एमालेसँग पार्टी एकता गर्ने हैसियतमा कुनै पार्टी छैनन् : ओली

चिन्तन क्षेत्री   POSTED ON : मंसिर ९, २०७८ (५:३५ AM)

एमालेसँग पार्टी एकता गर्ने हैसियतमा कुनै पार्टी छैनन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एकता गर्ने हैसियत कुनै पार्टीसँग नरहेको बताउनुभएको छ । युवा संघले निर्माण गरेको साइबर सर्कलको घोषणा कार्यक्रममा बुधबार सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले कुनै पार्टीसँग एकता नहुने बरु अन्य पार्टीमा रहेकाहरू एमालेमा आउनसक्ने बताउनुभयो । 

नेपालमा एकीकरण गर्नुपर्ने कुनै पार्टी नरहेको उल्लेख गर्दै उहाँले पार्टीमा आउनेलाई स्वागत गर्ने तर एकता कसैसँग पनि नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब नेकपा एमालेले एकता एकीकरण गर्नुपर्ने पार्टी कुनै रहेन, त्यसकारण नो एकता, नो एकीकरण । जो हुनुहुन्छ आउनुस्, एमाले मिलेर काम गरौँ ।’ उहाँले माधव नेपालले आफ्नो पार्टीमा झुक्याएर नेताहरूलाई लगेको उल्लेख गर्दै निद्राबाट ब्युँझिएर आउन आग्रह गर्नुभयो । 

प्रचण्डसँग होसियार रहन कांग्रेसलाई सुझाव 

अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डबाट बच्न कांग्रेसलाई आग्रह गर्नुभएको छ । उहाँले प्रचण्डसँग होसियार रहन नेपाली कांग्रेसलाई आग्रह गर्दै भन्नुभयो, ‘प्रचण्डले कांग्रेसलाई बिगार्न पछि लागेका छन् ।’ ओलीले आफूहरूलाई बिगार्ने प्रयास असफल भएपछि प्रचण्ड कांग्रेसको पछि लागेको आरोपसमेत लगाउनुभयो । 

उहाँले भन्नुभयो, ‘कांग्रेसको पछि लाग्ने प्रचण्डको पछि लागेर देश बन्छ ? बहुमतको कम्युनिष्ट पार्टी फुटाएर चोइटो लिएर कुँद्ने त्यस्ताहरूको पछि लागेर देश बन्छ ? प्रचण्डले सधैँ समस्या खडा गर्ने । हामीलाई बिगार्न खोजेका थिए । नबिग्रिने देखेपछि टाप । का बिग्रन्छ एमाले ? अब कांग्रेसलाई समातेछ । म कांग्रेसलाई चेतावनी दिन चाहन्छु-कांग्रेस होसियार । प्रचण्डले भ्याई दिन्छन् । हामीलाई भ्याउन खोजेका थिए प्रचण्डले, सकेनन् ।’

अध्यक्ष ओलीले कांग्रेसको पुच्छर बनेको प्रचण्ड र माधव नेपालबाट देश बन्छ भन्ने कल्पना नगर्नसमेत आग्रह गर्नुभयो । ओलीले माओवादी र नेकपा एसलाई कांग्रेसले सधैँ बोकेर नहिँड्ने पनि बताउनुभयो । कांग्रेसले आफूलाई असहज लागेका बेला माओवादी र नेकपा (एस)लाई पन्छ्याएर अघि बढ्ने उहाँको दाबी छ ।

ओलीले नाम उल्लेख नगरी माओवादी केन्द्र र नेकपा (एस) कांग्रेसको पुच्छर भएको टिप्पणी गर्नुभएको हो । कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी केन्द्र र नेकपा (एस) कहाँ पुग्छन् टुंगो नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘कांग्रेसको पुच्छरले एमालेलाई टक्कर दिन खोजेका छन् । कांग्रेसले पुच्छर हल्लाउँदा कहाँ पुग्छन् टुंगो छैन ।’

‘गठबन्धनको विवाद न्यायालयमा देखियो’

