कांग्रेस सर्लाहीमा फेरि विवाद, आज पनि वडा अधिवेशन नहुने

  POSTED ON : मंसिर १०, २०७८ (९:४२ AM)

कांग्रेस सर्लाहीमा फेरि विवाद, आज पनि वडा अधिवेशन नहुने

सर्लाही । नेपाली कांग्रेस सर्लाहीमा फेरि विवाद उत्पन्न भएको छ । संस्थापन पक्ष निकट पार्टी सभापति नागेन्द्र कुमार राय र संस्थापन इतर पक्षका पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहबीच क्रियाशील सदस्यताको विषयलाई लिएर पुनः विवाद सिर्जना भएको हो । केन्द्रीय निर्वाचन समितिले ४ दिनसम्म दुवै समूहका नेताहरुलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलमा राखेर विवाद समाधान गरी जिल्ला पठाएको थियो । सोही अनुसार तेस्रो पटक खटाइएका निर्वाचन अधिकृत भरत राउतले आज जिल्लाको २० वटा पालिकाका २०० वटै वडामा वडाअधिवेशन गराउने तयारी गर्नुभएको थियो । तर हिजो दिउँसोबाट दुई समूहबीच फेरि क्रियाशील सदस्यताको विवाद उत्पन्न भएपछि आज पनि वडा अधिवेशन नहुने निश्चित भएको हो । पूर्व जिल्ला सभापति लक्ष्मण रायले जिल्ला सभापतिले फर्जी क्रियाशील सदस्य थपेको पाइएकाले, यही अवस्थामा अधिवेशन हुन नसक्ने बताउनुभयो । केन्द्रीय नेता कृष्ण प्रसाद सिटौला र रमेश लेखकको हस्ताक्षरबाहेकका क्रियाशील सदस्यहरु नथप्ने सहमती गरेर आएपनि अहिले बिना नम्वर र बिना हस्ताक्षरको क्रियाशील सदस्यहरु थप गरिएको उहाँले आरोप लगाउनु भएको छ । यस्तै, गोलप्रथाबाट शिक्षकहरुलाई मतदान अधिकृत खटाउने निर्णय गरेर आएपनि जिल्ला सभापतिले आफ्नो हिसाबले मतदान अधिकृतहरुको सूची तयार पारेको उहाँले बताउनु भएको छ ।

यता, जिल्ला सभापति नागेन्द्र कुमार रायले भने सबै सहमती भइसकेको अवस्थामा फेरि बखेडा झिकेर सर्लाहीमा अधिवेशन गराउन नदिने षडयन्त्र गरिएको बताउनु भएको छ । उहाँले कहाँ रु के कती रु क्रियाशील सदस्य थपिए भन्नेबारेमा आफूलाई जानकारी नरहेको बताउनुभयो । सर्लाहीमा यसरी दुई पक्षको टकराबले कांग्रेसको अधिवेशन अन्यौलमय बनेको छ । यसअघि खटाइएका निर्वाचन अधिकृत विनोद कार्की र दीवाकर राज पाण्डे दुई पक्षबीचको विवादले गर्दा अधिवेशन गराउन नसक्ने भन्दै राजिनामा दिएर जानु भएको थियो । दोस्रो पटक खटाइएका निर्वाचन अधिकृत पाण्डेमाथि कांग्रेसको एक समूहले वडा अधिवेशन घोषणा गरिएको दिन मंसिर २ गते सदरमुकाम मलंगवामा छलफल चलिरहेका बेला हातपात नै गरेको थियो । त्यसपछि केन्द्रीय निर्वाचन समितिले दुवै समूहका नेताहरुलाई काठमाण्डौं बोलाएर सहमती गराई गएको मंगलवार मात्रै जिल्ला पठाइएको भएपनि फेरि यहाँ आएपछि हिजोबाट विवाद सुरु भएको छ ।

Top