16th May | 2021 | Sunday | 6:00:26 PM

मौरीपालनलाई व्यावसायिक बनाउन तालिम

चिसाङ शेर्पा   POSTED ON : चैत्र ३१, २०७७ (७:५८ AM)

मौरीपालनलाई व्यावसायिक बनाउन तालिम

खोटाङ । मौरीपालनलाई व्यावसायिक बनाउन खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले मौरीपालनसम्बन्धी तालिमको आयोजना गरेको छ । गाउँपालिकाको सातै वडाका मौरी पालकहरूको लागि गाउँपालिकामा दुईदिने तालिमको आयोजना गरेको हो ।

गाउँपालिकाको सभाहलमा आइतबारबाट सुरु भएको तालिममा ४२ जना मौरीपालन गर्दै आएका कृषकहरूले सहभागिता जनाएका छन् । मौरी विकास केन्द्र गोदावरीबाट अवकाश प्राप्त विज्ञ सीताराम ढकालले तालिमको सहजीकरण गर्नुभएको छ । 

तालिममा मौरीको परिचय, मौरीपालनका लागि हावापानी उपयुक्त छ÷छैन, मौरी चिन्ने तरिका, मह काढ्ने तरिका, रानो बनाउने तरिका, आधार चाका वनाउने, मौरीको गोला निर्धारण गर्ने जस्ता कुरा सिकाइएको छ । सहभागीहरूलाई आधुनिक घारसहित तालिम दिइएको गाउँपालिकाका कृषि शाखा संयोजक सरगम वुढाथोकीले बताउनुभयो । 

मौरीपालनसम्बन्धी व्यावहारिक ज्ञान सिकाइ, आधुनिक घारको प्रयोगमा वृद्धि, मह उत्पादन बढाउन तथा आगामी आर्थिक वर्षमा मौरीपालनसम्बन्धी अनुदानको कार्यक्रम विस्तार गरी मौरीपालक कृषकहरूलाई थप व्यावसायिक बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । तालिम सोमबार समापन भएको छ । 


Views: 104