31st October | 2020 | Saturday | 4:58:07 AM

डा केसीको समर्थनमा उत्रिए बिराटनगरका युवा

जीना कार्की   POSTED ON : आश्विन १०, २०७७ (७:३२ PM)

डा केसीको समर्थनमा उत्रिए बिराटनगरका युवा

विराटनगर । डा. गोविन्द केसीको सत्याग्रहलाई समर्थन गर्दै यतिबेला देशका धेरैजसो ठाउँहरुमा आन्दोलन भइरहेको छ । चिकित्सा शिक्षामा सुधारको माग राख्दै सत्याग्रह थाल्नु भएको उहाँको अनशनको १३ औं दिन पुगेको छ । डा.केसीको जीवनरक्षा र केसीले अघि सार्नु भएको मागको समर्थन गर्दै आज बिराटनगरका युवाहरुले पनि फरक ढंगले ऐक्यबद्धता जाहेर गरेका छन् । सत्याग्रहको साथमा १०० मिनेट भनेर समर्थनका बिभिन्न नारासहित युवाहरु सडकमा रिले अनशन बसेका थिए ।

 युथ कांग्रेसको अगुवाईमा भएको यस कार्यक्रममा बिराटनगरका बिभिन्न क्षेत्रका युवाहरुले सहभागिता जनाएका छन् ।


यसरी भेला भएका युवाले सरकारलाई वाक स्वतन्त्रता भनेको के हो ? भन्दै प्रश्न सोध्नुका साथै जनताको मुख थुन्ने सरकारको पछिल्लो व्यवहार तानाशाही भएको बताएका थिए । युथ कांग्रेस प्रदेश १ का संयोजक सबिन दाहालले डा केसीले उठाउनु भएको मागप्रति ऐक्यबद्धता जनाउनु भएको थियो ।

विरोध प्रदर्शनमा युवाहरुले डा. केसीको फोटोसहितका विभिन्न प्लेकार्ड प्रयोग गरेका थिए । उनीहरुले फेसमास्क प्रयोग गर्नुका साथै यहाँ सयौँ हजारौं डा केसी छन् भन्ने भाव व्यक्त गरेका थिए ।


उपस्थित युवाले कार्यक्रमलाई फरक ढंगले प्रस्तुत गर्नुका साथै  डा केसीको भेषमा र सरकारको बिभिन्न निकाय बनेर रंगकर्मीले शान्तिपुर्ण प्रदर्शन पनि गरेका थिए ।

पछिल्लोसमय डा. केसीको स्वास्थ्य बिग्रदै गएकाले सरकारले छिटो भन्दा छिटो वार्ता गरेर निकास दिनुपर्ने  प्रदर्शनका युवाहरुले माग राखेका थिए ।



Views: 196