नेपाली कांग्रेस १४औँ महाधिवेशन : ५७ जिल्लाको परिणाम आउँदा देउवा र पौडेल पक्षको बराबर, सिटौला तीन, निधि एक र दुई तटस्थ

चिन्तन क्षेत्री   POSTED ON : मंसिर १५, २०७८ (४:१२ AM)

नेपाली कांग्रेस १४औँ महाधिवेशन : ५७ जिल्लाको परिणाम आउँदा देउवा र पौडेल पक्षको बराबर, सिटौला तीन, निधि एक र दुई तटस्थ

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी छ । पछिल्लो समयसम्म ५७ जिल्लाका सभापतिहरूको नतिजा आएको छ । पछिल्लो परिणाममा संस्थापन र संस्थापनइतर समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ । सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बरबर जिल्ला सभापतिमा जित निकालेका छन् । कृष्ण सिटौला समूहले तीन सभापति जितेको छ भने विमलेन्द्र निधिनिकट एकजना सभापति निर्वाचित भएका छन् । कांग्रेसले मंसिर १० भित्र सबै जिल्लाको अधिवेशन सक्ने भने पनि विविध कारणले केही जिल्लाको अधिवेशन हुन सकेको थिएन । कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

पछिल्लो परिणाममा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा समूहमा गजेन्द्रप्रसाद तुम्याहाङ ताप्लेजुङ, मोहनविक्रम सिंह हुम्ला, पूर्णबहादुर तामाङ (कान्छाराम) रामेछाप, ऐनबहादुर शाही, मुगु, खडक बोहरा, बझाङ, खमबहादुर गर्बुजा, म्याग्दी र शंकर गुरुङ, मनाङ विजयी हुनुभएको छ । 

यस्तै, केशरबहादुर विष्ट, सल्यान, दीपेन्द्र शाही डोल्पा, भीमबहादुर साउँद डडेल्धुरा, कर्णबहादुर शाही जुम्ला, रुपनारायण जवेगु पाँचथर, डा. टकबहादुर गुरुङ लमजुङ, नरेन्द्रबहादुर सिंह डोटी, तेजेन्द्र खनाल, ओखलढुंगा र युवराज जोशी पर्वत संस्थापन समूहबाट विजयी हुनुभएको हो । यसैगरी, डम्बर खड्का इलाम, रामकृण खाण रुपन्देही, जितेन्द्र श्रेष्ठ ललितपुर, पदम बोगटी कञ्चनपुर, खड्क पोखरेल सुर्खेत, जीतप्रकाश आले तनहुँ, हिमाल कार्की उदयपुर, दुर्लभ थापा भक्तपुर र अरुण प्रकाश सिंह राठौर बर्दियाबाट निर्वाचित हुनुभएको छ । उहाँहरू संस्थापन तथा देउवा पक्षका उम्मेदवार हुनुहुन्छ ।

यसैगरी, पौडेल पक्षका पनि अहिलेसम्म २६ जिल्ला सभापतिहरू विजयी भएका छन् । संस्थापन पक्षलाई कडा टक्कर दिइरहेको पौडेल समूहमा दीपक खड्का, संखुवासभा, अम्मबहादुर शाही कालीकोट, बर्मा लामा दोलखा, रोमीगौचन मुस्ताङ, शंकर डाँगी दाङ, नन्दप्रसाद न्यौपाने गोरखा र रामसिंह रावल बाजुरा हुनुहुन्छ । त्यसैगरी, केशव श्रेष्ठ अर्घाखाँची, विष्णुकुमार गिरी प्युठान, चतुरबहादुर चन्द बैतडी, विनोद बान्तवा भोजपुर, अर्जुनबहादुर तुम्बाहाङ्फे तेह्रथुम, किशोर आचार्य रोल्पा, विष्णुकुमार राई खोटाङ, ललितसिंह बोहरा दार्चुला, राजु थापा स्याङ्जा, हिमालदत्त श्रेष्ठ पाल्पा, अर्जुनकुमार पोखरेल, पश्चिम नवलपरासी र मणिराम रेग्मी दैलेख पनि पौडेल पक्षबाट विजयी हुनुभएको हो । 

