राप्रपाको एकता महाधिवेशन राजधानीमा सुरु : थापा र लिङ्देन अध्यक्षका लागि प्यानल बनाएरै भिड्दै, शीर्ष नेताहरू नेतृत्व परिवर्तनको पक्षमा

चिन्तन क्षेत्री   POSTED ON : मंसिर १६, २०७८ (७:१६ AM)

राप्रपाको एकता महाधिवेशन राजधानीमा सुरु : थापा र लिङ्देन अध्यक्षका लागि प्यानल बनाएरै भिड्दै, शीर्ष नेताहरू नेतृत्व परिवर्तनको पक्षमा

काठमाडौं । राष्ट्रिय प्रताजन्त्र पार्टीको एकता महाधिवेशन बुधबारबाट राजधानीमा सुरु भएको छ । पटक-पटक जुट र फुटको अवस्थाबाट गुज्रिएको राप्रपाले यो महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नेछ । यसअघि पार्टी एकताको समयमा तीनवटा अध्यक्ष भएको राप्रपामा यो महाधिवेशनबाट एक अध्यक्ष चयन हुनेछन् । अध्यक्षका लागि कमल थापा र हालका महामन्त्री राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । दुवै नेताहरूले आफ्नो दाबी प्रस्तुत गरिसक्नु भएको छ । 

अध्यक्षद्वय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले चुनाव नलड्ने घोषणा गर्नु र लोहनीले लिङ्देनलाई समर्थन गर्ने बताइसक्नु भएकाले पनि यो महाधिवेशनले महŒव पाएको छ । वर्तमान अध्यक्ष राणा भने कुनै पनि पक्षमा खुल्नुभएको छैन । 

यो महाधिवेशनले राप्रपाको विधानअनुसार अध्यक्ष, एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीन महामन्त्री निर्वाचित गर्नेछ । लिङ्देनले आफ्नो प्यानलबाट एक महामन्त्रीमा धवलशमशेर राणालाई अगाडि सार्नुभएको छ । उहाँले अन्य उम्मेदवारहरूको सूची तयार गरी बिहीबारसम्म घोषणा गर्ने बुझिएको छ । 

यस्तै, कमल थापा पक्षबाट उपाध्यक्षमा बुद्धिमान तामाङले उम्मेदवारी घोषणा गर्नुभएको छ । महामन्त्रीमा कुन्ती शाही र भुवन पाठकले उम्मेदवारी घोषणा गर्नुभएको हो । अन्य पदहरूमा टुंगो लागेको छैन । पदाधिकारीका अन्य आकांक्षीहरूमा लिङ्देन पक्षबाट श्याम तिमल्सिना गोविन्दराज खनिया, मुकुन्दश्याम गिरी, विन्दु पौडेल, दुर्गा श्रेष्ठ, रेखा थापा लगायतको चर्चा छ । 

यस्तै, कमल थापा पक्षबाट भाष्कर गहतराज, ध्रुवबहादुर प्रधान, जयन्त चन्द, भीमप्रसाद गौतन, अर्जुन राई, वसन्त मानसिंह अधिकारी, गीता बस्नेत, रोशन कार्कीलगायत नेताहरूको चर्चा पदाधिकारीमा रहेको छ । 

राप्रपामा उपाध्यक्ष र महामन्त्रीपछि सहमहामन्त्री, सहायक महामन्त्री, प्रवक्ताहरूको व्यवस्था रहेको छ । यी पदहरूमा अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । १९९ सदस्य रहेको केन्द्रीय समितिमा १४९ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् । 

अब पार्टीमा फुट आउँदैन : राप्रपा अध्यक्षत्रय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई एकताबद्ध बनाउने विषयमा प्रतिज्ञा गर्न नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । बुधबारबाट सुरु भएको राप्रपाको एकता महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै अध्यक्षत्रयले यस्तो आग्रह गर्नुभएको हो । उहाँले पार्टीमा कुनै पनि हिसाबले फुट आउन नदिने प्रतिबद्धता पनि जनाउनुभएको छ । 

