कांग्रेसको क्षेत्रीय अधिवेशन आज, जसरी पनि अधिवेशन गराउन केन्द्रबाटै निर्देशन

  POSTED ON : मंसिर २०, २०७८ (११:२८ AM)

कांग्रेसको क्षेत्रीय अधिवेशन आज, जसरी पनि अधिवेशन गराउन केन्द्रबाटै निर्देशन

सलाही । नेपाली काँग्रेस सर्लाहीको क्षेत्रीय अधिवेशन आज गराउने तयारी गरिएको छ । क्षेत्रिय अधिवेशनको पहिलो दिन आज उम्मेदवारहरुको मनोनयन दर्ता हुँदै छ । चारवटै निर्वाचन क्षेत्रको आज एकैसाथ अधिवेशन हुने जिल्ला निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिनुभयो । सर्लाहीमा संस्थापन र संस्थापन इतर पक्षबीच जति पटक छलफल गर्दा पनि सहमती हुन नसकेपछि आज अब अधिवेशन गराउन लागिएको हो । स्रोतका अनुसार कांग्रेसका केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अब पेलेरै भएपनि अधिवेशन गराउन निर्देशन दिनुभएको छ । सर्लाहीमा जिल्ला सभापति नागेन्द्र कुमार राय देउवा निकट र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका हुनुहुन्छ । सर्लाहीमा मुख्यगरी क्षेत्र नं। ४ मा बढी लफडा छ । त्यहाँ त्यसै क्षेत्रका संघीय सांसद डा। अमरेशकुमार सिंह र प्रदेश सरकारका मन्त्री वीरेन्द्र प्रसाद सिंहबीच टकराब छ । अधिवेशनलाई दुवै नेताले आफ्नो प्रतिष्ठानको विषय बनाएका छन् । सर्लाहीमा अब पनि अधिवेशन गरेर प्रतिनिधि चयन नगरे मंसिर २४ गतेबाट सुरु हुने १४ औँ केन्द्रीय महाधिवेशनमा सर्लाही जिल्ला सहभागी नै हुन नपाउने अवस्था रहेको छ । पेलेरै अधिवेशन गराउँदा विवाद तथा झडप हुनसक्ने भन्दै जिल्लामा अधिवेशन हुने स्थलहरुमा सुरक्षा सतर्कता निकै बढाइएको छ । क्षेत्र नं। १ को ईश्वरपुरस्थित बयलवास, क्षेत्र नं। २ को मलंगवास्थित पब्लिक मावि, क्षेत्र नं। ३ को बरहथवा र क्षेत्र नं। ४ को गोडैतास्थित रामवनमा क्षेत्रीय अधिवेशनस्थल तोकिएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालय समेत राखिएको मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमै समेत ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

Top