निर्वाचन आयोगसँगको सर्वदलीय बैठक, तोकिएको समयमै निर्वाचन गराउन सुझाव

हिमालय टाइम्स   POSTED ON : पुष ३०, २०७८ (३:१३ PM)

निर्वाचन आयोगसँगको सर्वदलीय बैठक, तोकिएको समयमै निर्वाचन गराउन सुझाव

काठमाडौं । निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक सकिएको छ । 

शुक्रबार आयोग कार्यालय कान्तिपथमा स्थानीय तहदेखि संघीय संसद्सम्म प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरेको थियो ।

बैठकमा नेताहरूले तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने सुझाव दिएका छन् । 

स्थानीय तहको चुनावको हकमा भने सरकारले छलफल गरेर चाँडै निष्कर्षमा पुगोस् भन्ने सुझाव दिएको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता रमेश लेखकले बताउनु भयो ।

साथै उहाँका अनुसार छलफलमा विभिन्न दलका नेताहरुले राष्ट्रिय सभा निर्वाचनका लागि अहिले तोकिएको निर्वाचन केन्द्रहरु थप गर्न माग गरेका छन् । 

 आयोगले प्रदेश २ का लागि दुईवटा र अन्य प्रदेशका लागि एकएक वटा निर्वाचन क्षेत्र तोकेको छ ।

आयोगले वैशाख १४ र २० मा चुनाव गर्ने गरी सरकारलाई सिफारिस गरेको थियो । तर, सरकारले यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

बैठक पछि एमाले नेता विष्णु रिमालले चुनाव गर्न कम्तीमा पनि १ सय २० दिन आवश्यक पर्ने र प्रस्ताव गरेको मितिमा गर्दा पनि सय दिनको मात्रै समय रहेको भन्ने जानकारी आयोगले दलहरूलाई गराएको र आफूहरुले तोकिएकै मितिमा चुनाव गराउनु पर्छ भन्ने सुझाव दिएको उहाँले बताउनु भयो ।


Top