एमाले महाधिवेशन समापन : अध्यक्षमा ओली भारी मतान्तरले विजयी

प्रस्तावित सूचीविरुद्ध उम्मेदवारी दिनेहरू सबै पराजित, रावलद्वारा केन्द्रीय सदस्य पद अस्वीकार

नारायण भण्डारी   POSTED ON : मंसिर १५, २०७८ (४:२१ AM)

एमाले महाधिवेशन समापन : अध्यक्षमा ओली भारी मतान्तरले विजयी

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली नै दोहोरिनुभएको छ । १०औं महाधिवेशनअन्तर्गत मंगलबार भएको मतदानमा ओलीले प्रतिस्पर्धी भीम रावललाई फराकिलो मतले पराजित गर्नुभएको हो । मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८३७ मत ल्याउँदै निर्वाचित हुनुभयो भने अध्यक्षका प्रत्याशी भीम रावलले भने २२३ मत प्राप्त गर्नुभयो । 

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याउनुभयो । उहाँले १९७६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा निर्वाचित सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उपाध्यक्षमा पराजित घनश्याम भुसालले ७२५ मत ल्याउनुभयो  । यसैगरी सचिवमा गोकर्ण विष्टले सर्वाधिक १९७४ मत प्राप्त गरेर विजय प्राप्त गर्नुभयो । योगेश भट्टराईले १९६०, टोपबहादुर रायमाझीले १८०४, छविलाल विश्वकर्मा १८०३ र पद्मा अर्यालले १७९९, लेखराज भट्टले १७०४, र रघुवीर महासेठले १५०० मत ल्याउँदै सचिव पदमा निर्वाचित हुनुभएको हो । सचिवमा पराजित भीम आचार्यले ७८८ सय र टंक कार्कीले ५५९ मत प्राप्त गर्नुभयो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चयन हुनुभयो । एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट ओली अध्यक्ष र भीम रावल उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

ओली २०६५ सालमा सम्पन्न आठौं महाधिवेशनमा झलनाथ खनालसँग पराजित हुनु्भएको थियो । त्यतिबेला खनालले ९१३ मत पाउँदा ओलीले ७९६ मत मात्रै पाउनुभएको थियो । २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा भने ओलीले माधवकुमार नेपाललाई पराजित गर्नुभएको थियो । त्यतिबेला ओलीले १०५९ मत पाउँदा नेपालले १००३ मतपाउनुभएको थियो । ओलीले दुईपटक चुनाव लडेका नेताहरु खनाल र नेपाल अहिले पार्टीमा हुनुहुन्न । खनाल–नेपालले पार्टी गठन गरेसँगै एमालेमा ओलीको एकछत्र प्रभाव देखिन्छ। जसको पुष्टि अध्यक्षको मत परिणामले पनि गर्दछ । ओलीले आइतबार राति आफूलाई अध्यक्षमा प्रस्तावित गर्दै पदाधिकारी र केन्द्रीय कमिटीको सूची प्रस्ताव गर्नुभएको थियो । तर, त्यो प्रक्रियाको आलोचना भएको थियो। साथै विभिन्न पदमा थप उम्मेदवारी परेको थियो।मंगलबार बिहान ४ बजे सुरु भएको मतदान साढे १० बजे सकिएको थियो।

अहंकारी र घमण्डी व्यक्ति नेता हुन सक्दैन : ओली

ओलीले पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यलाई शालीन र अनुशासित बन्न निर्देशन दिनुभएको छ । चितवनको सौराहामा पार्टीको दशौं राष्ट्रिय महाधिवेशनलाई समापन गर्दै अध्यक्ष ओलीले नेताको जस्तो व्यवहार गर्न आग्रह केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभएको हो । पुराना नेताले असल तौर तरिका नयाँलाई सिकाउने र नयाँले पनि उत्सुकताका साथ पुराना नेताबाट सिक्न जरुरी रहेको उहाँले बताउनुभयो । ‘नयाँले उत्सुकता र जागरुकताका साथ सिक्ने काम गर्न जरुरी छ । नेता झैं व्यवहार गर्नुस्। शालीनता र विनम्रताका साथ व्यवहार गर्नुस् ।’ उहाँले भन्नुभयो, ‘घमण्ड र अहंकार छोड्नुस् । अहंकारी नेता हुँदैन र नेता अहंकारी हुँदैन । दम्भ र नेता मिल्ने कुरा होइन ।’