यस्तै, अब्दुल कलाम कपिलवस्तु, केदार भण्डारी सुनसरी, रमेश महत नुवाकोट, कृष्ण बानियाँ (सबुज) काठमाडौं, रामनाथ अधिकारी धादिङ, खिलध्वजपन्थी गुल्मी र केशरमान रोका रुकुमपूर्व हुनुहुन्छ । 

कृष्णप्रसाद सिटौला समूहबाट झापामा देउमान थेवे, बागलुङमा जित शेरचन र काभ्रेमा तीर्थ लामा विजयी हुनुभएको छ । यता, विमलेन्द्र निधि समूहबाट कास्कीमा किशोरदत्त बराल विजयी हुँदा प्रेमप्रकाश ओली रुकुम पश्चिम, वेदराज सिंह जाजरकोट तटस्थ रहनुभएको छ ।

निर्वाचन समितिलाई पूर्णता दिन निधिको माग

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको निर्वाचन समितिलाई पूर्णता दिन सभापति शेरबहादुर देउवासँग माग गर्नुभएको छ । मंगलबार पार्टी कार्यालय सानेपा पुग्नुभएका निधिले विभिन्न तहमा भइरहेको अधिवेशनलाई वैधानिकता दिन पनि पूर्ण समितिको आवश्यकता पर्ने उल्लेख गर्दै विधानअनुसार समितिलाई पूर्ण बनाउनु आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘म सभापतिजीलाई भेटेरै भन्छु- प्रदेश अधिवेशन, महाधिवेशनलगायत कामहरू धेरै गर्नुछ । तत्काल निर्वाचन समितिलाई पूर्णता दिनुस् । विधानमा निर्वाचन समिति पाँच सदस्यीय छ । हाल चार सदस्यले गरेको निर्णय मान्न सकिँदैन ।’

कांग्रेसको विधानमा पाँच सदस्य रहेको समिति हुनुपर्ने उल्लेख छ । अहिले कांग्रेसको निर्वाचन समिति चार सदस्यीय रहेको छ । पार्टीको १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारीसमेत घोषणा गर्नुभएका उहाँले आफूसँग परामर्शसमेत नगरी निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएको भन्दै महादेव यादवप्रति असन्तुष्टिसमेत जनाउनुभयो । उहाँले भन्नुभयो, ‘महादेवजीले राजीनामा दिनुभन्दा पहिले मसँग सल्लाह गरिदिएको भए पनि हुन्थ्यो । उहाँले राजीनामा गर्न पनि हतार गर्नुभएको छ । उहाँको राजीनामा स्वीकृत गर्न पनि हतारमै भएजस्तो लाग्छ मलाई ।’ उपसभापति निधिले महाधिवेशनलाई सफल बनाउने काममा लागि पर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।

निधिको आग्रहपछि अनशन स्थगित

नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्ण मल्लसहितका नेताहरूले अनशन स्थगित गरेका छन् । पार्टी नेतृत्वले एकलौटी ढंगबाट क्रियाशील सदस्यता वितरण गरी गराइएको डडेल्धुराको जिल्ला अधिवेशन बदरको माग गर्दै अनशनमा रहनुभएका मल्ल लगाएतका नेताहरूले अनशन स्थगित गर्नुभएको हो । 

पार्टीका उपसभापति विमलेन्द्र निधिको आग्रहपछि १४ दिनेदेखि पार्टी कार्यालय सानेपामा जारी अनशन तोडिएको हो । डडेल्धुराको मागप्रति आफू सकारात्मक भएको भन्दै उपसभापति निधिले यस विषयमा आफूले सभापति शेरबहादुर देउवासँग मौखिक र लिखित रूपमै पुनः वडा अधिवेशन गर्न आग्रह गरेको स्मरण गराउनुभएको छ । 

यसबारे सुरुमा सभापति देउवा सकारात्मक भए पनि कार्यान्वयन नभएको उहाँको भनाइ छ । 

जिल्लाबाट सिफारिस भएर आएका क्रियाशील सदस्यको नाम काटेर केन्द्रबाट सिधै नाम थपेपछि विवाद उत्पन्न भएको हो । नेता निधिले सदस्यता छानबिन नगरी निर्वाचन प्रक्रिया अघि बढाउनु विडम्बनापूर्ण भएको बताउनुभयो । 