अध्यक्ष ओलीले सर्वोच्चमा भइरहेको आन्दोलनलाई गठबन्धनभित्रको विवादका रूपमा अथ्र्याउनुभएको छ । उहाँले न्यायालयको सुधार र सुदृढीकरणका लागि भइरहेको कानुन व्यवसायीको आन्दोलनलाई सत्तारूढ गठबन्धनको रिफ्लेक्सन भएको बताउनुभएको हो । गठबन्धनभित्रको विवाद र चरित्र न्यायालयमा देखिएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘अहिले देशमा आन्दोलन छैन । तर, न्यायालयमा आन्दोलन छ । यो पाँच दल (गठबन्धन) को रिफ्लेक्सन हो ।’ 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर १४ कात्तिकबाट नेपाल बार एसोसिएसनको आन्दोलन भइरहेको छ । अहिले सर्वोच्च अदालतकै न्यायाधीशहरूले इजलास बहिष्कार गरिरहेका छन् । सोही घटनाहरूलाई अध्यक्ष ओलीले गठबन्धनको रिफ्लेक्सन भन्नुभएको हो ।

माधव नेपालको तुलना हिन्दी फिल्मका भिलेनसँग

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दिएको अभिव्यक्तिप्रति ओलीले टिप्पणी गर्नुभएको छ । उहाँले नेपालले हिन्दी फिल्मका भिलेनको डाइलग बोलेको भन्दै टिप्पणी गर्नुभएको हो । नेपालले ‘जो हमसे टकराएगा ओ चुरचुर होजाएगा’ भन्ने डाइलग विभिन्न कार्यक्रममा भन्दै आउनुभएको थियो । सोही डाइलगलाई लिएर ओलीले कांग्रेसका पिछलग्गुले एमालेलाई धाक दिन नसुहाउने टिप्पणी गर्नुभयो । 

ओलीले अदालतको फैसलाबाट जनताको पक्षधर पार्टीलाई पराजय गरेको नसम्झिन पनि आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘कतिले ठानेका छन् अदालतको फैसलाबाट जनताका पक्षधरलाई पराजित गरियो । अन्तिम विजय ठानेका छन् । केही व्यक्तिहरूले बोल्दै हिँडको सुन्नुभएको होला । विभिन्न कुराहरू बोल्दै हिँडेका छन् ।’

नेपालले आफूसँग सात वर्षअघि अध्यक्षमा हारेको स्मरण गर्दै ओलीले भन्नुभयो, ‘एकजना सात वर्षजति अगाडि अध्यक्षको चुनावमा मसँगै पराजित भएको मान्छेले हिन्दी फिल्मको भिलेनको डाइलग बोलेछन् । के भनेछन् भने– जो हमसे टकराएगा ओ चुरचुर हो जायगा । सात वर्ष अगाडि हारेको मान्छे । त्यसबेला को चुरचुर भएको थियो ? मलाई अचम्म लाग्यो । कसरी बोल्न सक्या होला ¤’ 

राष्ट्रिय राजनीति ओलीको वरिपरि छ : प्रदीप ज्ञवाली

नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीति अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्माको वरिपरि नै घुमिरहेको बताउनुभएको छ । एमाले सत्तामा नभए पनि राजनीति एमाले र ओलीको वरिपरि नै रहेको उहाँको भनाइ छ । 

ज्ञवालीले एमाले सत्ता शक्तिमा नभए पनि देश र विदेशले बालुवाटारभन्दा पहिले बालकोटले के भन्छ भनेर कुरेर बस्ने अवस्था रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिको केन्द्रमा अहिले एमाले र केपी शर्मा ओली छन् । देश, विदेशले अहिले बालुवाटार सानेपा, खुमलटार खोज्दैन अहिले बालकोट र थापाथलीले के भन्यो भनेर सोध्ने गरेको छ ।’

सम्बोधनका क्रममा ज्ञवालीले विगतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्ता कब्जाको अभ्यास एमालेले नै असफल पारेको स्मरण पनि गराउनुभयो । विस्तृत शान्ति सम्झौतापछि देशमा संविधान निर्माण, द्वन्द्वकालीन मुद्दाहरूको निरूपणलगायत कामहरूलाई प्राथमिकता दिनुपर्ने बेला प्रचण्डले सत्ताकब्जाको अभ्यासस्वरूप सेनामाथि जाइलागेर कब्जा गर्न खोजे पनि त्यो सफल नभएको उहाँको भनाइ थियो । 

उहाँले प्रचण्डको सत्ता कब्जाको प्रयास असफल भएदेखि नै एमालेमाथि निरन्तर प्रहार भइरहेको पनि बताउनुभयो । विगतमा प्रचण्डको सत्ता कब्जाको अभ्यासलाई असफल पारेकै कारण अहिले पनि एमालेविरुद्ध घेराबन्दीको प्रयास भइरहेको ज्ञवालीको भनाइ छ । 

Top