ओलीले आफूहरु जनताका सेवक भएकाले विनम्रताका साथ देश र जनताको सेवामा समर्पित हुन आग्रह गर्नुभयो । उहाँले आफ्नो पार्टीलाई आन्तरिक र बाह्य हमला भइरहेको जिकिर गर्नुभयो । १०औं महाधिवेशनको क्रममा विरोधीहरूले पार्टीका नेताहरूलाई उक्साएको र भड्काउन खोजे पनि सफल हुन नसकेको उहाँले बताउनुभयो । ‘विरोधीहरूले भड्काइरहेका थिए, उक्साइरहेका थिए । शान्त र एकताबद्ध माहोल भएपछि यस्ता हुतिहाराहरू भन्दै उक्साउँदै थिए । तर हाम्रो कार्यकर्ता पंक्ति हल्काफुल्का गैरजिम्मेवार रूपमा चल्दैन,’ उहाँले भन्नुभयो । 

साथै, पार्टीलाई जोगाउँदै अझ बलियो बनाएर जनतासँग एकीकृत बनाउनुपर्ने उहाँले बताउनुभयो ।  उहाँले अबको तीन महिनासम्म पार्टी प्रवेश अभियान चलाउने बताउनुभएको छ । पार्टी एकीकरणको अभियान सञ्चालन गर्ने उहाँको भनाइ थियो । विभिन्न पार्टीबाट कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने अभियान नै चलाउने उहाँले बताउनुभयो  ।

महाधिवेशन सफलतापूर्वक समापन गराएकोमा स्यवंसेवक, कार्यकर्तासहित सहयोगी र सहभागी सबैलाई उहाँले धन्यवाद दिएका थिए । अध्यक्ष ओलीले आगामी मंसिर २५ गते नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्ने पनि जानकारी दिनुभएको छ। 

एमालेको इतिहासमै सबैभन्दा समावेशी कमिटी

नेकपा (एमाले)को पदाधिकारी र केन्द्रीय समिति समावेशी भएको छ । पदाधिकारीमा महिलाको संख्या बढेको छ भने दलित र मधेसीको पनि उपस्थिति भएको छ । एमालेको दसौं महाधिवेशनबाट पदाधिकारीमा दुई महिला, एक दलित र एक मधेसी समुदायका नेताहरूको उपस्थिति भएको छ । मंगलबार सकिएको निर्वाचन परिणामले केन्द्रीय कमिटी र पदाधिकारीमा समावेशिता बढेको देखाएको हो ।एमालेको पदाधिकारीमा दुई महिला विजयी भएका छन् । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा पद्मा अर्याल निर्वाचित हुनुभएको छ । त्यस्तै, दलित समुदायका छविलाल विश्वकर्मा र मधेसी समुदायका रघुवीर महासेठ निर्वाचित हुनुभएको छ । ३०१ सदस्यीय केन्द्रीय कमिटीमा पनि ३३ प्रतिशत महिलाको उपस्थिति सुनिश्चित भएको छ । उनीहरू अधिकांश निर्विरोध निर्वाचित भएका थिए भने केही निर्वाचनमार्फत केन्द्रीय कमिटीमा पुगेका हुन् । नवौं महाधिवेशनबाट दुई जना महिला निर्वाचित भएका थिए । विद्यादेवी भण्डारी र अष्टलक्ष्मी शाक्य नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । भण्डारी राष्ट्रपति हुनुभएको थियो । त्यतिबेला पदाधिकारीमा दलित र मधेसी समुदायको भने उपस्थिति थिएन ।

१७ बुँदे प्रस्ताव पारित 

नेकपा (एमाले) को १०औँ महाधिवेशनले १७ बुँदे प्रस्ताव पारित गरेको छ । एमालेले १०औँ महाधिवेशनबाट मंगलबार उक्त प्रस्ताव ताली बजाएर पारित गरेको हो । नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले उक्त प्रस्ताव वाचन गर्नुभएको थियो । सो प्रस्तावमा गठबन्धन सरकार राष्ट्रिय हित र जनताप्रति गैरजिम्मेवार बन्दै गएको जनाइएको छ । जनजीविकाको प्रश्नमा वर्तमान सरकार गैरजिम्मेवार देखिएको प्रस्तावमा उल्लेख छ । त्यस्तै प्रदेश सरकारका मन्त्रालय फूटाएकामा पनि एमालेले आलोचना गरेको छ । त्यस्तै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा समेत सुनुवाइ नभएको भन्दै एमालेले खेद प्रकट गरेको छ ।

महाधिवेशनले अहिले राज्यका तीनवटै अंगले नागरिक विश्वास गुमाउँदै गएको ठहर गरेको छ । तीनवटा अंगबीच विश्वास गुम्दै गएको उल्लेख गरेको हो । महाधिवेशनले महाधिवेशनले एमालेले अघि सारेका योजना रोक्ने, राष्ट्रिय हित र स्वाभिमानमाथि आँच पुग्ने काम नगर्न सरकारका ध्यानाकर्षण गराएको छ । महाधिवेशनले शान्ति प्रक्रियाका बाँकी काम पुरा गरेर पीडितलाई न्याय र सजाय दिने दायित्वबाट सरकार आलटाल गरिरहेको उल्लेख गर्दै अबिलम्ब पुरिपुरण गर्न माग गरेको छ ।

