16th May | 2021 | Sunday | 6:33:20 PM

कोरोना रोकथाममा स्थानीय निकायको तयारी फितलो

प्रकाश मैनाली   POSTED ON : बैशाख ३, २०७८ (९:१० AM)

कोरोना रोकथाममा स्थानीय निकायको तयारी फितलो

सर्लाही । हाल नेपालमा दैनिक पाँच सयको हाराहारीमा कोरोना संक्रमित भेटिरहेको बेला सर्लाहीमा भने यसको तयारी सुरु भएको देखिँदैन । हालसम्म सर्लाहीमा आइसीयु तथा भेन्टिलेसनसमेत व्यवस्था पनि भएको छैन । जसले गर्दा महामारीमा बिरामी जटिल अवस्थामा पुगिहाले बाहिर लैजानुको विकल्प छैन भने सबै पालिकाले कोभिड अस्पतालसमेत सञ्चालन गर्न सकेका छैनन् । 

प्रदेश सरकारले सबै जिल्लामा पिसिआर मेशिन जडान गर्ने निर्णय गरेको भए पनि हालसम्म जडान भएको छैन । अर्कोतिर पालिका तथा सरोकारवाला सबैले क्वारेन्टिन व्यवस्थापनमा समेत ध्यान दिएको देखिँदैन । सर्लाहीमा कोरोना महामारी भयावह अवस्थामा पुग्यो भने के गर्ने भन्नेमा सबै अन्योलमा रहेका छन् । माथिबाट जस्तो निर्देशन आउँछ, आफूहरूले त्यस्तै तयारी गर्ने जिल्ला अस्पताल सर्लाहीका प्रमुख डा. सञ्जीव सिंहको कथन छ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण भयावह रूपमा बढिरहेको अवस्थामा सर्लाहीमा भने कुनै चेकजाँचबिनै मानिसहरू नाका वारपार गरिरहेका छन् ।

अतः यसको नियन्त्रण तथा समन्वय गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय भने पछिल्लो परिवेशलाई हेरेर कार्यक्रम गर्दा भिडभाड कम गर्ने तथा मेला महोत्सव नगर्न निर्देशन दिनुबाहेक अरू केही गरेको देखिँदैन । जसले गर्दा महामारीले यहाँ ठूलो रूप लिएमा यसको नियन्त्रण गर्न झन् गाह्रो हुने देखिन्छ । गत वर्षको फितलो तयारी र स्वास्थ्य योजनाबाट पाठ सिक्दै यष वर्ष तयारी धेरै हुनुपर्नेमा हालसम्म पनि त्यसो नभएको हो । सर्लाहीमा पनि महामारी बढेमा गत वर्ष जस्तो भौतारिनु र तयारी नपुगेको भनेर पन्छिनुबाहेक अरू उपाय हुँदैन ।


Views: 129