दुई कामका लागि एमाले र पार्टी अध्यक्ष ओलीलाई जनताले सम्झिरहने छन्– कमल थापा

हिमालय टाइम्स   POSTED ON : मंसिर १०, २०७८ (४:४८ PM)

दुई कामका लागि एमाले र पार्टी अध्यक्ष ओलीलाई जनताले सम्झिरहने छन्– कमल थापा

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताउनु भएको छ ।  

शुक्रवार नेकपा एमालेको १० महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताउनु भएको हो । उहाँले मधेशमा देखिएको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु नै ओली नेतृत्वको सरकारको अविस्मरणीय काम भएको बताउनु भयो । अध्यक्ष थापाले ओली नेतृत्वको सरकारले लिम्पियाधुरालाई समेत समेटेर चुच्चे नक्सा बनाइ त्यसलाई संविधानमा समेट्दै नेपाल र नेपाली जनतालाई अविस्मरणीय गुण लगाएको पनि बताउनु भयो । पार्टी भित्रको आन्तरिक कलह र विवादका कारणले जनतालाई दिएको आश्वासनअनुसार काम गर्न नसकेका कारण उहाँले केपी ओली नेतृत्वको पछिल्लो सरकारबाट आफू त्यति सन्तुष्ट नभएको बताउनु भयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘२ वटा प्रमुख कामका निम्ती केपी ओली र यो देशले सम्झिराख्नेछ, पहिलो काम मधेशमा देखिएको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु हो, दोस्रो सबैभन्दा लिम्पियाधुरा समेत समेटेर चुच्चे नक्सा बनाएर त्यसलाई संविधानमा समेटेर नेपाल र नेपाली जनतालाई अविष्मरणीय गुण लगाउनुभएको छ ।’

अध्यक्ष थापाले अहिले देश शंकटको भूमरिमा परेको बताउनु भयो । उहाँले लोकतन्त्रको आवरणमा देश बिस्तारै सर्व सत्तावादतर्फ उन्मुख भएको बताउनु भयो । अध्यक्ष थापाले योजनावद्ध र संगठित रुपमा गरिँदै आएको धर्म परिवर्तनले नेपालीहरुको सनातन, धार्मिक, सांस्कृतिक पहिचानलाई समाप्त पार्ने प्रयास भइरहेको आरोप समेत लगाउनु भयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘अहिले देश शंकटको भुमरिमा परेको छ, लोकतन्त्रको आवरणमा बिस्तारै देश सर्वसत्तावादतर्फ उन्मुख हुन लागिरहेको संकेत पाइन्छ । योजनावद्ध र संगठित रुपमा गरिँदै आएको धर्म परिवर्तनले हामी नेपालीहरुको सनातन, धार्मिक, सांस्कृतिक पहिचानलाई समाप्त पार्ने प्रयास भइरहेको छ । नेपालकै इतिहासमा अहिले सर्वाधिक भ्रष्टाचार व्याप्त रहेको छ । नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक स्थल बन्न सक्ने तड्कारो खतरा देखिएको छ । देशले तपाईहरुबाट साहशीक निर्णयको अपेक्षा गरेको छ ।’

अध्यक्ष थापाले नेकपा एमालेले देशमा साहसिक निर्णय गरेर देश जोगाउनेमा आफू विश्वस्त रहेको समेत बताउनु भयो । उहाँले देशलाई संकटबाट बचाउन नेकपा एमालेका अध्यक्ष ओलीको आवश्यक रहेको बताउनु भयो । 


Top