सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथा प्रणाली लागू गर्ने तयारी, निर्णय गर्न आज फुलकोर्ट बैठक बस्दै

हिमालय टाइम्स   POSTED ON : मंसिर ९, २०७८ (५:४२ AM)

सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथा प्रणाली लागू गर्ने तयारी, निर्णय गर्न आज फुलकोर्ट बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले आज (बिहीबार)का लागि फुलकोर्ट बैठक राख्न प्रस्ताव गरेका छन् । प्रधानन्यायाधीश बाहेकको फुलकोर्ट बैठकमा बस्दै आएका न्यायाधीशहरूले फुलकोर्ट बैठक राख्ने निर्णय भने प्रधानन्यायाधीशले नै गर्नुपर्ने भएकाले उक्त प्रस्ताव गरेका हुन् । यसअघि गत बुधबार बसेको फुलकोर्ट बैठकले प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार पेसी व्यवस्थापन निर्देशन समितिलाई दिनेगरी नियमावली संशोधन गरेको थियो । 

यस्तै, प्रधानन्यायाधीशले तोक्ने पेसी गोलाप्रथा प्रणालीमार्फत तोकिने व्यवस्थाको प्रावधान पनि नियमावलीमा गरिएको छ । प्रधानन्यायाधीशले भने न्यायाधीशहरूलाई नै फुलकोर्ट र गोलाप्रथा प्रणाली लागू गर्ने मिति प्रस्ताव गर्न भन्दै आएको सर्वोच्चका एक अधिकारीले बताउनुभयो । ‘श्रीमान्हरूले चाहेका बेला फुलकोर्ट बस्छ, ‘ती अधिकारीले भन्नुभयो, ‘उहाँहरूले प्रस्ताव गरेपछि प्रधानन्यायाधीशले फुलकोर्ट आह्वान गरिहाल्नुहुन्छ ।’ उहाँका अनुसार प्रधानन्यायाधीशले बिहीबार नै फुलकोर्ट बैठक बोलाउनुहुनेछ । 

प्रधानन्यायाधीशले फुलकोर्ट आह्वान गरेपछि पनि बैठक भने न्यायाधीशहरूको मात्र बस्नेछ । न्यायाधीशहरूले आगामी १५ गतेबाट गोलाप्रथा पेसी प्रणालीको अभ्यास थाल्ने मिति पनि प्रस्ताव गरेको छ । प्रधानन्यायाधीश इजलासमा बस्न नहुने र इजलास तोक्न नपाउने भन्दै आएका न्यायाधीशहरूले नियमावलीमा भने प्रधानन्यायाधीशको अध्यक्षतामा दुई वरिष्ठतम न्यायाधीश रहने पेसी व्यवस्थापन निर्देशन समिति प्रस्ताव गरेका छन् ।

‘फुलकोर्ट बसेर निर्णय गरेपछि गोलाप्रथा कार्यान्वयन गर्ने मितिसहितको सूचना राजपत्रमा प्रकाशित हुनुपर्छ,’ बैठकपछि एक न्यायाधीशले हिमालय टाइम्ससँग भन्नुभयो, ‘सबै प्रक्रिया मिलाउँदा बुधबारदेखि गोलाप्रथामा जान सकिने भएकाले आगामी बुधबारदेखि लागू गर्न सकिने निर्णय भएको हो ।’ न्यायाधीशहरूले सर्वोच्चका कर्मचारी र प्राविधिकहरूसँग पनि गोलाप्रथा कार्यान्वयनका जटिलता र गर्नुपर्ने तयारीका विषयमा छलफल गरेका थिए । १८ जना न्यायाधीशको निर्णयबमोजिम मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले फुलकोर्टका लागि समन्वय गर्नुहुनेछ । सामान्य अवस्थामा प्रधानन्यायाधीशको निर्देशनबमोजिम मुख्य रजिष्ट्रारले फुलकोर्ट बोलाउनुपर्नेमा अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्व अस्वीकार गर्दै आएका न्यायाधीशहरूले फुलकोर्ट बोलाउने निर्णय गरेका हुन् ।

