8th March | 2021 | Monday | 5:52:44 AM

खाल्डाखुल्डी पुर्न ट्याक्टर व्यवसायी सहमत

चिसाङ शेर्पा   POSTED ON : आश्विन ७, २०७७ (१२:४८ PM)

खाल्डाखुल्डी पुर्न ट्याक्टर व्यवसायी सहमत

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुख ग्रामिण सडकको खाल्डाखुल्डी पुर्न ट्याक्टर व्यवसायीले निःशुल्क सहयोग गर्ने भएका छन् । अविरल वर्षातका कारण भएको खाल्डाखुल्डी पुर्नमा गाउँपालिकाभित्र रहेका २१ जना ट्याक्टर व्यवसायीले सहयोग गर्ने भएको हो ।

नजिकिदै गरेको चाडबाड र सडकलाई दिगो बनाउने उद्देश्यले मंगलबार गाउँपालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईको अध्यक्षतामा ट्याक्टर व्यवसायीसँग बसेको बैठकले गाउँपालिकाको मुख्य ग्रामिण सडकमा वर्षाको कारण भएको खाल्डाखुल्डीमा ढुंगा रोडा भर्नमा ट्याक्टर व्यवसायीले निःशुल्क सहयोग गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अनुसार २१ जना ट्याक्टर व्यवसायीको एक÷एक वटा ट्याक्टरले तीन÷तीन दिन ढुंगा रोडा बोक्नमा निःशुल्क सहयोग गर्नेछ । गाउँपालिकाको विकासमा ट्याक्टर व्यवसायीले देखाएको उदारताप्रति गाउँपालिकाले धन्यवाद प्रकट गरेको छ ।

गाउँपालिकाको प्रमुख ग्रामिण सडकहरु यसअघि पनि सञ्चालन नै भइरहेको छ । गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले भन्नुभयो, “अविरल वर्षातका कारण खाल्डाखुल्डी भएको छ । त्यहाँ ढुंगा रोडा भर्नका लागि ट्याक्टर व्यवसायीले निःशुल्क सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।”

गाउँपालिका अध्यक्ष राईका अनुसार रमाइलो–छितापोखरी, तावाखोला–टुवाखोला, साप्सु–याम्खा, रेग्मीटार–पञ्चमीबजार ग्रामिण सडकको खाल्डाखुल्डीमा ढुंगा रोडा भरिनेछ । नजिकिदै गरेको चाडवाड र सडकलाई दिगो बनाउन गाउँपालिकाले यस्तो उपाय अपनाएको हो ।


 बैठकमा सहभागी गाउँपालिका अध्यक्ष र ट्याक्टर व्यवसायीहरु ।


Views: 244