विमलेन्द्र निधिद्वारा पार्टी सभापतिमा उम्मेदवारी घोषणा

हिमालय टाइम्स   POSTED ON : मंसिर ९, २०७८ (२:३२ PM)

विमलेन्द्र निधिद्वारा पार्टी सभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । 

आज काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको होा ।

उहाँले कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति जितेपछिका आफ्ना योजना र प्रतिवद्धता समेत गर्नुभयो । 

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु । परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरुलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु ।’

आफू नेपाली कांग्रेसलाई देशको एक मात्रै सुसंगठित, सुव्यवस्थित र सक्षम लोकतान्त्रिक पार्टीको रुपमा अघि बढाउन सभापतिमा लड्न लागेको उहाँको भनाइ थियो ।

उहाँले देशभित्र र अन्तर्राष्ट्रियस्तरमा कांग्रेसलाई पुनस्र्थापित गराउने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउने बताउनु भयो । 

निधिले आफू सभापति भएमा कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रकृयालाई सहजीकरण गर्ने प्रतिवद्धता पनि जनाउनु भएको छ । 

उहाँले नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराउने योजना पनि सुनाउनु भयो ।


Top