माओवादी केन्द्र पार्टी नै रहँदैन : बस्नेत

पुरन साह   POSTED ON : आश्विन ४, २०७८ (५:४२ AM)

माओवादी केन्द्र पार्टी नै रहँदैन : बस्नेत

जनकपुरधाम । नेकपा एमालेका सांसद महेश बस्नेतले माओवादी केन्द्र पार्टी नै नरहने दाबी गर्नुभएको छ । जनकपुरधाममा राष्ट्रिय युवा संघ नेपालको धनुषा कार्यालयको समुदघाटन गर्दै बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनाएर आफ्नै श्रीमतीलाई मानपदवी दिन लगाएको भन्दै श्रीमती, बुहारी र छोरीलाई मात्र माया गरेर कम्युनिष्ट आन्दोलन बन्न नसक्ने बताउनुभयो । 

प्रचण्डको स्वार्थी र परिवार प्रवृत्तिले वामपन्थी धारलाई कमजोर बनाएकाले उहाँको पार्टीलाई विघटन हुनबाट कसैले रोक्न नसक्ने उहाँको ठोकुवा छ । परमादेशको सरकार बनाउन संवैधानिक इजलासमा बसेका सबै न्यायाधीशहरू, मुद्दा हाल्ने निवेदकदेखि मुद्दा लड्ने वकिलसम्मले मानपदवी पाएको भन्दै बस्नेतले मानपदवीमा समेत भ्रष्टाचार भएको बताउनुभयो ।

 प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल जाँदैमा पार्टीलाई केही नहुने भन्दै बुढाहरू गए पनि उहाँका सम्पूर्ण होनहार युवाहरू एमालेमै रहेकाले पार्टी झन् मजबुत हुने उहाँको तर्क छ ।


Top