उत्पादन दिने बेलामा धानबालीमा अनेक रोग

प्रकाश मैनाली   POSTED ON : आश्विन ८, २०७८ (३:५४ PM)

उत्पादन दिने बेलामा धानबालीमा अनेक रोग

सर्लाही । मुख्य खाद्यान्न बालीको रुपमा रहेको धान बालीमा रोग लागेपछि किसान धेरै चिन्तामा परेका छन् । अभावको बिच गरिएको खेतीमा समेत उत्पादन दिने बेलामा रोग लागेपछि किसान भने आफ्नो भोक कसरि मेटाउने ? भन्ने चिन्तामा परेका छन् । यसै बिचमा सर्लाहीका बिभिन्न स्थानमा किसानले लगाएको बिउमै किसान ठगिएपछि झनै चिन्ता थपिएको छ ।

धान बालीमा बिभिन्न रोग 

प्रसिद्ध नेपाली उखान नै छ , चिनी पनि धेरै खायो भने तितो हुन्छ भनजस्तै सर्लाहीका किसानलाई आफुले लगाएको धान बालीमा पानी धेरै रहेर बिभिन्न रोग लागि रहेको छ । धान बालीलाई उत्पादन राम्रो दिन पानी आवश्यक भएपनि धेरै पानीले गर्दा बिभिन्न रोग लाग्न थालेको छ ।

सर्लाहीका किसानले लगाएको धानमा बिभिन्न रोग लागेकाले किसान चिन्तीत भएका छन् । अहिले किसानले लगाएको धानमा पात बेरुवा, गोवारो रातो तथा सेते रोग लागेको छ ।  उत्पादन दिने बेला भएको धानमा बेरुवा, गोवारो तथा रातो तथा सेते रोग लागेपछि किसानको चिन्ता बढेको छ । रोगका कारण उत्पादन घट्ने र लगानी समेत डुब्ने पिरलले उनीहरूलाई तनाव दिएको छ । लगातार पानी जमिरहेकाले गोवारो, रातो तथा सेते रोग लगोको सर्लाही हरिपुरका कृषि शाखा प्रमुख अम्बिका मैनालीले बताउनुभयो । धान लगाएको बेलादेखि नै खेतमा पानी नसुकेकाले यस्तो रोग लागेको प्राविधिकरूको भनाइ छ । राम्रो उत्पादनका लागि एकपटक खेत सुक्नुपर्ने भए पनि यसवर्ष सुक्न नपाएकाले समस्या भएको प्रमुख मैनाली बताउनुहुन्छ । यस अवस्थामा किसानले आफ्नो बालीमा बिषादी छर्नु आवश्यक रहेको उहाँको भनाई छ ।

धानको बालामा गुदी नलाग्दा किसान चिन्तित

सर्लाहीको ईश्वरपुर नगरपालीका १३ श्रीनगरका किसानले लगाएको धानको बालामा गुदी  नलाग्दा किसान चिन्तीत भएका छन् । स्थानिय बिउ बिक्रेताको बाट किनेर लगाएको धान नफल्दा आफुहरु चिन्तीत भएको स्थानिय किसान राज कुमार महतो बताउनु हुन्छ । स्थानिय बिउ बिक्रेताले धेरै फल्ने भनेर दिएको बिउ रोप्दा अहिले बालामा गुदिनै  नपसेको महतोको भनाई छ । आफुले एग्रोभेट संचालकको सल्लाह अनुसार खाद मल हालेको भएपनी धानको बालामा गुदि नलागेको उहाँको भनाई छ । कार्तिकको पहिलो हप्ता पाक्ने भनेको भएपनी अहिले सम्म दान नलागेको किसानले गुनासो गरेका छन् । यस क्षेत्रका किसानले धेरै उत्पादन दिने आशमा महँगोमा बिउ ल्याएर लगाएको धानले उत्पादन नदिएपछी अहिले किसानले आफु कहाँ दैनिक जसो गुनासो लिएर आउने गरेको ईश्वरपुर १३ का वडा अध्यक्ष राम करण महतो कुशवाहाले बताउनुभयो । यस क्षेत्रमा बिगहु बिगाहमा लगाएको धान बालीमा गुदी नलागेको उहाँले जानकारी दिनु भयो । हावा, पानी अनुकुल बिउ नभए पनि गुदि नलाग्ने गरेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमल देव प्रसाद कुशवाहा बताउनु हुन्छ । पतेरो किराको प्रकोपले समेत बालीमा गुदि नलागने प्रमुख कुशवाहा बताउनु हुन्छ । धेरै कमिशनको लोभमा बिउ बिक्रेताले लुकाई छिपाई यसरि ल्याएको बिउबाट वर्षेनि किसान ठगिँदै आएका छन् ।

रासायनिक मल बिनै धान खेति 

यस वर्ष धान रोप्ने मुख्य समयमा किसानले रासायनिक मल पाएनन् र अहिले सम्म पनि मल पाएका छैनन् । यो यस वर्ष आइपरेको नयाँ समस्या पनि होइन् । बर्षेनि किसानले मल नपाएर सास्ती खेप्दै आए पनि सरोकारवालाको ध्यान पुग्न सकेको छैन ।

