31st October | 2020 | Saturday | 3:51:07 AM

ड्रागनफ्रुट खेतीबाट राम्रो आम्दानी

केदार कटुवाल   POSTED ON : आश्विन १०, २०७७ (७:०४ PM)

ड्रागनफ्रुट खेतीबाट राम्रो आम्दानी

उदयपुर । फलफूल खेती मध्ये चर्चाको शिखरमा रहेको ड्राइगन फ्रुटको खेती उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बसाहामा सुरु भएको छ । १३ किसिमका फलफूलको मिनिरल पाइने र क्यान्सर रोग निरोधकको रुपमा प्रसिद्धि कमाएको यो फलको माग बजारमा ह्वातै बढेको छ ।

  गरे के हुँदैन र ! कस्ले सक्दैन र ? भन्ने ज्वलन्त उदाहरण बन्नुभएको छ व्यावसायी अरुणा राई । ७ सय रुपैयाँ प्रति केजी र बेर्ना प्रति गोटा २ सयका दरले बेच्दै आउनु भएको राईको राम्रो आम्दानीको श्रोत बनेको छ, ड्रागन फ्रुटको खेती ।

  गोरखा मिलिनियमबाट प्रभावित भइ त्यहिबाट बेर्ना ल्याइ २ बर्ष अघि यो खेती सुरु गर्नुभएको राई बगैँचामा १ सय भन्दा बढी ड्रागन फ्रुटका बोट, अंगुर, एबोकाडो, लिच्चि , अम्बा र कफिकोे खेती छ । अत्यन्तै सुन्दर बगैँचा करिब डेड हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

  राष्ट्रिय खम्बुवान मोर्चाबाट राजनीतिक जीवन सुरु गर्नुभएको राईले १३ बर्ष भुमिगत जीवन बिताएको उहाँले बताउनु भयो । खोटाङ जिल्लाको जन्ते ढुंगा गाउँपालिकाको नेकपा ( माओबादी केन्द्र ) बाट अध्यक्षमा प्रत्यसी राईले झिनो मतले पराजय बेहोरेपछि फलफूल खेतीमा लागेको उहाँको भनाइ छ । दुई कम्युनिष्ट पार्टीको एकीकरण पछि अहिले नेकपाको  १ न प्रदेश कमिटि सदस्यसमेत रहनु भएको छ । 

  राजनीतिक र पेसा ब्यवसायलाई संगै लिएर नजाँदा दुर्घटना हुने मान्यता बनाउनु भएको राइले यस बर्ष २ लाख १० हजारको फल बिक्रि गरेको र १ लाख ५० हजार बेर्नाबाट प्राप्त गरेको सुनाउनु भयो । २ सय पचास बिरुवाको बेर्ना लिइ सकेको र आफ्नो नर्सरीमा करिब १५ सय बिरुवा रहेको उहाँले जानकारी दिनुभयो । ड्रागन फ्रुटले असार देखि भदौसम्म उत्पादन दिने र यो समान्य तरिकाले भण्डारण गर्दा समेत २ हप्ता केही नहुने उहाँले बताउनु भयो ।

  यहाँको हावा पानी र माटो यसको लागि उपयुक्त भएकोले आफुले अहिलेसम्म रासायनिक मल, किटनाशक ओखति र अन्य औषधि प्रयोग नगरेको किरा र कमिलाको लागि बिरुवाको फेदमा सयपत्री फूल र जरेसिमि रोपेको बताउनु हुन्छ ।

  सबैलाई फलफूलको खेतीमा लाग्न प्रोत्साहित गर्दै आएको बताउँदै घरमै बस्ने कामकाजी महिलाहरुबाट पनि संभव हुने उहाँको धारणा रहेको छ । असारदेखि भदौ सम्मा यसबाट आफुलाई ५ लाख आम्दानी हुने उहाँले सुनाउनु भयो ।

  राज्यले कृषि तथा फलफूलको खेतीमा थुप्रै अनुदान छुट्याएको सुने पनि आफुलाई कतैबाट यस्तो अबसर नपाएको उहाँको गुनासो छ । अनुदान र आर्थिक सहायताका लागि पुरुष नै हुनु पर्छ कि उहाँको प्रश्न थियो ।

Views: 75