नेपाली कांग्रेस १४औँ महाधिवेशन : ६२ जिल्लाको परिणाम सार्वजनिक, आजदेखि प्रदेश अधिवेशन हुँदै

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७८ (५:५९ AM)

नेपाली कांग्रेस १४औँ महाधिवेशन : ६२ जिल्लाको परिणाम सार्वजनिक, आजदेखि प्रदेश अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६२ जिल्लाको अधिवेशनको परिणाम सार्वजनिक भएको छ । ६२ जिल्लाको परिणाम आउँदा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षको बराबर छ भने उपसभापति विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला पक्षका केही तथा दुई तटस्थ छन् ।

प्रदेश १ का सबै १४ जिल्ला र कर्णालीका सबै १० जिल्लाका अधिवेशन सम्पन्न भएका छन् । प्रदेश २ का आठमध्ये कुनै पनि जिल्लाको जिल्ला अधिवेशन हुन सकेको छैन । बागमतीमा चितवन, मकवानपुर, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवेशन हुन सकेको छैन । गण्डकी प्रदेशको नवलपुर (नवलपरासी पूर्व) र लुम्बिनी प्रदेशको बाँकेमा अधिवेशन भएका छैनन् । यस्तै, सुदूरपश्चिम प्रदेशमा कैलाली र अछाम जिल्लामा अधिवेशन भएको छैन । 

आज (बिहीबार)बाट कांग्रेसको प्रदेश अधिवेशन सुरु हुँदै छ । अब बाँकी १६ जिल्लाको अधिवेशन महाधिवेशनपछि गर्नुपर्ने भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताउनुभयो । कांग्रेसले मंसिर १० भित्र सबै जिल्लाको अधिवेशन सक्ने भने पनि विविध कारणले केही जिल्लामा अधिवेशन हुन नसकेको हो ।

प्रदेश महाधिवेशनअन्तर्गत शुक्रबार उम्मेदवारको मनोनयन गर्ने निर्वाचन कार्यतालिका छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रदेशतर्फको निर्वाचनका लागि मंसिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन, मंसिर १७ गते मनोनयन दर्ता र १८ गते बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम तय गरेको छ ।

प्रदेश सभापतिको छनोट सकिएसँगै कांग्रेसका सबै तहका अधिवेशन सकिनेछन् र महाधिवेशनमा होमिनेछ । सभापति देउवाले यसअघि नै सातै प्रदेशमा उम्मेदवार छनोट र प्रतिस्पर्धाका लागि आफ्नो समूहका नेताहरूलाई जिम्मेवारी दिइसक्नु भएको छ । यसैबीच, कांग्रेसको इतर समूहले पनि बिहीबारबाट हुने प्रदेश अधिवेशनमा प्रदेश समितिका उम्मेदवार टुंग्याउन सम्बन्धित प्रदेशका केन्द्रीय नेताहरूलाई जिम्मा दिने निर्णय गरेको छ । 

प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा बिहीबार एकैदिन प्रदेश महाधिवेशन सुरु हुँदैछ । कांग्रेसले यो महाधिवेशनबाट पहिलोपटक प्रदेशस्तरीय नेतृत्व चयन गर्न लागेको हो ।

प्रदेश महाधिवेशन आयोजक समिति संयोजकमा प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडू रहनुभएको छ ।

Top