अध्यक्ष थापाले नेतृत्व चयन सकेसम्म सर्वसम्मत हुने, नभए लोकतान्त्रिक विधि र प्रक्रियालाई मानेर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यथासम्भव सर्वसम्मतिको आधारमा नेतृत्व चयन गर्ने हामीले प्रयास गर्नुपर्दछ । कथमकदाचित सहमतिबाट हामीले नेतृत्व छनोट गर्न सकेनौँ भने पनि प्रजातान्त्रिक अभ्यास र विधिबाट नेतृत्व छानेर पार्टीलाई आगामी दिनमा एकताबद्ध ढंगबाट अघि बढाउने प्रतिज्ञा तपाई÷हामी सबैले गर्नु पर्दछ ।’

अर्का अध्यक्ष राणाले पार्टी एकता कायम राख्न आफूले अध्यक्षको दाबी छाडेको बताउनुभयो । अध्यक्षमा विजय हुनेभन्दा पनि पार्टीलाई एकताबद्ध बनाउने कुरालाई आफूले प्राथमिकता दिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘मैले अहिलेको अवस्थामा पार्टीको बृहत्तर हित र एकताका लागि आफ्नो दाबी छोड्नुपर्छ भन्ने टुंगोमा पुगँे । त्यो टुंगोमा पुग्दा धेरै साथीहरूले अत्यन्त चित्त दुखाए । तर, मैले आफू विजयी हुनेभन्दा पनि पार्टीलाई एकताबद्ध राखेर अघि बढ्नुपर्ने अवस्थालाई प्राथमिकता दिएर आफूले अध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हुँ ।’

यस्तै, अर्का अध्यक्ष डा. लोहनीले पार्टीलाई एकताबद्ध बनाएर नयाँ नेतृत्व आवश्यक रहेको बताउनुभयो । पार्टीमा नयाँ युगको सुरुवात महाधिवेशनले गर्ने उल्लेख गर्नुहुँदै उहाँले पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूले नयाँ नेतृत्वको चयन गर्नुपर्ने प्रस्ताव अघि सारेको बताउनुभयो । 

उहाँले अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ । पार्टी फुट्छ कि भनेर चिन्ता नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपार्इंहरूले पार्टी फुट्ला कि भन्ने चिन्ता नगर्नुस्, पार्टीमा फुट हुँदैन । अब पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प छैन । त्यही काममा हामी लाग्नेछौँ । नेतालाई सम्मान, कार्यकर्तालाई माया गरेर मात्रै पार्टीले मुलुकलाई निकास दिन सक्नेछ ।’ अध्यक्ष लोहनीले राष्ट्रको हित र नेपालका धर्म, संस्कृतिको संरक्षण र संवद्र्धनका लागि आफ्नो पार्टीको विकल्प नरहेको दाबीसमेत गर्नुभयो ।

सडकबाटै राजा फर्काउँछौँ : कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले सडकबाटै राजसंस्था पुनःस्थापना गर्ने बताउनुभएको छ । संविधान संशोधनका लागि दुईतिहाइ पर्खेर नबस्ने उल्लेख गर्नुहुँदै उहाँले सडकको बलमा नै राजतन्त्र फर्काउने बताउनुभएको हो । 

काठमाडौंको सडकमा एक लाखभन्दा बढी मानिस उतारेर राजा फर्काउने उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘अब हाम्रो नारा राजा आऊ देश बचाऊ होइन, जनता आऊ राजा ल्याऊ हो । जुन दिन राप्रपाले काठमाडौंको सडकमा एक लाखभन्दा बढी मानिस निरन्तर उतार्न सक्छ, त्यो अवस्थामा दुईतिहाइ धारा पर्खेर राप्रपा बस्दैन ।’ राजालाई नागार्जुनबाट नारायणहिटी राख्ने काम अब संसद्को शक्ति र सडकबाट जनताको शक्तिले गर्ने बताउनुभयो । 

पार्टी एकतापछि निष्क्रिय बनेको छ, बाटो खुला गरिदिनुस् : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता राजेन्द्र लिङ्देनले एकीकरणपछि पार्टी निष्क्रिय बनेको बताउनुभएको छ । 

पार्टीको एकता महाधिवेशनमा सम्बोधन गर्नुहुँदै उहाँले एकतापछि कमजोर बनेको राप्रपालाई अगाडि बढाउन अध्यक्ष कमल थापाले मार्ग खोल्नुपर्ने बताउनुभयो ।

अहिलेका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पुनः पार्टी अध्यक्ष नबन्ने घोषणा गरे पनि कमल थापाले फेरि अध्यक्षमा दाबेदारी गर्नुभएको छ । थापाको पुनः अध्यक्षमा भिड्ने घोषणाप्रति लक्षित गर्दै उहाँले राप्रपालाई अगाडि बढाउन बाटो खुला गरिदिन आग्रह गर्नुभएको हो । 

