18th May | 2021 | Tuesday | 7:56:56 AM

अस्तव्यस्त बसपार्कले यात्रु र चालकलाई सास्ती

सञ्जीवकुमार मिश्रा   POSTED ON : चैत्र ३१, २०७७ (८:०० AM)

अस्तव्यस्त बसपार्कले यात्रु र चालकलाई सास्ती

बारा । कलैया उपमहानगरपालिका ४ स्थित बसपार्क अस्तव्यस्त बनेको छ । सरोकारवाला निकायले बसपार्क व्यवस्थापन गर्न र व्यवस्थित बनाउन चासो नदेखाउँदा बसपार्कको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ ।

बसपार्कको भुइँतल्ला पक्की नबनाउँदा सधँै हिलोको सास्ती खेप्नु परेको चालकहरूले गुनासो गरेका छन् । हिलोकै कारण बसपार्कमा यात्रुलाई बसमा चढाउन, ओराल्नसमेत समस्या हुने गरेको पीडित बस कर्मचारीहरूको गुनासो छ । बसलाई पार्किङ गर्नसमेत समस्या हुने गरेको चालकहरूरू बताउँछन् । 

हिलोले पाएको दुःखसँगै बसपार्कमा रेष्टरुम नहुँदा टाढाबाट बस लिएर आएका थकित चालकहरू आराम गर्नसमेत नपाएको चालक हरिनारायण पटेलले बताउनुभयो । ‘बसपार्क शौचालय, नास्ता पसल, प्रतीक्षालयलगायतका पूर्वाधारको व्यवस्थापन दुरुस्त छैन,’ उहा“ले भन्नुभयो, ‘हावाहुरी आए लुक्ने ठाउँ पनि छैन ।’ बसपार्कको हिलोले चालकलाई झन् तनावमा पार्ने गरेको चालक पटेलको गुनासो गर्नुभयो ।

बस चालक र यात्रीलाई ओत लाग्ने सुविधासम्पन्न भवनको व्यवस्थापन गर्नु त परै जाओस् । कलैया उपमहानगरपालिकाले बसपार्कको शौचालयलगायत सरसफाइ गर्न राखिएका कर्मचारी परिवारैसहित बसोबास गर्न थालेपछि अर्को समस्या खडा भएको अर्का चालक धर्मेन्द्र गिरीले बताउनुभयो । सरसफाइकर्मीका छोराछोरी बसको चक्कानजिकै खेल्दा दुर्घटनाको जोखिमसमेत बढाएको उहा“ले गुनासो गर्नुभयो । ‘चारैतिर पानी र हिलैहिलो छ,’ उहा“ले भन्नुभयोे, ‘पानीकै कारण चालकहरूले जथाभावी बस लगाउने गरेका छन् ।’ बसपार्कलाई सुक्खा राख्न ग्राभेल हाल्ने भनिए पनि अहिलेसम्म नगरपालिकाले ग्राभेल नहालेको १० वर्षदेखि बसपार्कमै काम गर्दै आउनुभएका मिस्त्री मनोजप्रसादले बताउनुभयो ।

बसपार्कलाई व्यवस्थित पार्ने प्रमुख जिम्मेवारी कलैया उपमहनागरपालिकाकै भएको र बसपार्कलाई व्यवस्थित बनाउन अग्रसरता देखाउनुपर्ने जानकारी गराइएको छ । तर, उपमहानगरपालिकाले चासो नदेखाएको बसको टिकट काउण्टरमा खट्ने बस व्यवसायी संघ बाराका कर्मचारी राजेश मण्डलले बताउनुभयो ।

दिनहुँ ६० भन्दा बढी संख्यामा बस, ट्रकलगायतका सवारीसाधन बसपार्कमै पार्किङ हुने गर्दछ । बसपार्कको लागि ठाउँ पर्याप्त भए पनि यसको व्यवस्थापनमा कमजोरी देखिएको प्रहरी चौकी बसपार्कका प्रमुख सई लक्ष्मण पाठकले बताउनुभयो । बसपार्कलाई व्यवस्थित पार्न सम्बन्धित वडा कार्यालय, कलैया उपमहानगरपालिकाको ध्यानाकर्षण गराइए पनि अहिलेसम्म समस्या समाधान गर्नेतिर कसैले ध्यान नदिएको उहा“ले बताउनुभयो ।

शहरी विकास मन्त्रालयले कलैया उपमहानगरपालिकाको बसपार्क बनाउन डिपिआर तयार गरेको छ । तर, शहरी विकास तथा भवन निर्माण कार्यालय वीरगञ्जले टेण्डर निकालेर केही काम गरेको दाबी कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले गर्नुभयो । ‘चाँडै नै बसपार्क निर्माण कार्य सुरु हुन्छ,’ उहा“ले भन्नुभयो, ‘शहरी विकास तथा भवन निर्माण कार्यालयसँग समन्वय भइरहेको छ ।’ कहिलेसम्म बसपार्कको काम सुरु हुने हो त्यसमा नगर प्रमुख यादवले स्पष्ट जवाफ दिन चाहनुभएन ।  यात्रु र बस चालकको पीडामा मलम लगाउन र कलैयाको बसपार्कलाई व्यवस्थित बनाउन उपमहानगरपालिका प्रयासरत रहेको उहा“ले बताउनुभयो । नगरपालिकाले बसपार्क निर्माण गराउन तदारुकताका साथ लागेको नगर प्रमुख यादवले जिकिर गर्नुभयो । 


Views: 90