एमाले महाधिवेशन– ओलीलाई पद व्यवस्थापनमा समस्या

हिमालय टाइम्स   POSTED ON : मंसिर १२, २०७८ (२:५३ PM)

एमाले महाधिवेशन– ओलीलाई पद व्यवस्थापनमा समस्या

चितवन । नेकपा (एमाले)को जारी १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मति नेतृत्व चयनमा सकस भएको छ ।

सर्वसम्मत नेतृत्व चयनमा सहमति नजुटेकै कारण आज १० बजेबाट पुनः सुरु हुने भनिएको महाधिवेशनको बन्द शत्र अहिलेसम्म सुरु हुन सकेको छैन । 

शनिबार राति अवेरसम्म बसेको बन्दसत्रबाट केपी शर्मा ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिइएको भए पनि उपाध्यक्ष डा भीम रावलले अध्यक्षमा आफ्नो दावी कायम नै राख्नु भएको छ । 

अध्यक्ष ओली र उहाँ निकट नेताहरू सर्वसम्मत गराउन विभिन्न नेताहरूसँग भेटेर छलफल गरिरहनु भएको छ । वरिष्ठ उपाध्यक्ष, महासचिव लगायत पदमा ओली पक्षकै नेताहरूबीच मतभेद भएपछि सर्वसम्मत बनाउन थप कठिन मात्र होइन पद व्यवस्थापनमा झनै समस्या देखिएको छ । 

अर्कातिर उपाध्यक्ष डा भीम रावलले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जनताको बहुदलीय जनवादको सिद्धान्तको पालना गर्दै आफू अध्यक्षमा उम्मेदवारीबाट पछि नहट्ने बताउनुभएको छ । 

उपाध्यक्ष रावलले आफू निकट नेता कार्यकर्तासँग छलफल समेत गर्नुभएको थियो ।

यसैबीच आज विहान मात्र पनि रावलको पर्चा वितरण गरिएको थियो । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले भित्र पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाएका थिए । 

  त्यसै गरि सर्वसम्मत नेतृत्व चयनको अर्को झन ठूलो रस्साकसी वरिष्ठ उपाध्यक्षमा देखिएको छ । ओली पक्षकै मानिनु हुने महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ दुबैले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका कारण सहमति जुट्न सकेको छैन । 

पूर्वसभामुख नेम्वाङले ओली बाहेक अरु कसैलाई नेता मान्न आफु तयार नभएको भन्ने सन्देश अध्यक्ष ओलीलाई पठाए पछि अध्यक्ष ओली अझ संकटमा पर्नुभएको छ । उहाँले बरु आफुलाई वरिष्ठ उपाध्यक्ष नदिए सो पद नै खारेज गर्न समेत अध्यक्षलाई सुझाउनु भएको छ ।

आइतबार बिहान नेम्वाङले प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईमार्फत् ओलीलाई आफ्नो सन्देश पठाउनु भएको थियो । नेम्वाङले अर्को व्यक्ति वरिष्ठ उपाध्यक्ष बनाउने भए आफू चुनाव लड्ने सन्देश पठाउको बुझिएको छ । 

सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन १० बुँदे पक्षधरका नेताहरु र शीर्षनेताहरूबीच अनौपचारिक पहल पनि जारी छ । 

१० बुँदे पक्षधरका नेताहरुले शनिबार बेलुका र आइतबार बिहान अध्यक्ष ओलीसँग परामर्श गर्नु भएको छ । अध्यक्षमा पनि सर्वसहमति होस भनि उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलगायत नेताले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको थियो  ।

 अध्यक्षमा उम्मेदवारी दिने तयारी गर्नुभएको भीम रावलसमेतलाई मिलाएर सहमतिमै नेतृत्व चयन गर्न उहाँहरुले अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको थियो ।  सो क्रममा उहाँहरूले उपाध्यक्ष रावलसँग वार्ता गर्न पनि अध्यक्ष ओलीलाई सुझाउनु भएको बुझिएको छ ।  जवाफमा अध्यक्षले आफू सबैलाई मिलाएर लैजान तयार रहेको बताउनु भएको थियो । 

 महाधिवेशनमका बन्दसत्रमा एमाले केन्द्रीय कमिटीको १५औँ बैठकबाट निर्णय गरिएको पार्टीको विधान संशोधन प्रस्तावलाई शनिबारको बन्दसत्रले पारित गरेपछि ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी बन्ने घोषणा भएको थियो ।

 बन्दसत्रले सबै पदमा सहमतिका लागि उम्मेदवाहरुको नामावली प्रस्तुत गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । 

यसैबीच  एमालेका केन्द्रीय सदस्य सूर्य थापाले सबै पदमा सहमतिका लागि विभिन्न रुपमा कोशिस भइरहेको जानकारी दिनुभयो ।


Top