राणा र लोहनीले अध्यक्षमा नउठ्ने घोषणा गरेको प्रसंग उल्लेख गर्नुहुँदै थापालाई उहाँले भन्नुभयो, ‘समयको पदचाप बुझ्नुहोस् । राप्रपालाई अगाडि बढाउने बाटो खोलिदिनुहोस् ।’ 

उहाँले राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको पक्षमा रहेका जनतालाई नेतृत्व गर्न पनि नयाँ कार्यकारीको आवश्यकता औँल्याउनुभयो । हजारौँ जनता हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा रहेको उल्लेख गर्नुहुँदै उहाँले यस्तो अवस्थामा बेपत्ता भएको राप्रपालाई अगाडि बढाउन आफू कार्यकारीका लागि अगाडि बढेको उहाँको भनाइ छ । 

अहिलेको अवस्थामा पार्टी अगाडि बढ्न नसक्ने उल्लेख गर्नुहुँदै उहाँले नेतृत्व परिवर्तन जरुरी रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा हजारौँ जनता सडकमा छन् । तर, राप्रपा किन बेपत्ता अवस्थामा छ ? राप्रपाको गतिविधि दुई वर्षदेखि शून्य भएको छ । यही शैलीबाट यो पार्टी अगाडि बढ्न सक्दैन । एकपटक कार्यकारी नेतृत्व फेरेरै हेर्नुपर्छ ।’ 

देउवा, प्रचण्ड र नेपाललाई लोकेन्द्रबहादुर चन्दको प्रश्न : अहिलेकै अवस्था ल्याउन परिवर्तन गरेको हो ?

पूर्व-प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले अहिलेको व्यवस्थाबाट जनता सन्तुष्ट नभएको बताउनभुएको छ । 

राप्रपाको एकता महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै चन्दले अहिलेको अवस्थामा कार्यकर्ताहरू सन्तुष्ट भए पनि जनता नभएको बताउनुभयो । 

जनताले राजनीतिक परिवर्तनबाट न्याय पाएको महसुस गर्न नपाएको उल्लेख गर्नुहुँदै यही अवस्था ल्याउन परिवर्तन गरेको हो ? भन्दै देउवा, प्रचण्ड र नेपाललाई प्रश्नसमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्डजी, शेरबहादुरजी, माधवजी यहीँ हुनुहुन्छ । के अहिलेकै अवस्था ल्याउन परिवर्तन गरेको हो त ? अहिले अन्यायले न्यायलाई दबाएको छ । हाम्रा कार्यकर्ता सन्तुष्ट होलान् तर जनता सन्तुष्ट छैनन ।’ 

उहाँले राप्रपाभित्र सहमतिमै नेतृत्व छान्नु उपयुक्त भएको बताउनुभयो । सहमति नजुटे पनि सभ्य र लोकतान्त्रिक विधिबाट नेतृत्व छान्ने प्रयास गर्नुपर्ने बताउनुभयो । 

राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियताका पक्षमा सबै दलहरू मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले राष्ट्रिय मुद्दाका विषयमा आगामी दिनमा पनि सबै दल एक भएर अगाडि बढ्नपर्ने उल्लेख गर्दै भन्नुभयो, ‘राष्ट्रिय हितका मुद्दामा सबै दल मिलेर अगाडि बढ्नुको विकल्प नै छैन ।’

प्रधानमन्त्री देउवाले राजनीतिक दलका महाधिवेशनहरूले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । 

यही हप्ता नेकपा (एमाले)को महाधिवेशन सम्पन्न भएको र आफ्नो दलले पनि आगामी हप्ता महाधिवेशन गर्ने तयारी गरेको उल्लेख गर्नुहुँदै उहाँले सबै दलका महाधिवेशनले राष्ट्रिय महŒवका विषयमा समान धारणा बनाउनुपर्ने बताउनुभयो ।  

