दलहरू महाधिवेशनका नाममा चुनावको तयारी गरिरहेका छन् : प्रचण्ड

चन्द्रकान्त खनाल   POSTED ON : मंसिर १५, २०७८ (४:०७ AM)

दलहरू महाधिवेशनका नाममा चुनावको तयारी गरिरहेका छन् : प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ सबै पार्टीहरूले महाधिवेशनका नाममा चुनावको तयारी गरिरहेको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले अन्य पार्टीहरू चुनावमा जुटेकाले आफ्नो पार्टी पनि चुनावको तयारीमा जुट्न लागेको बताउनुभएको हो । माओवादी केन्द्र रुपन्देही जिल्लाका अध्यक्ष स्व. रामप्रसाद बञ्जाडेको श्रद्धाञ्जली सभामा बोल्दै उहाँले दलहरू महाधिवेशनमा गएको र ती महाधिवेशनले चुनावी तयारी गर्न थालिसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘मुलुक चुनावतिर गइसकेको संकेत दलका महाधिवेशनहरूका गतिविधिले गरिरहेका छन् । तर, चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन दलहरूबीच आपसी समझदारी र सहकार्य जरुरी छ ।’ उहाँले समाजवाद उन्मुख भइसकेको मुलुकलाई समृद्ध बनाउनका लागि पनि दलहरूबीच सहकार्य जरुरी रहेको औँल्याउनुभयो । संविधानको समावेशी र समानुपातिक मूल्यमान्यतालाई आत्मसाथ गर्दै जनताका चाहना पूरा गर्न सहकार्य र सहमतिको खाँचो रहेको उहाँको भनाइ थियो । 

उहाँले तीनै तहको चुनावका लागि अहिलेदेखि नै सक्रियतापूर्वक लाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन पनि दिनुभयो । मुलुक अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रिएको र आफूहरू राजनीतिक स्थायित्व र विकासमार्फत मुलुकलाई अप्ठ्यारो अवस्थाबाट निकास दिन केन्द्रित भएर लागेको अध्यक्ष प्रचण्डको भनाइ छ । उहाँले मुलुकमा राजनीतिक स्थायित्व, विकास र समृद्धिले मात्रै हजारौँ शहीदहरूको सम्मान हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले मुलुक निकै अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ, हामी देशलाई नयाँ राजनीतिक स्थायित्व र विकासतिर लैजाने जमर्काेमा छौँ ।’

उहाँले नेता बञ्जाडेको योगदानको चर्चा गर्दै योद्धाहरूको सपना पूरा गर्नका लागि माओवादी प्रतिबद्ध रहेको तर्क गर्नुभयो । नेता बञ्जाडेको बुटवलमा दुर्घटनामा परी निधन भएको थियो । श्रद्धाञ्जली सभामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, माअ‍ेवादीका नेता तथा लुम्बिनी प्रदेश इञ्चार्ज चन्द्रप्रकाश खनाल, पार्टीका नेता तथा कार्यकर्ताहरूको ठूलो सहभागिता रहेको थियो ।

Top