सर्लाहीको बलरामा कांग्रेस वडा अधिवेशनमा मन्त्रीका पिएसओले गोली चलाएपछि....

हिमालय टाइम्स   POSTED ON : मंसिर १२, २०७८ (७:०७ PM)

सर्लाहीको बलरामा कांग्रेस वडा अधिवेशनमा मन्त्रीका पिएसओले गोली चलाएपछि....

सर्लाही।  नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीको बलरामा गोली चलेको छ। जिल्लाको बलरा नगरपालिका–९, अचलगढमा वडा अधिवेशनको क्रममा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले गोली चलाएका हुन्।

आइतबार बलारा नगरपालिकाको ९ नम्बर वडाको अधिवेशन स्थलमा पुगेका मन्त्री सिंह र स्थानीय कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि मन्त्रीका पिएसओले एक राउण्ड हवाई फायर गरेको स्रोतले जनाएको छ।

स्थानीय कांग्रेस कार्यकर्ताका अनुसार पूर्व वडासभापति मतदानस्थलमा उपस्थित नभएपछि निर्वाचन प्रकृया नै अन्योलमा परेको अवस्थामा मन्त्री सिंंह केही कार्यकर्ता लिएर अचलगढ मतदान केन्द्र पुगेका थिए ।

मतदान अधिकृतलाई गालीगलौज गर्दै मतदानस्थलको टेवल कुर्सी फाल्न थालेपछि स्थानीय कांग्रेस नेता कार्यकर्ता मन्त्री सिहं र उनीसगैँ गएका कार्यकर्ता माथि जाइलागेका थिए । सोही क्रममा सिंहसगै‌ रहेका पिएसओ प्रहरी हवल्दार रामचन्द्र खंगले एक राउण्ड गोली चलाएका हुन् । 

यता मन्त्री सिंहले प्रतिनिधिसभाका सांसद अमरेश सिंह पक्षका केही मानिसले आफूखुसी मतदानस्थल कब्जा गर्न खोजेको आरोप लगाएका छन्। 

सर्लाहीमा लामो समयदेखि जिल्ला सभापति नागेन्द्र कुमार राय र संस्थापन ईतर पक्षका पूर्व जिल्ला सभापति लक्ष्मण रायबीच विवाद छ ।


Top