30th September | 2020 | Wednesday | 3:36:16 PM

पाल्पामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

रामचन्द्र रायमाझी   POSTED ON : आश्विन १, २०७७ (१२:२० PM)

पाल्पामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

पाल्पा ।   पाल्पामा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु भएको छ  । तानसेन नगरपालिका ७ का  ५२ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा आज बिहान २ बजे मृत्यु भएको हो । उहाँलाई चार दिनअघि कोरोना पुष्टि भएपछि तानसेन स्थित वृद्धाश्रममा निर्माण गरिएको आइसोलेसनमा सेन्टरमा राखेर उपचार गरिएको थियो । कलेजोमा समस्या देखिएपछि उहाँलाई  भदौ २१ गतेदेखि मिसन अस्पतालमा उपचारका लागि भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।

उहाँमा कोरोना भाइरसको लक्षण देखिएपछि अस्पतालले स्वाब परीक्षणका लागि भैरहवा पठाएको थियो । चार दिनअघि उहाँमा कोरोना पुष्टि भएको हो । उहाँलाई थप समस्या देखिएपछि उपचारका लागि बुटवलको  धागो कारखानास्थित कोभिड अस्पतालमा पठाइएको मिसन अस्पतालका व्यवस्थापक जीवन भट्टराईले बताउनुभयो । बुटवल र भैरहवाका कुनै पनि अस्पतालमा भर्ना नलिएपछि मंगलबार उहाँलाई पुनः तानसेनकै वृद्धाश्रम ल्याएर उपचार गरिएको थियो ।  अहिले उहाँको शवलाई व्यवस्थापन गर्ने तयारी भइरहेको छ  । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यस अघि पूर्वखोलाका एक जना पुरुष र तानसेनकी एक महिलाको मृत्यु भएको थियो ।  


Views: 44