11th April | 2021 | Sunday | 5:45:23 PM

भोजपुरमा प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन सुरु

निरोज कोइराला   POSTED ON : फाल्गुन १९, २०७७ (४:०७ PM)

भोजपुरमा प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन सुरु

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर सदरमुकाममा प्रदेश नम्वर १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले बुधवार उद्घाटन गर्नु भयो । 

भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताका लागि रेफ्रि अनुप शाक्यको नेतृत्वमा म्याच कन्ट्रोल एवं अन्तराष्ट्रिय अम्पायर सुमित शाक्य र अम्पायर केदार धिमालको टोली समेत भोजपुर आई सकेको छ । फागुन १९ गतेबाट शुरु प्रतियोगिता फागुन २२ सम्म संचालन हुने छ ।

पूर्व राष्ट्रि«य च्याम्पियन बिकास श्रेष्ठको नेतृवमा राष्ट्रिय च्याम्पियन र युवाहरु सम्मिलित जिल्ला ब्याडमिन्टन संघले भोजपुरको मान सम्मानलाई उच्च बनाउने जुन उद्धेश्य लिएर अगाडी बढे त्यसलाई आफु पनि युवा र ब्याडमिन्टन खेलाडी भएका कारण युवाहरुको उत्साहलाई समर्थन गर्ने उद्धेश्यले प्रतियोगितालाई प्रायोजन गरेको भोजपुर नगरपालिकाका मेयर आलेले बताउनु भयो ।

प्रतियोगिताका लागि प्रदेश नम्वर १ का जिल्लाबाट खेलाडीहरु आई सकेका छन भने भोजपुरका नम्बर एक खेलाडी रत्नजित तामाङ्ग, नविन श्रेष्ठ, पविन लिनथेप, पेम्बा शेर्पा, दिबश शंकर, सुजन श्रेष्ठ, प्रनिश सिंह ठकुरी पनि जिल्ला आई पुग्नु भएको छ । भोजपुर घर हुने महिला नम्बर एक खेलाडी नङ्गशल तामाङ्ग, पूर्व राष्ट्रिय खेलाडी विवेक श्रेष्ठ, बिशाल तामाङ्ग लगायत खेलाडीहरु आफ्नै स्थानमा प्रतियोगिता हुन लागेको र सहभागिता जनाउन पाउने कारण हर्षित देखिनु भएको छ । 

बिभिन्न कारणले लामो समय देखि प्रतियोगितामा सामेल हुन नसकि रहेको अवस्थामा आफनै गृह जिल्लामा प्रतियोगिता संचालन हुने भए पछि आफुहरुलाई पनि गर्व महशुस भएको राष्ट्रिय खेलाडी बिवेक श्रेष्ठले बताउनु भयो । श्रेष्ठले भन्नुभयो, “आफ्नै जिल्ला त्यसमाथि घरकै नजिकमा प्रतियोगिता हुन लागेकोले आफ्नो खेल कौशलता प्रदर्शन गर्न पाउँदा निकै उत्साहि बनेको छु ।” 

पूर्व राष्ट्रिय च्याम्पियन बिकास श्रेष्ठको नेतृत्वमा राष्ट्रिय च्याम्पियन बिवेक श्रेष्ठ, नविन श्रेष्ठ, राष्ट्रिय खेलाडीहरु सहित उर्जासिल युवाहरु सम्मिलित निर्वाचित जिल्ला संघले पहिलो पटक भोजपुर जिल्लामा प्रदेश नम्वर १ स्तरीय प्रतियोगिता संचालन गर्न लागेको हो । 

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुका साथै सरादेवी तामाङ्ग, बिकास श्रेष्ठ, नङ्गशल तामाङ्ग, विवेक श्रेष्ठ, रत्नजित तामाङ्ग, नविन श्रेष्ठ जस्ता राष्ट्रिय च्याम्पियनहरु उत्पादन गरेको भोजपुरमा ठुला प्रतियोगिताहरु नभईरहेको अवस्थामा यस ब्याडमिन्टन प्रतियोगिताहरुले खेलाडी उत्पादनमा निकै नै सहयोग पुग्ने भोजपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पूर्व राष्ट्रिय च्याम्पियन बिकास श्रेष्ठले बताउनु भयो । 

प्रदेश स्तरीय प्रतियोगिता संचालनका लागि भोजपुर नगरपालिकाले ७ लाख रुपैया सहयोग गर्ने छ भने अन्य खर्च संघ संस्था, देश बिदेशमा रहेका ब्याडमिन्टनप्रेमीहरु लगायतबाट सहयोग लिईने आयोजक पक्षले जनाएको छ । प्रतियोगिता संचालनका लागि करिव १२ लाख लाग्ने अनुमान गरिएको छ । आयोजकका अनुसार भोजपुर नगरपालिकामा रहेको भोजपुर बहुमुखी क्याम्पसको जग्गामा निर्मित कभर्डहलमा संचालन हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यु–१७ र यु–१३ ब्वाईज तथा गल्र्स गरि ९९ खेलाडीहरुले कुल ७ बिधामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगितामा पुरुष युगलका शिर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार, पुरुष एकलमा शिर्ष तीन स्थान प्राप्त गर्नेले २५ हजार, १५ हजार र ७ हजार ५ सय, महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले २० हजार, १० हजार र ५ हजार तथा यु – १७ ब्वाइज तथा गल्र्स तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले १५ हजार, ८ हजार र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको 

छ । 

यु–१३ का खेलाडीहरुलाई प्रोत्साहन स्वरुप शीर्ष तीनका खेलाडीहरुले नगद ५ हजार, ३ हजार र १५ सय सहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगतालाई नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने छ । 



Views: 242