राष्ट्रियताका सवालमा माओवादी र राप्रपाको धारणा समान छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र पार्टी र माओवादी केन्द्रको धारणा मिल्दै गएको बताउनुभएको छ । नेकपा एमालेको महाधिवेशन निम्तो अस्वीकार गर्नुभएका प्रचण्डले राप्रपा महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रियताको सवालमा आफ्नो पार्टी र राप्रपाको धारणा समान रहेको बताउनुभएको हो । दुई पार्टीको राजनीतिक विचार फरक भए पनि राष्ट्रियताका सवालमा गोत्र एउटै भएको प्रचण्डको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘हाम्राबीचमा अन्तरविरोध छ । तर, हाम्रो अनेकताभित्र एकता छ । राष्ट्रियता र देशभक्तिको सवालमा हाम्रो गोत्र मिल्न जान्छ ।’ उहाँले मुलुकलाई वैदेशिक हस्तक्षेपबाट मुक्त गराएर स्वाधीनताको रक्षा गर्न सबै दलहरूबीच सहकार्य हुनुपर्नेमा जोडसमेत दिनुभयो । 

राष्ट्रलाई सबैभन्दा माथि राखेर दलहरूबीचको संवाद अझ नजिकबाट हुनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘राष्ट्र सबैभन्दा माथि छ । दलहरूबीचको संवादलाई अझ घनिभूत बनाएर राष्ट्रलाई वैदेशिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्छ । त्यसका लागि सहकार्य जरुरी छ ।’ उहाँले पार्टी तीन टुक्रा पार्नेहरूले समेत एकताको नाममा महाधिवेशन गरेको बेला साँच्चै एकताको महाधिवेशन गर्न सफल भएको भन्दै राप्रपालाई शुभकामनासमेत दिनुभयो । 

परिवर्तनको गतिलाई नरोक्न राप्रपालाई नेपालको आग्रह 

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको गतिलाई नरोक्न राप्रपालाई आग्रह गर्नुभएको छ । महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता नेपालले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाउनुपर्नेमा परिवर्तनको गति रोक्ने र पछाडि धकेल्ने काम गर्न नहुने बताउनुभयो । 

उहाँले नेपालमा जातीय सदभाव र राष्ट्रिय एकताको भावना रहेको औँल्याउँदै सोहीअनुसार अघि बढेर मुलुकलाई प्रतिगमनतर्फ जान नदिन सबै राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो । 

अध्यक्ष नेपालले इतिहास पछाडि नजाने भन्दै अग्रगमनको बाटोबाट अघि बढ्न पनि राप्रपाको नेतृत्वलाई सचेत गराउनुभयो । 

उहाँले भन्नुभयो, ‘राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई अवश्य पनि उठाइराख्नोस् । तर, राष्ट्रियता नेपाली जनताको जुन भावना हो । त्यो भावनालाई ठिक ढंगले आत्मसात गरेर परिवर्तनको संवाहक पनि भएर अघि बढनोस् । परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काममा हामी नलागौँ । अगाडि बढिसक्यो इतिहास । इतिहास पछाडि जाँदैन अब ।’ अध्यक्ष नेपालले वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन नेपालका राजनीतिक दलहरू अहिले पनि सचेत भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सिपी मैनालीद्वारा महेन्द्रको प्रशंसा

नेकपा मालेका महासचिव सिपी मैनालीले तत्कालीन राजा महेन्द्रको प्रशंसा गर्नुभएको छ । पृथ्वीनारायण शाहपछि नेपालमा सबैभन्दा राष्ट्रवादी मान्छे तत्कालीन राजा महेन्द्र नै भएको उहाँले बताउनुभयो । नेपाललाई सिक्किम र भुटानजस्तो हुनबाट रोक्नका लागि महेन्द्रले महŒवपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ । 

विदेशी हस्तक्षेपलाई अस्वीकार गर्ने राजा महेन्द्र नै भएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘पृथ्वीनारायण शाहपछि कसैले कदम चालेको छ भने ती राजा महेन्द्र हुन् । दिल्ली सम्झौतामा उल्लेख विधानसभा भएको भए नेपाल त्यतिबेलै भारतमा गाभिन्थ्यो ।’

२०१७ साल पुस १ गतेको कदम दक्षिणपन्थी राष्ट्रवादी कदम भएको उल्लेख गर्नुहुँदै मैनालीले २०४६ साल र २०६३ सालको परिवर्तनसँगै विदेशी हस्तक्षेप बढेको बताउनुभयो । उहाँले माओवादी आन्दोलनका कारण पनि नेपालमा विदेशी हस्तक्षेपले बढोत्तरी पाएको बताउनुभयो । 

