एमालेको महाधिवेशन हाम्रोसँग तुलना गर्नै मिल्दैन : प्रचण्ड

चिन्तन क्षेत्री   POSTED ON : मंसिर १२, २०७८ (६:३५ AM)

एमालेको महाधिवेशन हाम्रोसँग तुलना गर्नै मिल्दैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको महाधिवेशन माओवादीको राष्ट्रिय सम्मेलनसँग तुलना गर्नै नमिल्ने बताउनुभएको छ । पार्टीको स्थानीय तह पार्टी शाखा समितिको सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । 

एमालेको महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिँदै प्रचण्डले माओवादीले राष्ट्रिय सम्मेलनबाट पार्टीको नयाँ विचारको संश्लेषण गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘यस सम्मेलनबाट हामी नयाँ उचाइमा उठ्नेछौँ । इतिहासको नयाँ संश्लेषण गर्नेछौँ । समाजवादी आन्दोलनले, समाजवाद निर्माणको प्रक्रियाले नयाँ जीवन र गति प्राप्त गर्नेछ ।’ अन्य कुनै पनि पार्टीहरू वैचारिक हिसाबमा बहस गर्ने अवस्थामा नरहेका उल्लेख गर्नुहुँदै उहाँले अगाडि भन्नुभयो, ‘अरू कोही पार्टी विचारबारे सोच्ने र बहस गर्ने स्थितिमा छैनन । हिजो हामीले एउटा कुम्भमेला देख्यौँ । त्यहाँ विचारलाई कुनै ठाउँ छैन । भ्रम दिने कोसिस मात्रै छ । तथाकथित अधिवेशन हो त्यो । तीभन्दा भिन्न हामी विचारलाई संगठनात्मक आचार व्यवहारलाई ध्यान दिनेछौँ । ती तथाकथित अधिवेशन र हाम्रो विचार संश्लेषणको अभियानमा कुनै तुलना हुँदैन ।’ शान्ति प्रक्रियामा आएपछि आफ्नो पार्टीभित्र विचार संश्लेषणको पक्षमा कमजोरी भएको प्रचण्डले स्वीकार्नुभयो । 

‘एक महिनाभित्र माओवादी एक नम्बर पार्टी’

अध्यक्ष प्रचण्डले अबको एक महिनाभित्र माओवादी केन्द्र देशको एक नम्बर पार्टी बन्ने बताउनुभयो । अहिले पार्टीप्रति जनताको आकर्षण बढेको उल्लेख गर्नुहुँदै उहाँले जनताले भरोसा गर्ने क्रान्तिकारी पार्टी निर्माण गरिछाड्ने दृढता व्यक्त गर्नुभएको थियो । प्रचण्डले संगठनात्मक अभियानलाई क्रियाशीलताका साथ अगाडि बढाएपछि तराई मधेशदेखि हिमाली जिल्लामा समेत पार्टीप्रतिको आकर्षणमा थप वृद्धि भएको बताउनुभयो । 

डोल्पा, भोजपुर, रौतहट र सर्लाहीलगायत जिल्लामा भएका जनसभालगायतबाट पनि पार्टीप्रति जनताको विश्वासमा वृद्धि भएको आफूले पाएको अध्यक्ष दाहालले बताउनुभयो । 

उहाँले पार्टीमा महिलाको सहभागिता बढाएर ३५ प्रतिशत पु¥याइएको, युवाको प्रतिनिधित्व २० प्रतिशत रहने गरी सुनिश्चितता गरिएको तथा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई विशेष प्राथमिकतामा राखिएका कारण जनताले माओवादी नै भरोसायोग्य पार्टी भएको विश्वास गरेको बताउनुभयो ।  

अध्यक्ष दाहालले पार्टीलाई नयाँ शिराबाट उठाउने विश्वास दिलाएका कारण माओवादीमा बुद्धिजीवी, युवा, मजदुर, किसान र  विभिन्न पार्टीका नेता तथा कार्यकर्ताको आकर्षण बढेको दाबी गर्नुभयो । 

प्रचण्डले माओवादी कमजोर भए परिवर्तनका एजेण्डा र राष्ट्रियतासमेत कमजोर हुने भएकाले पार्टीलाई बलियो र जनमुखी बनाउन सबैको उत्तिकै प्रयत्न जरुरी रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामीलाई निष्क्रिय हुने छुट छैन । हामीले जुन लाइन लिएको हो, त्यसलाई दृढताका साथ अगाडि बढाउन जरुरी छ । राष्ट्रका निम्ति पनि आवश्यक छ ।’ परिवर्तन उल्ट्याउने षड्यन्त्रलाई परास्त गर्न आक्रामक रूपमा क्रियाशील हुनसमेत आग्रह गर्नुभयो । 

