खाल्डाखुल्डीका कारण राजमार्गमा दुर्घटना

प्रकाश मैनाली   POSTED ON : भदौ २९, २०७८ (४:०५ PM)

खाल्डाखुल्डीका कारण राजमार्गमा दुर्घटना

सर्लाही । सर्लाहीमा पूर्व–पश्चिम राजमार्गका खाल्डाखुल्डीका कारण सवारी दुर्घटना बढेको छ । मर्मत सम्भार गरिएको केही सातामै राजमार्गको दर्जनौँ स्थानमा ठूल्ठूला खाल्डो परेका छन् । 

चौविसै घण्टा ब्यस्त रहने हाईवेमा ‘ज्यानमारा’ खाल्डो बनेपनि समयमै मर्मतका लागि सम्वन्धित निकायले चासो नदिएको यात्रु र सवारी चालकहरुले गुनासो गरेका छन् । रानिगन्ज चौकदेखि केही मिटर पश्चिमतर्फ राजमार्गमै ठूलो खाल्डो परेपछि सवारी दुर्घटना नहोस् भनेर ढुङ्गाले घेरेर राखिएको छ । यस्तै, जिल्लाको लालबन्दी, नवलपुर, हरिवन, बागमती लगायतका स्थानमा पनि राजमार्गमा खाल्डो परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख केदार दोङले पछिल्लो समयका अधिकांश दुर्घटना खाल्डाखुल्डी छल्नेक्रममा भएका पाइएको बताउनु भयो ।

 उहाँले राजमार्गसँगै पुलहरु पनि गाडी गुडाउनै नमिल्ने अवस्थामा पुगेका बताउनु भयो । पूर्व–पश्चिम राजमार्गमा पर्ने हरिवनस्थित चापिनी पुल अत्यन्त जीर्ण अवस्थामा पुगेको छ । राजमार्गमा तीव्र गतिमा सवारी साधन गुड्ने हुँदा खाल्डाखुल्डीकै कारण अनियन्त्रित भएर दुर्घटनामा पर्ने गरेको स्थानीयले बताएका छन् । राजमार्गका खाल्डाखुल्डी साउन अन्तिमतिर मात्रै टालटुल पारिएको थियो । यातायात व्यवसायीका अनुसार  सडकको खाल्डाखुल्डीका कारण दुर्घटनासँगै टायर कट लाग्ने, पट्टा भाँचिने जस्ता समस्या बढेको गुनासो गरेका छन् । 

जीर्ण सडककै कारण सवारी मर्मतमा खर्च बढेको व्यवसायीको भनाइ छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख नरेश प्रसाद केशरीले कार्यालयलाई खाल्डाखुल्डी पर्दा पुर्ने जिम्मेवारी मात्रै रहेको र खाल्डाखुल्डी परेको स्थानहरुमा पटक–पटक पुर्दै आइरहेको बताउनु भयो । उहाँले राजमार्ग मर्मतका लागि विश्व बैङ्कमार्फत ठेक्का लागेको तर ठेकेदारले काम नगरेकाले सम्भावित दुर्घटनालाई मध्यनजर गरी कार्यालय आफैले काम गर्दै आइरहेको बताउनु भयो । सडक डिभिजन प्रमुख केशरीले बागमती क्षेत्रमा धेरै नै खाल्डाखुल्डी परेकाले टालटुलको काम गर्दा इमोल्सनको अभाव भएको र अब तत्कालै त्यसको व्यवस्था गरी पानी पर्न रोकिएको मौका पारेर खाल्डो पुर्ने काम अघि बढाइने बताउनु भयो ।


Top