18th January | 2021 | Monday | 12:57:36 AM

भोजपुरको महभीर झर्ना पर्यटकीय गन्तव्य बन्दै

निरोज कोइराला   POSTED ON : माघ १, २०७७ (४:५६ PM)

 भोजपुरको महभीर झर्ना पर्यटकीय गन्तव्य बन्दै

भोजपुर । प्रदेश–१ को पहाडी जिल्ला भोजपुरको पश्चिम टेम्के मैयुङ गाउँपालिकामा रहेको महभीर झर्नामा आउने जानेको संख्या बढदै जान थालेको छ ।  

सरकारले सूचीकृत गरेका १ सय पर्यटकीय गन्तव्य मध्ये भोजपुरको टेम्केडाँडाको काखमै रहेको ‘महभीर झरना’ पर्यटक आकर्षण गर्ने मुख्य पर्यटकीय गन्तव्य हो । टेम्के मैयुङ गाउँपालिको क्षेत्रमा रहेको महभीर झरनाले टेम्केमैयुङको सिंगो सुन्दरतालाई झल्काउने गाउँपालिकाका अध्यक्ष ध्रुवराज राई बताउनुहुन्छ । ‘गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा यो झरना छ’, अध्यक्ष राईले भन्नु भयो, ‘यसले सिंगो गाउँपालिकाको इज्जत धान्ने काम पनि गरेको छ ।’ राईले कुनै बेला छिटफुट स्थानीय घण्टौंसम्म सुन्दरता हेरेर मोहित हुने यो झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको बताउनु भयो । 

झरनाको सुन्दर दृश्यावलोकनले त्यहाँ पुग्ने जो कोहीलाई पनि प्रफुल्लित तुल्याउने स्थानियको भनाई रहेको छ । एकनासले छल्कँदै बग्ने झरनाले धेरै तनावका बीचमा पुग्नेको मनलाई धेरै शान्त पार्न पनि सहयोग गरिरहेको हुन्छ । झरनाको सुन्दरता देखेपछि जस्तै तनाव पनि एक छिनमै चट् हुने भोजपुर बोखिमका आशिष राईको अनुभव छ ।

भोजपुर हुदै गएको पुष्पलाल मध्य पहाडी राजमार्गको निर्माण कार्य भै रहेको र सडक संजाल पनि सहज हुदै गएकाले झर्नाको अवलोकन गर्नेको संख्यामा समेत अव बृद्धि हुने साथीभाइसँग टेम्केडाँडा घुम्न जाँदा झरना दुश्य हेर्न पुगेका भोजपुरको छिनामखुका अर्जुन बस्नेतको धारणा छ । छिमेकी जिल्ला खोटाङ र भोजपुरको सीमानामा पर्ने भएकाले पनि पर्यटकको आगमनमा पछिल्लो समय वृद्धि हुन थालेको गाउँपालिकाले जनाएको छ ।

करिब २० मिटरको उचाइको भीर हुँदै एकनासले झर्ने झरना भीर मौरीको गोलाजस्तै देखिने गरेको छ । झरना झर्ने भीरको आसपासमा भीरमौरी र त्यसको मह पनि काढ्न पाइने भएकै कारण झरनाको नाम ‘महभीर’ रहेको स्थानीयको भनाई रहेको छ । टेम्के मैयुम गाउँपालिकाको केन्द्र अन्नपूर्ण देखि करिब तीन किलोमिटरको दूरीमा रहे पनि मुख्य पर्यटकीय गन्तव्यकारूपमा विकास गर्न पर्याप्त पूर्वाधार र प्रचारप्रसारको अभावमा हुँदा झरना ओझेलमा परिरहेको स्थानीय सरोज बस्नेतले बताउनु भयो ।

‘झरनालाई पर्यटकको भ्रमण थलो बनाउन अझै व्यवस्थित भौतिक पूर्वाधारको निर्माण गर्नु पर्नेछ’, गाउँपालिका अध्यक्ष राईले भन्नु भयो, ‘पानीको बहावलाई कुलोमार्फत ल्याउँदा झरना ६५ मिटर अग्लो र झनै आकर्षक बन्छ ।’ गाउँपालिकाले यसका लागि आवश्यक स्रोत र श्रम जुटाउने प्रयास गरिरहेको छ । 


Views: 59