11th April | 2021 | Sunday | 5:43:37 PM

विद्यालय भवन निर्माणमा ५७ लाख सहयोग, मालाले पुरिए तामाङ दम्पति

चिसाङ शेर्पा   POSTED ON : फाल्गुन १७, २०७७ (९:०९ PM)

विद्यालय भवन निर्माणमा ५७ लाख सहयोग, मालाले पुरिए तामाङ दम्पति

खोटाङ । खोटाङमा विद्यालयको पक्की भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने दातालाई सम्मान गरिएको छ । 

ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा अवस्थित कालिका माध्यमिक विद्यालयलाई ५७ लाख सहयोग गरेका बाकाचोलका सन्तवीर तामाङ र उहाँकी श्रीमती शान्तिमाया तामाङलाई विद्यालयले सम्मान गरेको हो ।

२०७२ बैशाख १२ गते गएको विनाशकारी भुकम्पले विद्यालयको सम्पूर्ण भौतिक संरचना तहसनहस पारी विद्यार्थीहरु खुल्ला आकाशमुनि पढ्नुपर्ने बाध्यत्मक अवस्थालाई अन्त्य गर्ने दृढ सोचका साथ आठ कोठे पक्की भवन निर्माण, गरीब छात्रछात्राहरुलाई पोशाक वितरण, जेहेन्दार विधार्थीहरुलाई नगद छात्रवृत्तिलगायत विविध क्षेत्रमा महत्वपूर्ण योगदान दिई विद्यालयको सर्वाङगीण विकासमा उल्लेख्य भूमिका निर्वाह गरेकाले माविको ५४ औं वार्षिक उत्सवको अवसरमा आइतबार सम्मान गरिएको विद्यालयले जनाएको छ । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा बाकाचोलका वडाध्यक्ष समेत रहनुभएको तामाङ र उहाँको श्रीमतिलाई ऐसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले दोसल्लाओढाई सम्मानपत्र प्रदान गर्नुभयो । यस्तै, गाउँपालिकाका शिक्षा शाखा संयोजक विनेश कुमार श्रेष्ठ, माविका प्रधानाध्यापक धर्मानन्द घिमिरे, शिक्षक, जनप्रतिनिधि, स्थानीयहरुले खादा,माला लगाइ दिंदा तामाङ दम्पक्तिको गला मालाले पुरिएको थियो । 

२०७३ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट आठ कोठे भवनका लागि ५९ लाख वजेट परेको थियो । शिक्षा कार्यालयले विना अध्ययन तराई र पहाडलाई एकै किसिमका ेवजेट वितरण गर्दा विद्धालय भवन अलपत्र पर्ने अवस्था देखिएको र भवन बनाउनुपर्छ भनेर ऋण तथा सापटी मागेर भवन निर्माणलाई सम्पन्न गरेको विव्यास अध्यक्ष तथा वडाध्यक्ष तामाङले बताउनु भयो । 

तामाङका अनुसार ०७४ बाट काम थालेर ०७६ मा सकिएको भवनको रङरोगन गर्नमा वडाको ५ लाख बजेट खर्च भएको छ । भुकम्पबाट जिर्ण बनेको भवनले नयाँभवन पाएपछि पठनपाठनमा सहज हुने देखिएको छ । नवनिर्मित भवनको गाउँपालिका अध्यक्ष निरौलाले उद्घाटन गर्नुभएको थियो ।



Views: 86