16th May | 2021 | Sunday | 6:57:16 PM

प्राकृतिक विपत्तिमा परेकालाई राहत वितरण

चिसाङ शेर्पा   POSTED ON : बैशाख २, २०७८ (६:५४ PM)

प्राकृतिक विपत्तिमा परेकालाई राहत वितरण

खोटाङ । प्राकृतिक विपत्तिमा परेका एकसय जनालाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले राहत वितरण गरेको छ । आगलागी, बाढी पहिरो, हावाहुरी, चट्याङ लगायतका प्राकृतिक विपद्मा तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना भएको कोषले स्थापनादेखी हालसम्म सय जनालाई राहत वितरण गरेको हो ।

२०७२ सालमा खोटाङ समाज हङकङको सक्रियतामा आर्थिक संकलन गरेर २०७४ सालदेखि कानुनी प्राप्त भई वितरण गर्दै आएको कोषले २०७४ सालमा १९ परिवारलाई १ लाख ८५ हजार र २०७५ सालमा २४ परिवारलाई १ लाख १८ हजार राहत प्रदान गरेको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किराँतले जानकारी दिनुभयो ।

यस्तै, २०७६ सालमा २७ परिवारलाई १ लाख ५३ हजार तथा २०७७ सालमा ३० परिवारलाई २ लाख ८५ हजार वरावरको राहत वितरण गरिएको छ । कोष स्थापनादेखि हालसम्मको तथ्यांक हेर्दा सबैभन्दा बढि आगलागी, बाढी पहिरो, चट्याङबाट पीडितलाई राहत वितरण गरिएको छ । २०७७ सालमा सवैभन्दा बढी विपद्का घट्ना घटेको छ । 

कोषले आशिंक क्षतिलाई नगद ५ हजार र पूर्ण क्षतिलाई नगद १० हजार राहत वितरण गर्दै आएको छ । भोगेन्द्र राई अध्यक्ष रहेको कोषमा १३ सदस्यीय छन् । जिल्लामा विपद्मा परेकालाई राहत वितरण गर्न सहज होस भनेर दशवटै पालिकामा प्रतिनिधि राखिएको कोषाध्यक्ष राईले बताए । प्रतिनिधिहरुले पीडितको घर आँगनमै पुगेर राहत वितरण गर्दै आएकोे छ । कोषको हङकङ प्रतिनिधिमा खोटाङ समाज हङकङका पूर्व अध्यक्ष तेजप्रकाश राई रहेका छन् ।

जुनसुकै बेला आईपर्ने विपद्मा तत्काल राहत सहयोग उपलब्ध गराउने उद्देश्यले खोटाङ समाज हङकङले स्थापना गरेको जस्तै कोष अन्यले पनि खडा गरेमा विपद्मा परेकाहरुले थोरै भए पनि राहत पाउने थियो ।


 


Views: 83