कांग्रेस सभापतिमा निधिको घोषणा : देउवा र पौडेललाई सर्वोच्च नेतामा बस्न सुझाव

‘आगामी चुनावपछि कांग्रेसको एकमना सरकार निर्माण हुनेछ’

सन्दीप पौड्याल   POSTED ON : मंसिर १०, २०७८ (५:१० AM)

कांग्रेस सभापतिमा निधिको घोषणा : देउवा र पौडेललाई सर्वोच्च नेतामा बस्न सुझाव

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी चुनावपछि कांग्रेसको एकमना सरकार निर्माण हुने दाबी गर्नुभएको छ । बिहीबार आसन्न १४औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गर्दै उहाँले आगामी चुनावपछि नेपाली कांग्रेसको एकमना सरकार निर्माण हुने बताउनुभएको हो । काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नो सम्पर्क कार्यालयबाट निधिले औपचारिक रूपमा सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

कार्यक्रममा उहाँले आफ्नो प्रतिबद्धतापत्र र योजनासमेत  सार्वजनिक गर्नुभएको छ । नयाँ संविधान र नयाँ प्रणाली लागू गर्न कांग्रेसको सरकार अपरिहार्य रहेको भन्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनका लागि कांग्रेसको एकमना सरकार आवश्यक भएको औँल्याउनुभयो । उहाँले भन्नुभयो,‘हामी नेपालीले हाम्रो संविधान आफैँ बनाएका हौँ । त्यसको सफल कार्यान्वयनका लागि एकमना सरकार आवश्यक छ ।’

बितेको तीन वर्षमा कम्युनिष्ट सरकारले संविधान र संघीयताका कार्यान्वयन गर्न नसकेकाले अब कांग्रेसको नेतृत्वमा एकमना सरकार आवश्यक भएको उहाँको भनाइ छ । ‘आगामी चुनावमा कांग्रेस बहुमत आउनुपर्छ र एकमना सरकार बन्नुपर्छ’ उहाँले भन्नुभयो, ‘म पार्टीको सभापति भएपछि सोहीअनुसारको नीति तथा कार्यक्रम तयार गरेर कांग्रेसको बहुमत दिलाउनेछु र एकमना सरकार बन्नेछ ।’

उहाँले आफूले सभापति उठ्ने र उम्मेदवारी फिर्ता नलिने अडानसमेत दोहोर्‍याउनुभएको छ । आफ्नो पक्षमा ७७ जिल्लाबाटै महाधिवेशन प्रतिनिधि आउने दाबी निधिको थियो । उहाँले पार्टीमा नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणका एजेण्डासमेत प्राथमिकताका साथ अगाडि सार्नुभएको छ । सभापतिमा उठ्नेबारे आफूले पटक–पटक सभापति शेरबहादुर देउवा र अन्य सभापतिका आकांक्षी नेताहरूलाई जानकारी गराइसकेको पनि निधिले कार्यक्रममा जानकारी दिनुभयो । निधिले देशको भौगोलिक विविधताअनुरूप हिमाल, पहाड, तराई–मधेश, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्ने बताउनुभयो । उहाँले विदेशको रोजगारीमा श्रम खर्च गरिरहेका, अध्ययनको आकांक्षाले विदेशमा पुगेका र विभिन्न कारणले विदेशमा रहेका सबै क्षेत्र र वर्गका नेपालीहरूको हित संरक्षणमा आफू पार्टी सभापति बनेपछि उचित पहल गर्ने पनि बताउनुभयो ।

उहाँले आफू नेपाली कांग्रेसको सभापति भएमा पार्टीको आर्थिक पारदर्शिता र सुशासनलाई पूर्ण पालना गर्ने र गराउने प्रतिबद्धतासमेत गर्नुभएको छ । उहाँले पार्टीभित्र विकसित गुट–उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबैलाई ऐक्यबद्ध रूपमा पार्टीको लक्ष्यउन्मुख गराउने बताउनुभयो । 

यस्तै, उहाँले नेपाली कांग्रेसमा रूपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्न विशेष जोड दिनुभएको छ । उहाँले कांग्रेसभित्र नयाँ पुस्ताको विचार ओझेलमा परेको भन्दै नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराउने योजना सुनाउनुभयो ।  उहाँले उपरोक्त परिकल्पनालाई साकार गराउन निम्न ध्येयहरू समयबद्ध प्रक्रिया अपनाई चार वर्षको समयावधिभित्र पूरा गर्ने प्रतिबद्धतासमेत गर्नुभएको छ । 

