किसानका पीडा- रोपाइँ गर्ने बेला मल छैन, धान पाक्ने बेला दानै लाग्दैन

प्रकाश मैनाली   POSTED ON : आश्विन ९, २०७८ (५:२२ AM)

किसानका पीडा- रोपाइँ गर्ने बेला मल छैन, धान पाक्ने बेला दानै लाग्दैन

सर्लाही । मुख्य खाद्यान्न बालीको रूपमा रहेको धान बालीमा रोग लागेपछि पूर्वी जिल्लाका किसान चिन्तामा परेका छन् । अभावबीच गरिएको खेतीमा उत्पादन दिने बेलामा रोग लागेपछि किसान भोक कसरी मेटाउने भन्ने चिन्तामा परेका हुन् । प्रदेश २ का जिल्लाहरूमा यो समस्या बढी रहेको छ । प्रदेश २ कै सर्लाहीमा यो समस्या बढी देखिएको हो । यहाँका किसानले लगाएको बिउमै ठगिएपछि उनीहरूको चिन्ता चुलिएको छ । एकातिर बढी पानी पर्दा विभिन्न रोग लागेर धान कुहिने समस्या देखिएको छ भने अर्कोतर्फ बिउ नराम्रो पर्दा धानमा दाना नलाग्ने समस्या देखिएको छ ।

अहिले किसानले लगाएको धानमा पात बेरुवा, गोवारो, रातो तथा सेते रोग लागेको छ । उत्पादन दिने बेला भएको धानमा रोग लागेपछि किसानको चिन्ता बढेको हो । रोगका कारण उत्पादन घट्ने र लगानीसमेत डुब्ने पीरले उनीहरूलाई तनाव दिएको छ । 

लगातार पानी जमिरहेकाले गोवारो, रातो तथा सेते रोग लागेको सर्लाही हरिपुरका कृषि शाखा प्रमुख अम्बिका मैनालीले बताउनुभयो । धान लगाएको बेलादेखि नै खेतमा पानी नसुकेकाले यस्तो रोग लागेको प्राविधिकरूको भनाइ छ । राम्रो उत्पादनका लागि एकपटक खेत सुक्नुपर्ने भए पनि यसवर्ष सुक्न नपाएकाले समस्या भएको प्रमुख मैनाली बताउनुहुन्छ । यस अवस्थामा किसानले आफ्नो बालीमा विषादी छर्नु आवश्यक रहेको उहाँको भनाइ छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका-१३ श्रीनगरका किसानले लगाएको धानको बालामा गुदी नलाग्दा किसान चिन्तित भएका छन् । स्थानीय बिउ बिक्रेताबाट किनेर लगाएको धान नफल्दा आफूहरू चिन्तित भएको स्थानीय किसान राजकुमार महतो बताउनुहुन्छ । स्थानीय बिउ बिक्रेताले धेरै फल्ने भनेर दिएको बिउ रोप्दा अहिले बालामा गुदी नै नपसेको महतोको भनाइ छ । आफूले एग्रोभेट सञ्चालकको सल्लाह अनुसार खाद मल हालेको भए पनि धानको बालामा गुदि नलागेको उहाँको भनाइ छ । कात्तिकको पहिलो हप्ता धान पाक्ने भए पनि अहिलेसम्म दाना नलागेको किसानले गुनासो गरेका छन् । यस क्षेत्रका किसानले धेरै उत्पादन दिने आशमा महँगोमा बिउ ल्याएर लगाएका थिए । 

अहिले धानले उत्पादन नदिएपछि किसानले आफूकहाँ दैनिकजसो गुनासो लिएर आउने गरेको ईश्वरपुर–१३ का वडा अध्यक्ष राम करण महतो कुशवाहाले बताउनुभयो । यस क्षेत्रमा सयौं बिगामा लगाएको धान बालीमा गुदी नलागेको उहाँले जानकारी दिनुभयो । हावा, पानी अनुकूल बिउ नभए पनि गुदी नलाग्ने गरेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहा बताउनुहुन्छ । पतेरो किराको प्रकोपले समेत बालीमा गुदी नलाग्ने प्रमुख कुशवाहा बताउनुहुन्छ । धेरै कमिसनको लोभमा बिउ बिक्रेताले लुकाई छिपाई यसरी ल्याएको बिउबाट बर्सेेनि किसान ठगिँदै आएका छन् ।

रासायनिक मलबिनै धान खेती 

यस वर्ष धान रोप्ने मुख्य समयमा किसानले रासायनिक मल पाएनन् र अहिलेसम्म पनि मल पाएका छैनन् । यो यस वर्ष आइपरेको नयाँ समस्या पनि होइन । बर्सेनि किसानले मल नपाएर सास्ती खेप्दै आए पनि सरोकारवालाको ध्यान पुग्न सकेको छैन ।

किसानहरू मल नपाएर धान उत्पादन घट्ने चिन्तामा छन् । कतिपयले अवैध रूपमा भारतबाट कमसल मलसमेत ल्याएर धानबालीमा हालिरहेका छन् । अनुदानको मल दोब्बरभन्दा बढी मूल्य तिरेर निजी एग्रोभेटबाट किन्ने किसान पनि छन् । सामान्यतया प्रतिकिलो १८ रुपैयाँमा पाउने युरिया मल अहिले किसानहरूले प्रतिकिलो ४० रुपैयाँमा किन्न बाध्य भएका छन् । मल छर्ने मुख्य समयमै नपाउँदा किसानको बिजोग भएको छ  ।

