16th May | 2021 | Sunday | 6:17:20 PM

स्वीस राजदूत मुन्धुम ट्रेल पदमार्गको अवलोकनमा

निरोज कोइराला   POSTED ON : बैशाख २, २०७८ (६:१३ PM)

 स्वीस राजदूत मुन्धुम ट्रेल पदमार्गको अवलोकनमा

भोजपुर । नेपाल सरकारले निर्धारण गरेको १ सय वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकनका लागि स्वीस राजदुत एलिजावेथ भोन क्यापलर पूर्वका जिल्लाहरुमा आउनु भएको छ ।  

खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको रमणीयस्थल चखेवा भञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पापोखरी, सिलिचुङडाँडा लगायतको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले २०७५ सालमा मुन्धुम ट्रेलको अवधारणा अघि सारिएको हो । पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको रमणीयस्थलको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माणको काम शुरु गरिएको मुन्धुम ट्रेल अवलोकन गर्न स्वीस राजदूत एलिजावेथ सहितको टोली भोजपुरका साथै अन्य छिमेकी जिल्ला आई पुग्नु भएको छ ।

भोजपुर आई पुग्नु भएका स्वीस राजदुतलाई भोजपुरको टेम्के मैयुम गाउँपालिकाले समेत चखेवामा स्वागत गर्दे पदमार्ग र पर्यटन प्रवर्धनका बिषयमा छलफल गरेको छ । “स्वीस राजदूतसँग समग्र विकास प्रक्रियाको अवस्थाका साथै विशेषगरी पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको छ ।” गाउँपालिका अध्यक्ष धुर्वराज राईले भन्नु भयो । सोक्रममा स्वीस राजदुतले निर्माणाधीन अवस्थामा रहेको मुन्धुम ट्रेलका लागि स्वीस सरकारको तर्फबाट आवश्यक सहयोग रही रहने बताउनु भएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनु भयो । 

भोजपुर र खोटाङको पर्यटन विकासमा निर्माणधिन मुन्धुम ट्रेलले ठूलो सहयोग पुग्ने गाउँपालिका अध्यक्ष राईको भनाई रहेको छ । 

मुन्धुम ट्रेल नेपाल सरकारले निर्धारण गरेको १ सय वटा गन्तव्य मध्ये सबैभन्दा पहिलो प्राथमिकतामा परेको 

छ । यस वर्ष उक्त पदमार्गको दायाँबायाँ चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्नेलगायतका आधारभूत पूर्वाधारको काम भई रहेको छ । गुराँस, चाँप, कटुस तथा लोक्ताको घना जङ्गल अवलोकन गर्न पाइने मुन्धुम पदयात्रामा डेढ÷दुई घण्टाको दूरीमा परम्परागत गाउँघर भेटिनु अर्को विशेषता रहेको छ । पदमार्गमा पर्ने अधिकांश बस्ती किराँत समुदायको भएको तथा किराँतीको मौखिक ग्रन्थ ‘मुन्धुम’मा किराँती जीवनशैली तथा संस्कार÷संस्कृतिका बारेमा वर्णन हुने भएकाले पदमार्गको नाम मुन्धुम राखिएको हो । 

नेपाल सरकारको पर्यटकीय गन्तब्यमा पर्न सफल किरात संस्कृतिमा आधारित मुन्दुम पदमार्गको प्रचार प्रसार तथा पर्वधनका लागि आगामी बैशाख १८ गतेबाट चौथो मुन्दुम ट्रेल रेसको समेत आयोजना गरिने भएको छ । तावाभञ्ज्याङ देखि सुम्लिखासम्म संचालन हुने ट्रेलरेसको आयोजना रिमाचुङ एजुकेशन एण्ड स्र्पोट एकाडेमी भोजपुरले गरेको हो । 

सहभागिता भएर प्रथम, दोश्रो, तेश्रो र चौथो हुने महिला पुरुष धावकले क्रमशः नगद २९ हजार ९ सय ९९, नगद २५ हजार ५ सय ५५, नगद १९ हजार ९ सय ९९ र नगद १५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । 

 


Views: 111