27th February | 2021 | Saturday | 3:23:11 PM

जुन संविधान जलाउन चाहेका थियौं, त्यसकै रक्षा गर्नुपर्ने अवस्था आयो : उपेन्द्र यादव

पुरन साह   POSTED ON : फाल्गुन १०, २०७७ (६:३७ PM)

जुन संविधान जलाउन चाहेका थियौं, त्यसकै रक्षा गर्नुपर्ने अवस्था आयो : उपेन्द्र यादव

जनकपुरधाम ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जलाउन चाहेको संविधानलाई आज बचाउने अवस्था आएको बताउनु भएको छ । मुस्लिम समुदायको बारेमा अध्यक्ष यादवद्वारा नेपालीमा लिखित पुस्तकको उर्दु संस्करणलाई आज जनकपुरधाममा बिमोचन गर्दै पुर्व उपप्रधान मन्त्री समेत रहेका यादवले भन्नुभयो, ‘कस्तो अवस्था हो, जुन संविधान जलाउनु पर्छ भन्थ्यौं आज त्यै संविधानको रक्षा हामी आफैले गर्नुपर्ने समय आएको छ ।’

 प्रधानमन्त्री ओली यो संविधानलाई विश्वकै उत्कृष्ट संविधान भन्दा भन्दै आज सोहि संविधान नै समाप्त पार्न उद्वत छन्, तर हाम्रो संविधानमा असहमित थियो आज संविधानबाट प्राप्त उपलब्धि रक्षाका लागि सोहि संविधानको रक्षाका लागि आन्दोलन गर्न परिरहेको छ ।’ यादवले थप्नुभयो । अध्यक्ष यादवले परिवर्तणकारी शक्तिको पहिचान गर्न मुस्लिम समुदायका अगुवाहरुलाई आग्रह गर्नुभयो । देशको रक्षा गर्ने नेपाली सेना र प्रहरीमा मधेशी खास गरि मुस्लिम समुदायलाई किन सहभागि गराइदैन ? प्रश्न गर्दै यादवले भन्नभयो, ‘देश बर्बाद गर्ने कांग्रेस र नेकपालाई मात्र कति दिन परीक्षण गर्ने ? अव देशको सच्चा परिवर्तणकारी शक्ति बनाउनोस् ।’

 यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संघियतालाई समाप्त गर्ने प्रपञ्च रचेको आरोप लगाउनुभयो । यादवले भन्नुभयो,‘संघीयता मात्र एक यस्तो प्रणाली छ जहाँ पावरको शेयरिङ्ग हुन्छ । जनताले शक्ति, साझेदारी र हिस्सेदारी संघियतामार्फत मात्र पाउन सक्छन् । संघीय प्रणाली कुनै पृथकतावाद होइन, यो प्रणाली तोड्ने नभई जोड्ने प्रणाली हो ।’

 मुस्लिम समुदायको अगुवा मौलानाहरुको संस्था जमीय ओलमाय नेपालले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रम समेत रहेको कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री  लालबाबु राउतले मुस्लीम समुदाय पछाडि पर्नुको मुख्य कारण मध्ये शिक्षा समेत रहेको बताउनुभयो । उहाँले आ–आफ्नो सन्तानहरुलाई मर्दशा शिक्षाका साथै आधुनिक शिक्षाका लागि विद्यालय पठाउन आग्रह गर्नुभयो । युवा शिक्षित नभए उनीहरुलाई रोजगारीमा समेत समस्या आउने उहाँको धारणा थियो ।

 कार्यक्रममा अध्यक्ष यादवद्वारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ नामक पुस्तकको उर्दु संस्करण विमोचन गरिएको थियो । नेता यादवले लेखेको सो पुस्तकको उर्दु अनुवाद मौलाना खालिद रसिदले गर्नुभएको छ ।


Views: 41