उहाँले यही मंसिर २१ गते सभापतिका लागि मनोनयन दर्ता गर्नेसमेत बताउनुभयो । ‘मंसिर २१ मा सभापतिका लागि उम्मेदवारी दिँदै मनोनयन दर्ता गर्छु,’ निधिले भन्नुभयो, ‘१३औँ महाधिवेशनमा उठ्नुभएका नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला यसपालि नउठिदिए राम्रो ।’ उहाँले आफू सभापतिमा उम्मेदवारी दिने र आफूलाई सभापतिदेखि वरिष्ठ नेताहरूले समर्थन गर्दा राम्रो हुने तर्क गर्नुभयो । ‘सभापति देउवा र वरिष्ठ नेता पौडेलले सभापतिमा उम्मेदवारी दिनुभएन भने हामी उहाँहरूलाई सर्वोच्च नेताका रूपमा राख्छौँ । उहाँहरूले नै भनेअनुसार पार्टी चलाउँछौँ,’ निधिले भन्नुभयो । उपसभापति निधिले भन्नुभयो, ‘शेरबहादुर त सर्वोच्च नेता हुनुभयो नि, मार्गदर्शक भइहाल्नु हुन्छ, शेरबहादुरजी, रामचन्द्रजी उहाँहरूलाई हामीले नेपाली कांग्रेसको सबैभन्दा सर्वोच्च पदमा, सर्वोच्च नेताको रूपमा जसरी गणेशमानजी, किसुनजीहरू हुनुहुन्छ, त्यस्तै हामी राख्छौँ । उहाँहरूले भनेअनुसार नै हामी पार्टी सञ्चालन गर्दछौँ ।’ उहाँले आफूले सभापतिबाट उम्मेदवारी फिर्ता नलिने पनि प्रष्ट पार्नुभयो । आफ्नो पक्षमा ७७ जिल्लाबाटै महाधिवेशन प्रतिनिधि आउने दाबी निधिको थियो ।

पत्रकारहरूको प्रश्नको जवाफ दिँदै उपसभापति निधिले पार्टी र देशको नीति, कार्यक्रम र एजेण्डामा समझदारी भए पनि पदमा समझदारी नहुने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘सभापतिमा दाबी गर्नुभएका प्रकाशमान र  शशांकजीसँग ६/सातपटक आफ्नो उम्मेदवारीकै विषयमा कुरा भइसकेको छ, शेखरजीसँग पनि दुईपटक कुरा भइसकेकेको छ । त्यसैले अन्य विषयमा सहमति भए पनि योपटक सभापतिको उम्मेदवार मै हुँ, म पछि हट्ने पक्षमा छैन ।’

उहाँले आफू पराजित भए पनि गुट उपगुटतर्फ नलाग्ने प्रष्ट पार्नुभयो । उहाँले डडेल्धुरामा भएको आन्दोलनले राम्रो सन्देश नदिएको पनि बताउनुभयो । डडेल्धुरामा पुनः निर्वाचन गर्न आफू उपसभापति भएको हैसियतले सभापति देउवालाई लिखित आग्रह गर्दा पनि उहाँले नसुनेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,‘डडेल्धुराको जुन समस्या हो, त्यसले राम्रो सन्देश दिएको छैन । सभापतिको लागि पनि र नेपाली कांग्रेसको लागि पनि । डडेल्धुरामा पुनः निर्वाचन गराइदिनुपथ्र्यो, तर त्यसो भएन ।’ 

उहाँले आफ्ना परिकल्पना, ध्येय र उद्देश्यसहित कार्ययोजना र पार्टीभित्रको आवश्यक सुधारलाई केन्द्रविन्दुमा राखेको घोषणापत्र बनाउनुभएको छ । सभापतिको उम्मेदवारका लागि तयार पारेको घोषणापत्रमा परिकल्पना, उद्देश्य, ध्येय र अन्य सुधारहरू शीर्षक राखिएको छ । आफू सभापति भए वैचारिक रूपमा स्पष्ट, गतिशील र जनतासँग जोडिने कांग्रेस बनाउने निधिको मुख्य नारा छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने कांग्रेस बनाउने उहाँको संकल्प रहेको छ ।

कांग्रेसले मंसिर २१ मा केन्द्रीय सदस्य र पदाधिकारीका लागि उम्मेदवारी दर्ता गर्न समय दिएको छ । कांग्रेसले यही मंसिर २४ देखि २६ गतेसम्म १४औँ महाधिवेशन काठमाडौंमा गर्दैछ ।

कांग्रेसमा सभापतिका आकांक्षी आधा दर्जन बढी भए पनि सभापति शेरबहादुर देउवा,  संस्थापन पक्षबाट उपसभापति निधि र नेता गोपालमान श्रेष्ठको दाबी छ । यस्तै संस्थापनइतर पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र शेखर कोइरालालगायत नेताले आ-आफ्नो दाबी रहेको बताउँदै आउनुभएको छ ।

Top