जिल्लामा भारतीय मलको पनि कालोबजारी भइरहेको छ । भारतमा सात सय नेपालीमा पाउने भारतीय मलको बोरालाई अहिले १८ सय रुपैयाँमा किनबेच भइरहेको छ । किसानको समस्या बुझेर मल उपलब्ध गराउन स्थानीय सरकार उदासीन बनेको देखिन्छ ।

कृषि सामग्री केन्द्रले पर्याप्त मात्रामा मल आपूर्ति नगर्दा मल अभाव भएको हो । यसबेला कृषि सामग्री कम्पनीको नवलपुर शाखामा एक बोरा पनि युरिया मल मौज्दात छैन । कम्पनीका शाखा प्रमुख दीपक थापाले अब केही दिनमै मल आउने जानकारी दिनुभयो  । असोजमा आएको मल बासमतीलगायत ढिलो पाक्ने धानमा मात्र हाल्न मिल्दछ । 

पहिले पाक्ने धान पाकी सकेको छ भने कतिपय धान पोटाइसकेको छ । उहाँले बेलैमा मल आपूर्ति हुन नसक्दा धान खेतीको तीन महिना असार, साउन र भदौमा कार्यालयमा बस्नै समस्या हुने गरेको बताउनुभयो । ‘धानको मुख्य सिजनमा मल पुर्‍याउनै सकिएको छैन,’ उहाँले भन्नुभयो, ‘मागअनुसारको आपूर्ति हुन नसक्दा अभाव भएको छ । अहिले किसान र सहकारीका प्रतिनिधिको चापका कारण कार्यालयमा बस्नसमेत समस्या हुने गरेको छ ।’ किसानका लागि ल्याइएको अनुदानको मल कृषि सामग्री कम्पनीको शाखाबाट लिँदा भिडभाड हुने भएपछि केही वर्षअघिदेखि कम्पनीले सहकारीमार्फत दिने नीति बनाएको थियो । तर, पनि मलको सहज उपलब्धता किसानका लागि हुन सकेको छैन । मल अभावकै कारण कम्पनीले प्रत्येक सहकारीलाई भाग लगाएर मल वितरण गर्दै आएको छ । थोरै परिमाण पाएकोमा पनि कतिपय सहकारीले कालोबजारी गर्ने गरेका छन् ।

मलको सहज आपूर्ति र वितरणका लागि तीनै तहका सरकारले वास्ता नगरेको किसानको गुनासो छ । किसानका लागि आउने मल सहकारीमा नपाउनु, व्यापारीले बढी मूल्यमा मल बिक्री गर्दा पनि कम्पनीका कर्मचारी मौन बस्नुमा उनीहरूको संलग्नता रहेको किसानको आरोप छ । शाखा प्रमुख थापाले आफ्नो एकल प्रयासले मात्र मलको कालोबजारी रोक्न नसकिने बताउनुभयो । 

कागजमै सीमित धानको समर्थन मूल्य

प्रत्येक वर्ष सरकारले धानको समर्थन मूल्य तोके पनि किसानले त्यो पाउन सकेका छैनन् । यस वर्ष सरकारले गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले धानको समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि मोटा धानको प्रति क्विन्टल मूल्य दुई हजार ७५२ रुपैयाँ र मध्यम किसिमको धानको मूल्य दुई हजार ९०२ रुपैयाँ तोकिएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष प्रतिक्विन्टल १७ रुपैयाँले बढी हो । गत वर्ष असारे धान लगाउनुपूर्व नै सरकारले धानको सर्मथन मूल्य तोकेको थियो । 

गत वर्ष मोटा धान प्रतिक्विन्टल दुई हजार ७३५ र मध्यम धानको मूल्य दुई हजार ८८५ तोकिएको थियो । यसरी सरकारले प्रत्येक वर्ष समर्थन मूल्य तोक्ने गरेको भए पनि व्यवसायीले मनोमानी मूल्यमा धान बेच्दा किसान त्यही बढी मूल्य तिर्न बाध्य छन् । यस वर्ष मोटा धानको प्रतिक्विन्टल मूल्य दुई हजार ७५२ ताकिएकोे भए पनि किसानले भने अहिले दुई हजार दुई सयदेखि चार सयसम्ममा बिक्री गरिरहनु परेको छ । 

नेपालको बजार भारतीय बजारले निर्धारण गर्ने भएकाले भारतको मूल्यले असर पार्ने व्यवसायी बताउँछन् । नेपालमा उत्पादित धानले मात्र यहाँको चामल मिललाई नपुग्ने भएकाले समेत भारतको बजारले असर पर्ने जानकारहरू बताउँछन् । भारतबाट चामल तथा धान दुवै आउने हुँदा यसको मूल्यसमेत त्यसकै आधारमा तोकिने गरेको हो । सरकारले अवैध रूपमा नेपाल भिœयाउने धान तथा चामल नियन्त्रणमा लिन सके किसानले राम्रो मूल्य पाउनुको साथै राजस्वसमेत बढ्ने देखिन्छ ।


Top