किसानहरू मल नपाएर धान उत्पादन घट्ने चिन्तामा छन् । कतिपयले अवैध रूपमा भारतबाट कमसल मलसमेत ल्याएर धानबालीमा हालिरहेका छन् । अनुदानको मल दोब्बरभन्दा बढी मूल्य तिरेर निजी एग्रोभेटबाट किन्ने किसान पनि छन् । सामान्यतया प्रतिकिलो १८ रुपैयाँमा पाउने युरिया मल अहिले किसानहरूले प्रतिकिलो ४० रुपैयाँमा किन्न बाध्य भएका छन् । मल छर्ने मुख्य समयमै नपाउँदा किसानको बिजोग भएको छ  ।

जिल्लामा भारतीय मलको पनि कालोबजारी भइरहेको छ । भारतमा ७ सय नेपालीमा पाउने भारतीय मलको बोरालाई अहिले १८ सय रुपैयाँमा किनबेच भैरहेको छ । किसानको समस्या बुझेर मल उपलब्ध गराउन स्थानीय सरकार उदासीन बनेको देखिन्छ ।

कृषि सामग्री केन्द्रले पर्याप्त मात्रामा मल आपूर्ति नगर्दा मल अभाव भएको हो । यसबेला कृषि सामग्री कम्पनीको नवलपुर शाखामा एक बोरा पनि युरिया मल मौजदात छैन् । कम्पनीका शाखा प्रमुख दीपक थापाले अब केहि दिनमै मल आउने जानकारी दिनुभयो  । असोजमा आएको मल बासमती लगायत ढिलो पाक्ने धानमा मात्र हाल्न मिल्दछ । पहिले पाक्ने धान पाकि सकेको छ भने कतीपय धान पोटाई सकेको छ । उहाँले बेलैमा मल आपूर्ति हुन नसक्दा धान खेतीको ३ महिना असार, साउन र भदौमा कार्यालयमा बस्नै समस्या हुने गरेको बताउनु भयो । ‘धानको मुख्य सिजनमा मल पु¥याउनै सकिएको छैन,’ उहाँले भन्नुभयो, ‘मागअनुसारको आपूर्ति हुन नसक्दा अभाव भएको छ । अहिले किसान र सहकारीका प्रतिनिधिको चापका कारण कार्यालयमा बस्नसमेत समस्या हुने गरेको छ ।’किसानका लागि ल्याइएको अनुदानको मल कृषि सामग्री कम्पनीको शाखाबाट लिँदा भीडभाड हुने भएपछि केही वर्षअघिदेखि कम्पनीले सहकारीमार्फत दिने नीति बनाएको थियो । तर पनि मलको सहज उपलब्धता किसानका लागि हुन सकेको छैन । मल अभावकै कारण कम्पनीले प्रत्येक सहकारीलाई भाग लगाएर मल वितरण गर्दै आएको छ । थोरै परिमाण पाएकोमा पनि कतिपय सहकारीले कालोबजारी गर्ने गरेका छन् ।

मलको सहज आपूर्ति र वितरणका लागि तीनै तहका सरकारले वास्ता नगरेको किसानको गुनासो छ । किसानका लागि आउने मल सहकारीमा नपाउनु, व्यापारीले बढी मूल्यमा मल बिक्री गर्दा पनि कम्पनीका कर्मचारी मौन बस्नुमा उनीहरूको संलग्नता रहेको किसानको आरोप छ । शाखा प्रमुख थापाले आफ्नो एकल प्रयासले मात्र मलको कालोबजारी रोक्न नसकिने बताउनु भयो ।

कागजमै सिमित धानको समर्थन मूल्य 

प्रत्येक वर्ष सरकारले धानको समर्थन मुल्य तोकेपनी किसानले भने पाउन सकेका छैनन् । यस वर्ष समेत सरकारले गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले धानको समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि मोटा धानको प्रति क्विन्टल मूल्य दुई हजार ७५२ रुपैँया र मध्यम किसिमको धानको मूल्य दुई हजार ९०२ रुपैँया तोकिएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष प्रतिक्विन्टल  १७ रुपैँयाले बढी हो । गत वर्ष असारे धान लगाउनुपूर्व नै सरकारले धानको सर्मथन मूल्य तोकेको थियो । गत वर्ष मोटा धान प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धानको मूल्य रु दुई हजार ८८५ तोकिएको थियो । यसरी सरकारले प्रत्येक वर्ष समर्थन मूल्य तोक्ने गरेको भए पनि किसानले भने व्यवसायीले मनोमानी मूल्यमा धान बेच्न बाध्य भएका छन् । यस वर्ष  मोटा धानको प्रतिक्विन्टल मूल्य रु दुई हजार ७५२ त्कयको भए पनि किसानले भने अहिले दुई हजार दुई सय देखि चार सय संममा बिक्री गरिरहनु परेको छ । नेपालको बजार भारतको बजारले निर्धारण गर्ने भएकाले नेपालका भारतको मुल्यले असर पार्ने व्यवसायी बताउने गर्दछन् भने नेपालमा उत्पादीत धानले मात्र यहाँको चामल मिललाई धान नपुग्ने भएकाले समेत भारतको बजारले असर पर्ने जानकारहरु बताउँछन् । भारतबाट चामल तथा धान दुबै आउने हुदाँ यसको मुल्य समेत त्यसकै आधारमा तोकीने गरेको हो । सरकारले अबैध रुपमा नेपाल भित्र्याउने धान तथा चामल नियन्त्रणमा लिनसके किसानले राम्रो मुल्य पाउनुको साथैँ राजस्व समेत बढ्ने देखिन्छ ।

 


Top