उहाँले अब राष्ट्रियता जोगाउनका लागि देशभक्ति पार्टीहरूको एकता जरुरी रहेको बताउनुभयो । कम्युनिष्ट वा गैरकम्युनिष्ट भनेर नछुट्याएरै सम्पूर्ण राष्ट्रवादी पार्टीको एकता जरुरी रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘राष्ट्रवादी, कम्युनिष्ट, लोकतन्त्रवादी वा जुनसुकै विचारका भए पनि देशभक्तहरू मिल्नुपर्ने देखिन्छ । तब मात्रै यो मुलुकको उद्धार हुन्छ ।’

गठबन्धन सरकारले राष्ट्रियताका सवालमा निर्लज्जता देखायो : पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रियताको सवालमा गठबन्धन सरकारले निर्लज्जता देखाएको बताउनुभएको छ । आफ्नो नागरिकको भारतीय सुरक्षाकर्मीले हत्या गर्दासमेत बोल्न नसकेको उल्लेख गर्नुहुँदै उहाँले गठबन्धनले मुलुकको राष्ट्रिय स्वाभिमानलाई लत्याएको आरोप लगाउनुभयो । 

भारतीय सीमा सुरक्षा बलले तुइन काटेर नेपाली नागरिकको हत्या गर्दा पनि गठबन्धन सरकार केही बोल्न नसकेको उहाँको भनाइ छ । उहाँले राष्ट्र, राष्ट्रियता, समृद्धि र विकासको अभियानमा सबै राजनीतिक दलहरूलाई एकताबद्ध हुन आह्वान पनि गर्नुभयो । दल र नेताहरू जुनसुकै विचारधारामा उभिएको भए पनि राष्ट्रलाई सर्वोपरी ठानेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘वर्तमान सरकार र सत्तारूढ दलहरूले संविधानको पालना गर्ने कुराको मतलब राख्नु पर्दैन । कानुनको बर्खिलापमा गए हुन्छ । जारी भएका विकासका योजनाहरूलाई समाप्त पार्ने कुरा गरे हुन्छ । राष्ट्रिय स्वाभिमान नामको चिजलाई लत्याए हुन्छ । यसखालको स्थिति हामीले देखिराखेका छौँ । म यहाँहरूलाई यो महाधिवेशन सफल होस् भनेर शुभकामना दिइरहँदा एउटा निवेदन मैले गर्नै पर्दछ कि हामी राजनीतिक विचारमा जुनसुकै ठाउँमा उभिएको हौँ । एउटा कुरामा हामी सबैको ध्यान जान जरुरी छ । देशभन्दा ठूलो अरू केही हुन सक्दैन । देश हाम्रो लागि सर्वोपरी हो ।’

पोखरेलले मुलुकको समृद्धि, विकास र स्वभामानको रक्षाका लागि आफ्नो पार्टीसँग सहकार्य गरेर अघि बढ्न पनि राप्रपाका नेताहरूलाई आग्रह गर्नुभयो । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिलकुमार झाले तत्कालीन समयमा राप्रपा अध्यक्ष कमल थापाको संयोजकत्वमा रहेको सरकारी वार्ता टोलीसँग मधेशका मुद्दाका विषयमा सहमति भएको स्मरण गर्नुभयो । थापा उपप्रधानमन्त्री हुँदा मधेशका सवालमा वार्ता भएको उल्लेख गर्नुहुँदै उहाँले कार्यान्वयन गराउने दिशामा महाधिवेशनले नीति बनाउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका नेता लालबहादुर थापाले संघीयताका सवालमा राप्रपालाई पनि प्रस्ताव पारित गर्न सुझाव दिनुभयो । आफ्नो पार्टीले सुरुवातबाटै संघीयताको विपक्षमा मत जाहेर गर्दै आइरहेको उल्लेख गर्नुहुँदै उहाँले प्रदेशको खर्च कटाएर स्थानीय तहलाई दिई अधिकार क्षेत्र बढाउने गरी राप्रपाले पनि प्रस्ताव पारित गर्न सुझाव दिनुभयो । जनता समाजवादीका नेता प्रकाश अधिकारीले विभेद अन्त्य नभई देशमा विकास नहुने भएकाले संविधान संशोधन हुनुपर्नेमा जोड दिनुभयो । संविधान संशोधनमार्फत सबैका मुद्दा समेटेर राष्ट्रिय एकता कायम गरिनुपर्ने उहाँको भनाइ थियो ।

Top