खलनायक परेको टिप्पणी गर्नुभएको छ । बुधबार धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले जनतासँग सुनाएका योजना तत्कालीन प्रधानमन्त्री ओलीले पूरा नगरिदिएको बताउनुभयोे । 

उहाँले भन्नुभयो, ‘मैले त एउटा सपना देखेको थिएँ, कम्युनिष्टहरूलाई एक गरेपछि देशमा राजनीतिक स्थायित्व होला । छिटोछिटो विकास होला । सामाजिक न्याय होला भनेर केपी ओलीलाई दुईपटक प्रधानमन्त्री बनाए । तर, उनी नायक होइन, खलनायक परेछन् । मैले जनताको अगाडि वाचा गर्दै जाने तर उनले प्रचण्डले बोलेको नगर्ने कसम नै खाएका रहेछन् ।’ 

गठबन्धनलाई अब आउने चुनावसँग लैजाने बाटो अब क्लियर भयो

अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनलाई अब आउने चुनावसँग लैजाने बाटो अब क्लियर भएको बताउनुभएको छ । उहाँले अहिले गठबन्धनसहितको नयाँ सरकार बनेर सरकारको पनि बलियो एकताको आधारमा अगाडि बढ्ने जमर्को गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले पाँच दलीय गठबन्धनको एउटा समन्वय समिति पनि बनेको छ । यसले गठबन्धनलाई अझै बलियो बनाएको छ ।’

अध्यक्षले नेपाली जनताको एकता, राष्ट्रको एकता र स्वाधीनता सुदृढ नहुँदासम्म र जनता सम्पूर्ण रूपले शोषण उत्पीडनबाट मुक्त नभएसम्म आफूहरू लडिरहने बताउनुभयो । उहाँले अबको लडाइँ शान्तिपूर्ण प्रतिस्पर्धाकै रूपले संविधान संशोधन र परिमार्जन गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले अब कुनै पनि प्रतिक्रियावादी जालझेल र षड्यन्त्रलाई सफल हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री पदमा नरहे पनि प्रधानमन्त्रीभन्दा कम छैन 

अध्यक्ष ‘प्रचण्ड’ले आफू अहिले प्रधानमन्त्री पदमा नरहे पनि प्रधानमन्त्रीभन्दा कम नरहेको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘हुन त म अहिले प्रधानमन्त्री पदमा छैन तर, प्रधानमन्त्रीभन्दा कम छैन ।’ उहाँले यो सरकार बलियो रहेको भन्दै विगतको जस्तो जनतालाई ठग्ने सरकार नभएको बताउनुभयो । प्रचण्डले माओवादी केन्द्र बलियो भए यो राष्ट्र पनि बलियो हुने तर्क गर्नुभयो । 

‘सबै जिल्ला माओवादीमय छ । माओवादीलाई भ्रम छर्ने कोसिस गरियो । लोकतन्त्रविरोधी तŒवलाई परास्त गर्न माओवादीले सबैभन्दा धेरै लडेको हो । हामी जनताको साथमा छौँ । गुटबन्दी र अराजकता होइन विकास निर्माणमा लाग्नुस् ।’ 

जनताको कामलाई प्रभावकारी र गुणात्मक बनाउन अध्यक्ष प्रचण्डले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘कामको प्रभावकारिता र गुणात्मकतामा ध्यान जाओस् । जनतामा सेवा प्रवाह गर्ने कुरामा तीव्रता आओस् । जनताले त्यो महसुस गरेपछि मात्रै नवनिर्मित भवनको उद्घाटनको औचित्य सिद्ध हुन सक्दछ ।’ अध्यक्ष प्रचण्डले आफूलाई शिलान्यास र उद्घाटन दुवैको अवसर आफूलाई प्राप्त भएको भन्नु हुँदै अब काम राम्रो भयो भने आफ्ना लागि सुन्तुष्टिको विषय हुने बताउनुभयो ।

अदालतको विवाद लम्बिए गठबन्धनले कदम चाल्छ 

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतमा देखिएको विवाद समाधान नभए सत्तारुढ गठबन्धनले केहीदिन भित्रै आवश्यक कदम चाल्ने बताउनुभएको छ । बुधवार बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले न्यायलयमा जारी विवादका विषयमा पाँच दलीय गठबन्धनले एकदुई दिन भित्रै थप कदम चाल्ने बताउनुभएको हो । 

सकेसम्म न्यायलयको विवाद न्यायलयले नै निरूपण गर्नुपर्ने र त्यसो हुन नसके केही दिन भित्रै पाँच दलीय गठबन्धनले एककदम माथि उठेर निर्णय लिने उहाँले बताउनुभयो । ‘न्यायालयको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उहाँले भन्नुभयो ‘छिटो भन्दा छिटो यो विषय अदालत आफैँले समाधान गरोस् भन्ने हाम्रो चाहना हो । त्यसो हुन नसके आजभोलिको परिस्थिति हेरेर जरुरी प¥यो भने गठबन्धनले एक स्टेप अघि बढेर सोचाइ बनाउनेछ ।’

प्रचण्डले राष्ट्रिय सहमति नभएसम्म एमसिसी संसदबाट पारित नहुने समेत बताउनुभयो  । उहाँले यो सम्झौताका विषयमा उठेका प्रश्नको जवाफसहित राष्ट्रिय सहमति नभएसम्म एमसिसी पारित नहुने बताउनुभएको हो । दलहरूको अधिवेशन पछि मात्रै एमसिसी बारेमा छलफल हुने उहाँले बताउनुभयो । 

Top