पार्टी सदस्य संख्या १० लाख पुगेकाले प्रत्येक पार्टी सदस्यले चारजना मतदाता तयार पारे ४० लाख मत पार्टीको पक्षमा आउने भन्दै सोही लक्ष्यका साथ क्रियाशील हुनसमेत ध्यानाकर्षण गराउनुभयो ।

माओवादी एकताबद्ध भएको छ, परिवर्तनको नेतृत्व माओवादीले नै गर्छ : भुसाल

ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालले माओवादी एकताबद्ध भएको बताउनुभएको छ । ‘प्रचण्ड’ नेतृत्वको पार्टी एक नम्बर बन्ने विश्वास व्यक्त गर्नुहुँदै उहाँले माओवादी अहिले एकताबद्ध रहेको बताउनुभयो । 

माओवादीको ललितपुर जिल्लाका ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाको अधिवेशन उद्घाटनका क्रममा उहाँले भन्नुभयो, ‘माओवादी एकताबद्ध भएको छ, परिवर्तनको नेतृत्व गर्ने माओवादी नै हो भन्ने प्रमाणित भएकाले अब माओवादी एक नम्बरको पार्टी हुन्छ ।’

सम्पूर्ण माओवादी शक्ति एकीकृत भइरहेको र क्रान्तिकारीपनसहित पार्टीलाई व्यवस्थित गरेर लैजानका लागि सेलदेखि वडा र वडादेखि पालिका तथा पालिका हुँदै महाधिवेशनसम्म पुग्दा देशको २१औँ शताब्दीको तेस्रो दशकमा कम्युनिष्टहरूका लागि स्पष्ट खाका तय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

एकीकृत माओवादीले तय गर्ने समाजवादले देश विकासको आधार तयार गर्ने जिकिर भुसालले गर्नुभयो । 

माओवादीको पालिका सम्मेलन 

नेकपा माओवादी केन्द्रको पालिका सम्मेलन सम्पन्न भएको छ । शनिबार देशभरि नै भएको सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको थियो । 

माओवादी कार्यालयका सचिव श्रीराम ढकालले अधिकांश स्थानमा उद्घाटनसत्र सम्पन्न गरेर नेतृत्व चयनको प्रक्रिया चलिरहेको बताउनुभयो । उहाँका अनुसार धेरैजसो जिल्लाका पालिकामा सर्वसम्मत तरिकाले नेतृत्व चयन भएको छ भने केहीमा स्वस्थ प्रतिस्पर्धाबाट पनि निर्वाचित भएका छन् । आइतबारसम्ममा सबै पालिकाको नेतृत्व चयन भइसक्ने उहाँको भनाइ छ । 

माओवादीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरेको थियो । धेरैजसो पालिकामा सोही विधिबाटै नेतृत्व चयन भएका छन् तर केहीमा निर्वाचन पनि भएका छन । 

माओवादीका अधिकांश नेता तथा कार्यकर्ता शनिबारको सम्मेलनमा सहभागी हुनुभएको थियो । भूमिसुधार सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठ मध्यपुर थिमि नगर समितिको सम्मेलनमा सहभागी हुनुभयो ।

अर्थमन्त्री जनार्दन शर्मा गृहजिल्ला रुकुम पश्चिमका विभिन्न पालिकाहरूको सम्मेलनमा सहभागी हुनुभयो । 

पार्टीलाई सांगठनिक रूपमा स्पष्ट बनाउने र विधिमा सञ्चालन गर्ने उद्देश्यका साथ माओेवादीले यसपटक केन्द्रीय, प्रदेश र स्थानीय तहसम्म निर्वाचन समिति नै गठन गरेर नयाँ नेतृत्व चयन गर्ने व्यवस्था गरेको हो ।

माओवादीले ७५३ वटा स्थानीय तहका अलावा सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७७६ वटा पालिकास्तरीय सम्मेलनको आयोजना गरेको हो । शनिबार सम्पन्न भएका सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गरेको छ । यही मंसिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ ।

माओवादीले मंसिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ । माओवादीले पार्टी विधानको व्यवस्थाअनुसार, निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहितासमेत तय गरेको थियो । प्रदेशस्तरका सबै निर्वाचन समिति एक महिना अगाडि नै गठन भएका थिए । पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेहरूलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको छ ।

वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको  व्यवस्थानुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिमको प्रतिनिधित्व सुनिश्चित हुने गरी नेतृत्व चयन गर्दछ । वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १५० जनाका दरले सहभागी हुनेछन् ।  यस्तै, नगरमा २००, उपमहानगरमा ३०० र महानगरमा ४०० प्रतिनिधिको उपस्थितिमा अधिवेशन हुने बताइएको छ ।

Top