आयोगले थाल्यो राष्ट्रियसभा चुनावसम्बन्धी काम

१७ मंसिरदेखि आफू बसेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७८ (५:५७ AM)

आयोगले थाल्यो राष्ट्रियसभा चुनावसम्बन्धी काम

काठमाडौं । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाटैै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । बुधबार काठमाडौंमा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरूमा गरिएको अन्तरक्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब आफू बसेको ठाउँबाटैै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताउनुभएको हो । उहाँले अब ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको पनि बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले आउँदो माघ १२ गते राष्ट्रियसभाको चुनाव गर्न आयोगको तयारी भइरहेको पनि बताउनुभयो । उहाँले उपनिर्वाचनका लागि अहिले २२ स्थान रिक्त रहेको र सरकारले मिति तोके उपनिर्वाचन गराउन आयोग तयार रहेको पनि बताउनुभयो । त्यस्तै, आयोगले आउँदो जेठको ५ गते स्थानीय तहका सबै पदाधिकारीहरूको पद रिक्त हुने भएकोले त्योअगावै स्थानीय तहको निर्वाचन गराउन आवश्यक तयारी प्रारम्भ गरेको छ ।

प्रमुख आयुक्त थपलियाले अब उम्मेदवारी घोषणा गर्दा उम्मेदवार सम्पत्ति विवरण लिने कानुन पनि आयोगले बनाएको बताउनुभयो । उहाँले निर्वाचनको बेलामा खाता हरेक सात÷सात दिनमा आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बनाएको र त्यसका लागि अब आयोगले यी कुराहरू हेर्नका लागि स्थानीय तहको निर्वाचन हुँदा ७५३ ठाउँमा अनुगमन गर्ने समिति, प्रदेशको निर्वाचन हुँदा ३३० ठाउँमा, प्रतिनिधिसभाको निर्वाचन हुँदा १६५ ठाउँमा अनुगमन समितिको व्यवस्था गरिएको पनि जानकारी दिनुभयो । प्रमुख आयुक्त थपलियाले राष्ट्रियसभाको निर्वाचनमा भने खाता, सम्पत्ति विवरणलगायत कुराहरू स्वयं आयोगले नै हेर्ने पनि बताउनुभयो ।

संविधान र कानुनका प्रावधानहरू आम मानिसका लागि बाध्यकारी भएझैँ दलहरूको निम्ति पनि सोहीअनुसार बाध्यकारी हुनुपर्ने भन्दै प्रमुख आयुक्त थपलियाले कानुनले तोकेको अवधिमा काम गर्दै जाने हो भने दलभित्रै नियमन रहेको बताउनुभयो । उहाँले कानुनमा केही अपर्याप्तता भएको तर कानुन कमजोर नभएको बताउनुभयो । उहाँले दलहरू आफैँ व्यवस्थित हुनुपर्ने, नियमित हुनुपर्ने र आफैँ सुशासन कायम राख्नुपर्ने भन्दै बलियो कानुन बनाएर मात्रै अहिलेको अवस्थामा धेरै राम्रा काम गर्न सकिन्छ भन्ने स्थिति नरहेको प्रष्ट पार्नुभयो । प्रमुख आयुक्त थपलियाले कानुनको संशोधनको प्र्रक्रियामा आयोग भए पनि अहिलेको अवस्थामा कानुन कमजोरभन्दा पनि अनुगमन गर्दा कानुनको पालनाप्रतिको बेवास्ता र दण्डहीनता सबैभन्दा ठूलो कारक हो भन्ने कुरा बुझ्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचन आयोगले राजनीतिक दलको स्वमूल्यांकन प्रणाली बनाएको र यसभित्र पाँचवटा अनुगमनका क्षेत्र तोकेको बताउँदै यसका लागि ७५ वटा सूचकहरू बनाइएको बताउनुभयो । उहाँले कुन राजनीतिक दलले कानुन, नीति, नियम मान्छ भनेर १०० अंकमा मूल्यांकन गर्ने र आवश्यकताअनुसार सार्वजनिक गर्ने बताउनुभयो ।

Top