16th May | 2021 | Sunday | 6:26:28 PM

इलाममा मौरीपालन व्यवसाय फस्टाउँदै

प्रकाश नेपाल   POSTED ON : चैत्र २९, २०७७ (३:३१ PM)

इलाममा मौरीपालन व्यवसाय फस्टाउँदै

इलाम । पछिल्लो समय हरेक पेशा र व्यवसाय आधुनिक तरिकाबाट हुन थालेको छ । यसै क्रममा मौरीपालन व्यवसाय पनि आधुनिक तरिकाबाट हुन थालेको हो । इलाममा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ । कम मिहिनेतमा उत्पादन र उच्च मूल्य पाउन थालेपछि किसानहरुको आकर्षण मौरीपालनमा बढेको हो । स्थानीय सेरेना जातको मौरीबाट उत्पादित मह प्रतिकिलो एक हजारदेखि एक हजार ५०० रुपैयाँसम्म बिक्री हुने गरेको छ । यहाँ उत्पादित मह स्थानीय बजारका साथै झापा, काठमाडौं र भारतमा समेत बिक्री हुने गरेको छ । जिल्लाको रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका, इलाम नगरपालिका, सूर्योदय नगरपालिकाको तल्लो भागमा व्यावसायिक रुपमा मौरीपालन गरिन्छ । मौरीपालनलाई व्यवस्थित गर्न रोङ गाउँपालिकाले मौरी विकास शाखा स्थापना गरेको छ । कृषि विकास शाखाबाट कार्यक्रम कार्यान्वयन हुने गरी तालिम दिएपछि मौरीपालनमा किसानहरुको आर्कषण बढेको गाउँपालिकाका प्रवक्ता मणिकुमार स्याङ्बोले बताउनुभयो ।

इलामको ग्रामीण क्षेत्रमा परम्परागत रुपमा मौरीपालन गर्दै आएका किसानहरुले घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तह र अन्य संस्थाहरुले तालिम दिएपछि आधुनिक घारहरु राख्ने गरेका छन् । रोङ गाउँपालिकाको ६ वडामा २०० भन्दा बढी व्यावसायिक मौरीपालक किसान छन् । यहाँका बालीमा विषादी प्रयोग नहुने र खुला चरिचरण हुने भएकाले मौरीका लागि उचित स्थान रहेको बताइन्छ ।

चुरे क्षेत्रका जमिनमा खेतीपातीको सट्टा मौरीलाई चाहिने बोटबिरुवा लगाउँदा भू–क्षय समेत नियन्त्रण हुने भएकाले चुरे संरक्षणसँगै किसानहरुको आम्दानी वृद्धिका लागि मौरीपालनलाई प्रवर्द्धन गरिएको गाउँपालिका अध्यक्ष शम्शेर राई बताउँनुहुन्छ । तीन वर्षअघि स्थापित मौरी स्रोत केन्द्रले मह संकलन र बजारीकरणको काम गरिरहेको अध्यक्ष राईले बताउनुभयो । 

शुद्ध महको माग बढिरहेकाले आफ्नो कार्यक्रम प्रभावकारी रहेको र जनताले समेत रुचाएको उनको दाबी छ । कार्यक्रमअन्तर्गत शुद्ध मह उत्पादन, मौरीको स्याहार र महको उत्पादन बढाउने विषयमा किसानलाई प्राविधिक सहयोग गर्ने र आगामी दुई वर्षभित्रमा मौरी स्रोत केन्द्र आफैँ आत्मनिर्भर रहने गाउँपालिकाले बताएको छ । 

औषधीय गुणको भण्डार मानिने महबाट मानव शरीरलाई चाहिने काब्रोहाइडेट, प्रोटिन म्याग्नेसियमर भिटामिन, हेमोग्लोबिन र ग्लोकुज पाइन्छ । महलाई रुघाखोकी, कब्जीयत, सुक्खा खोकी, रक्त अल्पता, दुब्लोपन, मोटोपन, मानसिक समस्या, अनिन्द्रा, हाडजोर्नी समस्यालगायतको रोगको अचुक औषधि मानिने गरिन्छ । गाउँपालिकाले मौरीपालनका लागि गत वर्ष १५ लाख र यस वर्ष पनि १५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । सरकारी तथ्यांकअनुसार इलामका दुई हजार किसानले मौरीपालन गरेका छन् । इलाममा वार्षिक २२ मेट्रिक टनभन्दा बढी मह उत्पादन हुँदै आएको छ ।


Views: 93