न्यूनतम साझा कार्यक्रममा ठूला भ्रष्टाचारको छानबिन हुने उल्लेख भएपनि नहुनु दुखद् : उपभापति गुरुङ

दीपक घिमिरे   POSTED ON : पुष ३०, २०७८ (४:४० PM)

न्यूनतम साझा कार्यक्रममा ठूला भ्रष्टाचारको छानबिन हुने उल्लेख भएपनि नहुनु दुखद् : उपभापति गुरुङ

भैरहवा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ठूला ठूला भ्रष्टाचार काण्डको छानबिन नभएको बताउनु भएको छ । उहाँले ठूला नेता/कर्मचारी पर्छन् भनेर अख्तियारको घर्रामा फाइल बन्द भएर बसेको बताउनु भयो ।  

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ३ रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको कांग्रेसका नवनिर्वाचित उपसभापति गुरुङको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उहाँले भष्टाचारको छानबिन सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रममा उल्लेख भएको भएपनि छानबिन हुन नसक्नु दुखद भएको बताउनु भयो। 

नेता गुरुङले सेक्युरिटी प्रिन्टिङ प्रेस ७० करोड, वाइड बडी, ओमनी, यति, ललिता निवास जग्गा प्रकरण लगायतका भ्रष्टाचार काण्डको छानबीन हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयोे, ‘सानालाई मुद्दा चलाउने, ठूलालाई मुद्दा चलाउन थरथर काप्ने ? भ्रष्टाचारको विषयमा पटकपटक केन्द्रीय समितिमा कुरा उठाउँदै आएको छु ।’ 

संसारमा ठूला नेता पनि जेल गएको इतिहास भएको भन्दै उहाँले नेपालको सन्दर्भमा छानबीन नहुनु दुःखद भएको बताउनु भयो। आफूले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर पनि भ्रष्टाचार काण्डको छानबीन गर्न भनेको र प्रधानमन्त्री देउवाले छानबीन हुने कुरा आफूलाई बताएको उहाको भनाइ थियो ।

भारतले नेपालको भूमिमाथि अतिक्रमण गर्दै आएको बताउदै उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भुभाग लिपुलेक, लिम्पियाधुरा, कालापानीमा भारतले सडक निर्माण गरिरहेको भन्ने अभिव्यक्ति दिएकोबारे तुरुन्तै कुटनीतिक नोट पठाउनुपर्नेमा जोड दिनुभयो ।  उहाले भन्नुभयो, ‘कुटनीतिक नोट मात्र पठाएर हुँदैन, प्रधानमन्त्रीले नै अग्रसरता लिएर कुटनीतिक वार्ता अगाडी बढाउनुपर्छ, सधैका लागि समाधान खोज्नुपर्छ, हाम्रो भूमि हामीले उपयोग गर्न पाउनुपर्छ ।’

राष्ट्रियताका सन्दर्भमा पार्टी भन्दा माथि उठ्नुपर्ने उहाको जोड । राष्ट्रियताको सन्दर्भमा कुनै पनि नेताले व्यक्तिगत विचार राख्न नहुने उहाको भनाई छ । राष्ट्रियता खतरामा पर्दा नबोल्ने हो भने के का लागि राजनीतिक गरेका छौं भन्दै उहाले प्रश्न गर्नुभयो । ‘देश र जनता तथा राष्ट्रिय स्वाधिनताको सन्दर्भमा बोल्न सकेनौं भने राजनीति छोड्नुपर्छ,’ उहाँले भन्नुभयो । 

उहाँले एमसीसी राष्ट्रिय एजेण्डा भइसकेको र यो विषय भू–राजनीतिसंग पनि सम्बन्धित भएकाले सर्वदलीय संयन्त्र बनाएर समाधान खोज्नुपर्ने बताउनुभयो । ‘मुलुकको साझा एजेण्डाको विषयमा सत्ता पक्ष र प्रतिपक्षको आँखाले हेर्नुहुँदैन, कि एमसीसी संसोधनसहित पास गर्नुपर्छ, नत्र फिर्ता पठाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले अविलम्ब संसद सुचारु गराउनुपर्ने बताउनु भयो । उहाँले जनता एमसीसीको विरोधमा भएकाले सर्वदलीय सहमति नगरेसम्म एमसीसी पास गरिए पार्टीले चुनावमा ठूलो मूल्य चुकाउनुपर्ने बताउनु भयो । 

नेता रज्जाकले भन्नुभयो, ‘कांग्रेसको नेतृत्वमा संविधान बनेको छ, त्यसैले संविधानको कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो हो ।’

अहिले पनि लोकतन्त्र नमान्ने पार्टीसंग मिलेर गठबन्धन सरकार चलाइरहेको उहाँको भनाइ थियो । उहाले प्रमुख प्रतिपक्षी दल एमाले संसदीय व्यवस्थालाई असफल बनाउन लागिपरेको आरोप लगाउनु भयो। 

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले कांग्रेसलाई अझ गतिशिल र शक्तिशाली बनाउन आवश्यक रहेको बताउनु भयो ।


Top