निर्वाचन समितिका सदस्यहरूबीच सहमतिका आधारमा निर्णय गर्नुपर्नेमा अल्पमत र बहुमतका आधारमा निर्णय हुनु दुःखद भएको निधिको भनाइ थियो । आफ्ना मुद्दाहरूलाई पार्टीका विभिन्न फोरममा राख्दै १४औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउनका लागि अनशन स्थगित गर्न निधिले आग्रह गरेका गर्नुभएको थियो । क्रियाशील सदस्यता विवादपछि डडेल्धुरामा जारी ११ दिनको अनशनपछि सभापति मल्लसहितका नेताहरू काठमाडौं आएर अनशन बस्नुभएको थियो । 

अरूको होइन आफ्नो पार्टीको चिन्ता गरौँ : देउवा 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन सबैको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । अरूको पार्टीको चिन्ता नगर्न नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुहुँदै देउवाले आफ्नै पार्टीभित्र हुने अन्तरघातहरूलाई अन्त्य गर्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री देउवाले अरूको पार्टीमा आँखा लाउन छोडेर आफ्नो पार्टीलाई अरूको भन्दा ठूलो पार्टी बनाउन जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीलाई भोलिका दिनमा अगाडि बढाउनु । हामी सबै एक भएर जानुछ, एकजुट हुनुछ । पार्टीभित्रै अन्तरघात हुनेदेखि लिएर अनेक भए । आगामी दिनमा यो पार्टीलाई एकताबद्ध गरेर राम्रोसँग जाने पार्टीको निर्णयलाई मानेर अघि बढ्नुपर्छ । हाम्रो पार्टी बनाउनेतिर लागौँ, अरूको पार्टी कस्तो छ ? आँखा धेरै लगाउनु पर्दैन, आफ्नो पार्टी बनाउनेतिर लागौँ । अरूको पार्टीको चिन्ता उनीहरूलाई गर्न दिनुस् न किन हामी गर्ने ? आफ्नो पार्टीको चिन्ता गरौँ, आफ्नो पार्टी बनाऊँ । उहाँहरूको भन्दा ठूलो पार्टी बनाऊँ ।’

प्रधानमन्त्री देउवाले चाँडो गरिएको निर्णयले पछुताउनुपर्ने भन्दै कुनै पनि निर्णय गर्दा सोच विचार गर्नुपर्ने बताउनुभयो । उहाँले नेतृत्व र निर्णय गर्ने अधिकार सबैको आउने भन्दै विश्वप्रकाश शर्मा र प्रकाश महतलाई नेतृत्व गर्न नहतारिन आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले बुढापाकाहरूलाई अर्ति दिनुभन्दा बुढापाकाबाट अर्ति लिन सुझाउनुभयो ।

उहाँले भन्नुभयो, ‘अरूलाई अर्ति दिन सजिलो छ, आफूले गर्नु गाह्रो छ । उहाँलाई आफ्नो बेलामा गरेर देखाउनु होला भनेर शुभकामना दिन चाहन्छु । अहिले नहतारिनुस्, अहिले हतारिएर के गर्नुहुन्छ पछि ? समय आइहाल्छ नि । त्यस्तै प्रकाश महतजीले पनि भन्नुभयो, निर्णय नै गर्न सक्दैन निर्णय ढिलोढिलो गर्छ भनेर । निर्णय भन्दैमा जथाभावी गर्नु, जे पायो त्यही त गर्नु भएन नि । निर्णय भनेको सोचविचारले गर्नुपर्छ । निर्णय गरेर पछुताउनुभन्दा ढिलो निर्णय गर्नु वेश हुन्छ ।’ प्रधानमन्त्री देउवाले राजनेता सुवर्ण समशेर जबराले पार्टीको लागि र प्रजातन्त्रको लागि दिएको योगदानलाई बिर्सन नसक्ने बताउनुभयो । 

Top