सर्लाही कांग्रेस क्रियाशील सदस्यताका विषयमा विवाद, एक अर्काविरुद्ध प्रदर्शन

हिमालय टाइम्स   POSTED ON : आश्विन ७, २०७८ (७:१५ PM)

सर्लाही कांग्रेस क्रियाशील सदस्यताका विषयमा विवाद, एक अर्काविरुद्ध प्रदर्शन

सर्लाही । नेपाली कांग्रेस सर्लाहीका नेता, कार्यकर्ताबीच सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा रँडाको मच्चिएको छ । पार्टीको क्रियाशील सदस्यताको विषयलाई लिएर गएको मंगलवार पार्टी नेता एवं प्रदेश २ सरकारका महिला, बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह र बरहथवा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष लखिन्द्र महतोबीच केन्द्रीय पार्टी कार्यालयमै विवाद भएको थियो । 

सो घटनापछि पार्टी जिल्ला सभापति नागेन्द्र कुमार राय पक्षीय मन्त्री सिंह र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय निकट मानिनु हुने वडाध्यक्ष महतो पक्षले आज एक अर्काविरुद्ध पार्टी कार्यालयमा प्रदर्शन गरेको छ । दुवै समूहले प्रदर्शनका लागि ठूलो संख्यामा नेता, कार्यकर्ता काठमाण्डौं उतारेका छन् । यहीँबाट गाडी रिर्जभ गरेर कार्यकर्ताहरु काठमाण्डौं लगिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूहले नेता प्रकाश मान सिंह, शेखर कोइराला, सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंह, पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय लगायतको उपस्थितिमा प्रदेशका मन्त्री सिंहले आफ्नो कार्यकर्तामाथि हातपात गरेको भन्दै प्रदर्शन गरेको छ । सो प्रदर्शन लगत्तै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट मन्त्री सिंह पक्षले पनि जुलुस प्रदर्शन गरेको छ । मन्त्री सिंहसँगै प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहा, नेता जंगिलाल राय, हरेश महतो लगायतको उपस्थितिमा प्रदर्शन गरिएको हो । पौडेल पक्षिय कांग्रेस सर्लाहीका पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण रायले क्रियाशील सदस्यता विवादमा धाँदली भइरहेको बताउनुभयो । गतल बाटोबाट क्रियाशील सदस्यता वितरण गरिएको भन्दै गुनासो राख्न खोज्दा मन्त्री सिंहले आफ्नै कार्यकर्ता तथा वडाध्यक्षमाथि हातपात गरेको रायले आरोप लगाउनु भएको छ । (बाईट १) यता, देउवा निकट कांग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार रायले भने जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगिसकेको भएपनि विवाद झन बढाइएको बताउनुभयो । 

उहाँले प्रदेश सरकारका मन्त्री वीरेन्द्र प्रसाद सिंह र वडाध्यक्षबीचको विवाद सांसद अमरेश कुमार सिंहद्धारा सुनियोजित रुपमा गराइएको आरोप लगाउनु भएको छ । (बाईट २) पछिल्लो घटनापछि कांग्रेस सर्लाहीको क्रियाशील विवाद झन् पेचिलो बनेको छ । सर्लाहीमा मुख्यगरी २ नं. क्षेत्र र ४ नं. क्षेत्रमा क्रियाशील सदस्यता विवाद छ । यसैबीच, पार्टी जिल्ला सभापति नागेन्द्र कुमार राय र ४ नं. क्षेत्रका क्षेत्रीय सभापति राम आश्रय साहले आज बेग्लाबेग्लै प्रेस विज्ञप्ती निकालेर सांसद अमरेश कुमार सिंहको उक्साहटमा मंगलवारको घटना भएको आरोप लगाउँदै उहाँमाथि कारवाहीको माग गर्नुभएको छ ।


Top