15th August | 2020 | Saturday | 7:36:11 AM

जनकपुरधाममा पनि सोमबार मध्यरातदेखि निषेधाज्ञा

पुरन साह   POSTED ON : श्रावण १८, २०७७ (५:३४ PM)

जनकपुरधाममा पनि सोमबार मध्यरातदेखि निषेधाज्ञा

जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा पनि सोमवार माध्यरातदेखि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सोमवार राति १२ बजेदेखि लागु हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिनुभयो । जनकपुरधाम उपमहानगरपालिका र क्षिरेश्वरनाथ नगरपालिका को निश्चित क्षेत्र भित्र १९ गते राती १२ः०० वजे देखि लागू हुने गरि निषेधाज्ञा आदेश जारी गरिएको छ ।

 कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन बढ्दै गएपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको उहाँले बताउनु भयो । उहाँका अनुसार स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक काम बाहेक बिना पास घरबाट बाहिर निस्किए कारवाही गरिने उहाँको भनाइ छ ।

 निषेधाज्ञाको समयमा औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, एम्बुलेन्स लगायत संचालनमा रहने जनाइएको छ । धनुषामा एक जनाको कोरोनाले मृत्यु भएको छ भने उच्च अदालत जनकपुरका एक न्यायाधीश, प्रादेशिक अस्पताल जनकपुरधामका तीन नर्स, सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीसहित सैयौं व्यक्तिमा कोरोना पुष्टि भइसकेको छ ।

तराईमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रदेश २ का विभिन्न स्थानमा निषेधाज्ञा जारी भइरहेका छन् । यस अघि वीरगञ्ज, राजविराजलगायत स्थानमा निषेधाज्ञा जारी भइरकेका छन् ।


Views: 57