न्यायाधीशहरूले बिहीबार फुलकोर्ट बस्नुअघि नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्षद्वय चण्डेश्वर श्रेष्ठ र पूर्णमान शाक्यसँग पनि छलफल गर्नेछन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै उहाँले तोकेको इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरूले गोला प्रक्रियाद्वारा पेसी तोक्ने सुनिश्चित गरेपछि इजलास फर्कन लागेका हुन् । यद्यपि, नेपाल बार भने प्रधानन्यायाधीश जबराको राजीनामाबाहेकमा आफ्नो सहमति नरहने जनाउँदै निरन्तर आन्दोलनमा छ ।

गत बिहीबार बसेको फुलकोर्टले सर्वोच्च अदालत नियमावली संशोधनको निर्णय गर्दै प्रधानन्यायाधीशले तोक्दै आएको दैनिक पेसी र इजलास अब गोला प्रक्रियाद्वारा तोक्ने व्यवस्था गरेको थियो । गत सोमबार नेपाल राजपत्रमा प्रकाशित उक्त संशोधित नियमावलीमा ‘फुलकोर्टले निर्णय गरेर राजपत्रमा सूचना प्रकाशन गरेको मितिदेखि गोला प्रक्रिया लागू हुने’ व्यवस्था गरिएको छ । त्यही व्यवस्थाअनुसार गोला प्रक्रिया लागू हुने मिति तोक्न फुलकोर्ट बस्न लागेको हो ।

प्रधानन्यायाधीशको रूपमा जबरालाई अस्वीकार गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरू जबराले नेतृत्व गरेको फुलकोर्टमा पनि बसेका छैनन् । गत बिहीबार पहिले १८ जना न्यायाधीशले निर्णयमा हस्ताक्षर गरेर मुख्य रजिष्ट्रारमार्फत प्रधानन्यायाधीशलाई पठाएका थिए । जसमा प्रधानन्यायाधीश जबराले पनि पछि हस्ताक्षर गर्नुभएको थियो । सर्वोच्च अदालत नियमावलीले फुलकोर्टमा प्रधानन्यायाधीशको उपस्थिति अनिवार्य गरेका कारण निर्णय पुस्तिका (माइन्युट)मा भने उहाँकै नेतृत्वमा बैठक बसेको लिखत तयार पारिएको छ । बिहीबारका लागि पनि त्यही प्रक्रिया दोहोरिनेछ ।

बुधबार उच्च अदालतमा विरोध प्रदर्शन, आज बालुवाटसम्म ‘नागरिक मार्च’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयमा विकृति, विसंगति, बिचौलिया बढाएको आरोप लगाउँदै राजीनामा गर्नुपर्ने माग गरिरहेको नेपाल बार एसोसिएसनले मुलुकभरका १८ उच्च अदालतमा बुधबार विरोध प्रदर्शन गरेको छ । उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्नका लागि केन्द्रबाट प्रतिनिधि खटाएर किन प्रधानन्यायाधीशको राजीनामा माग्नुपरेको हो भन्ने कुरा स्पष्ट पार्न लागिएको बारका महासचिव लिलामणि पौडेलले बताउनुभयो । 

बारले बुधबार दिउँसो १२ बजेदेखि उच्च अदालतहरूमा विरोध प्रदर्शन गरेको हो । त्यसका लागि बारका पदाधिकारी र केन्द्रीय प्रतिनिधि उच्च अदालतहरूमा पुगेका थिए । ललितपुर पाटन उच्च अदालतमा केन्द्रीय अध्यक्ष चण्डेश्वर श्रेष्ठ र उच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यलगायतको सहभागिता थियो । त्यस्तै, देशका अन्य स्थानमा रहेका उच्च अदालतमा पनि विरोध प्रदर्शन गरिएको थियो । प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतबाट बालुवाटारसम्म ‘नागरिक मार्च’ गर्ने पनि बारले घोषणा गरेको छ । बिहीबार २ बजेका लागि घोषणा गरिएको छ । 

Top