नवनिर्वाचित अध्यक्ष ओलीसहित केन्द्रीय सदस्यले लिए पद तथा गोपनीयताको सपथ

हिमालय टाइम्स   POSTED ON : मंसिर १४, २०७८ (७:३६ PM)

नवनिर्वाचित अध्यक्ष ओलीसहित केन्द्रीय सदस्यले लिए पद तथा गोपनीयताको  सपथ

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिनु भएको छ । 

मंगलबार पार्टीको १० औं महाधिवेशन स्थल चितवनको सौराहामा निर्वाचन आयोग प्रमुखले पार्टी अध्यक्षलाई सपथ खुवाउनु भएको हो । निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले पार्टी विधानअनुसार धारा ६६ (३) अनुसार अध्यक्ष ओलीलाई सपथ गराउनु भएको हो ।

प्रमुख विजय सुब्बाले अध्यक्ष ओलीलाई सपथ गराए पश्चात उहाँले केन्द्रीय सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो ।

चितनवको सौंराहामा सम्पन्न राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा ओलीले १८३७ मत ल्याई अध्यक्षमा निर्वाचित हुनु भएको थियो भने उहाँका प्रतिस्पर्धी भीम रावलले २२३ मत प्राप्त गर्नु भएको थियो । 

मंगलबार निर्वाचन परिणाम सार्वजनिक भएसँगै अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका हुन्।

एमालेको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने भएको छ । पहिलो बैठक महाधिवेशन स्थल सौराहामै हुने तय भएको नेता विष्णु रिजालले जानकारी दिनुभयो ।

एमालेमा नयाँ नेतृत्व चयनका लागि आज बिहान मतदान भएको थियो । 


Top