पदाधिकारीमा पराजित तीन नेता केन्द्रीय सदस्यमा विजयी

एमालेमा अध्यक्ष पदका प्रत्यासी भएर पराजित बन्नुभएका भीम रावलले केन्द्रीय सदस्यको शपथ लिन अस्वीकार गर्नुभएको छ । मत परिणाम आउनुअघि नै उहाँले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गर्नुभएको थियो । चुनावी परिणामले भने रावललाई केन्द्रीय सदस्यामा विजयी गराएको छ । अध्यक्ष ओलीले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूचीमा उहाँको पनि नाम थियो । एमाले प्रतिनिधिले अध्यक्षमा भोट नदिए पनि केन्द्रीय सदस्यमा उहाँलाई भोट दिएका छन् । निर्वाचन परणामपछि आयोजित शपथग्रहण समारोहमा केन्द्रीय सदस्यलाई शपथग्रहण गराउने क्रममा रावल कुर्सीबाट उठ्नुभएन । समारोहपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै रावलले आफू अब कसरी अगाडि बढ्ने भन्ने निर्णय लिन बाँकी रहेको बताउनुभयो । ‘महाधिवेशनका विविध पक्षको विवेचना म काठमाडौं गएर गर्नेछु । तर जुन वातावरणमा मैले जति मत प्राप्त गरेको  छु, त्यसलाई महत्त्वपूर्ण रुपमा लिएको छु’ उहाँले भन्नुभयो । रावलले आफू केन्द्रीय कमिटी सदस्य नरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘ मैले केन्द्रीय सदस्यमा उम्मेदवारी नै दिएको छैन भने कसरी निर्वाचित हुन सक्छु ?’पार्टीका कमिटीमा नबसीकन अब कसरी काम गर्नुहुन्छ भन्ने प्रश्नमा उहाँले जवाफ दिनुभयो, ‘सोचोँला नि भोलिदेखि ।’

यसैगरी उपाध्यक्षमा पराजित हुनुभएका घनश्याम भुसालले १२६४ मत हासिल गर्नुभएको छ। उहाँलाई महाधिवेशन प्रतिनिधिले केन्द्रीय सदस्यमा भोट दिएका छन् । रावलनिकट नेता झपट रावल पनि केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ । सचिवमा पराजित भीम आचार्य १३९३ मत ल्याउँदै केन्द्रीय सदस्य बन्नुभएको छ । सचिवमै पराजित टंक कार्कीले भने केन्द्रीय सदस्यमा पराजित हुनुभयो । भीम रावलले भने आफू केन्द्रीय सदस्य नबस्ने बताएको एमाले निर्वाचन समितिका संयोजक विजय सुब्बाले जानकारी दिनुभयो ।

उपाध्यक्षमा शाक्य र सचिवमा विष्टको सर्वाधिक मत

पार्टीको आन्तरिक द्वन्द्वमा लामो समयसम्म माधव नेपालको पक्षमा लागेर एमालेमै फर्किएका नेताहरूले जारी दसौं महाधिवेशनमा सर्वाधिक भोट ल्याएका छन्।पदाधिकारीका तीनवटा पदका लागि भएको निर्वाचनमा उपाध्यक्षतर्फ अष्टलक्ष्मी शाक्यले सबभन्दा बढी एक हजार ९७६ मत ल्याउनुभयो । त्यस्तै उपाध्यक्षतर्फ दोस्रो बढी मत ल्याउने सुरेन्द्र पाण्डे पनि माधव नेपालको पक्षमा लागेर पार्टी फुटेपछि ओलीतिर लाग्नुभएको हो  । उहाँले पाएको मत एक हजार ९२५ छ।शाक्य र पाण्डेले पाएको मत सुरूदेखि ओली समूहमा रहेका र उनका विश्वासपात्र भनी चिनिएका विष्णु पौडेल र सुवास नेम्वाङभन्दा बढी हो। विष्णु पौडेलले १८५६ र सुवास नेम्वाङले १८६५ मत पाउनुभएको छ । उपाध्यक्ष जित्नेमा युवराज ज्ञवालीको मत भने १८४२ छ । सचिव पदका लागि भएको निर्वाचनमा पनि विगतमा माधव नेपाल समूहमा रहेका र पार्टी फुटपछि नेपालको साथ छाडेर ओलीतिर लागेका गोकर्ण विष्टलाई महाधिवेशन प्रतिनिधिहरूले सबभन्दा बढी मत दिए। विष्टले एकहजार ९७६ मत ल्याएका छन्।सचिवतर्फ योगेश भट्टराईले १९६४, पद्मा अर्यालले १८००, छविलाल विश्वकर्माले १८००, लेखराज भट्टले १७०४, टोपबहादुर रायामाझीले १७०० र रघुवीर महासेठले १५१३ मत ल्याउनुभयो । 

Top