16th May | 2021 | Sunday | 6:28:31 PM

एक महिनामा तेइस आगलागी करोडौंको क्षति

जीवन शर्मा   POSTED ON : बैशाख ४, २०७८ (९:४३ AM)

एक महिनामा तेइस आगलागी करोडौंको क्षति

ओखलढुंगा । गत विहिवार राती आगलागिका कारण लिखु गाउपालिका अध्यक्ष गोविन्द बहादुर पौडेल र उवाहाका भाई सोही गाउपालिका वडा नम्बर–८ टार केरावारीका वडा अध्यक्ष विशाल पौडेलको घर सखाप भयो । हावाहुरी संगैं परेको चट्याङका कारण विजुलीको तार सट भई सल्कीएको आगो नियन्त्रणमा लिन नसक्दा घर सहित अन्नपात गरी दुइ दाजुभाइको ५० लाखको क्षति भयो । 

विहिवार दिउसो मानेभञ्ज्याङ गाउपालिका –२ वाक्सा स्थित भक्त बहादुर राई र कृष्ण बहादुर राईको मतान सहित ५ वटा घरमा आगोलागि हुँदा करिव २७ लाख बराबरको क्षति भएको थियो । त्यस्तै गत चैत्र महिनामा जिल्लाका विभिन्न स्थानमा आगोलागिका कारण ४ घर जल्दा ३१ लाख भन्दा बढी क्षति भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । विगत एक महिना यता ओखलढुंगाका तेइस स्थानमा आगलागीका घटना हुँदा करोडौंको क्षति भएको छ । आगोलागीबाट केही निजी बाहेक अधिकांश क्षेत्र सामुदायिक वन सखाप भएको छ । 

चम्पादेवी गाउपालिकाको घोराखोरी, मोलुङ गाउपालिका–१ कुन्तादेवी, चिशंखुगढी गाउपालिकाको पोखरे, रातमाटे, टुनिवोटे, मानेभञ्ज्याङ ४ केत्तुके, भुसुने जंगल लगायतका दर्जनौं सामुदायिक वनहरुमा आगलागी भएको छ । चैत्र महिना भित्र जिल्लाका विभिन्न १८ स्थानमा आगोलागि हुँदा ४ घर र १४ वटा सामुदायिक वन सखाप भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तथ्यांकमा उल्लेख छ । नयाँ बर्ष २०७८ सुरुभएपछि चार व्यक्तिको ७ घर–मतान र विभिन्न तीव वटा सामुदायिक वनक्षेत्र जलेर नष्ट भएको प्रहरी कार्यालयको भनाइ छ । 

आगलागी बाट क्षति भएको वन क्षेत्रको एक्कीन तथ्यांक संकलनका क्रममा रहेको भएपनि हालसम्म आगो लागेर हजार हेक्टरभन्दा बढी वन क्षेत्र सखाप भएको जिल्ला वन कार्यालय ओखलढुंगाले जनाएको छ । मावन सृजित आगलागी रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धीत सरोकारवाला निकाय देखि आम नागरिकले सतर्कता अपनाएपनि चट्याङ लगायत प्राकृतिक प्रकोपलाई रोक्न नसकिने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक गोविन्द काफ्लेले बताउनुभयो । यस पटक दैनिकसजो वन डढेलो भैरहेको र त्यसको नियन्त्रणका लागि प्रहरीले प्रयासहरु गरिरहेको प्रहरी प्रमुख काफ्लेको भनाइ छ । 

आगो नियन्त्रणका लागि स्थानीयलाई तालिम नभएर तरिका थाहा नपाउँदा नियनत्रण गर्न समस्या हुने गरेको मानेभञ्ज्याङका युवा रुपलाल तामाङले बताउनुभयो । आगलागीबाट मानव वस्ती जोखिममा भए मात्रै स्थानीयले जोखिम मोलेर नियन्त्रण गर्ने गरेको वाहाको भनाइ छ ।  नागरिकस्तरमा तालिम नहुँदा आगो नियन्त्रण गर्न जाँदा आगोले डढ्ने त्रासले पनि स्थानीय डराउने गरेका छन् । 

यसरी दैनिक आगोलगी हुँदा वन क्षेत्र सखाप मात्रै हैन ठुलोमात्रामा धनमालको क्षति पनि बढ्दै गएको छ । असोज यता ओखलढुंगामा पनि परेको छैन । समयमा पानी नपरेर सुख्खा भएका वनक्षेत्रमा आगो सल्किने र नियन्त्रणमा ल्याउन नसकिने अवस्था आएको स्थानीयहरुको भनाइ छ । हालसम्म आगो लागेर हजार हेक्टरभन्दा बढी वन क्षेत्र सखाप भइसकेको छ भने विभिन्न व्यक्तिका घर जल्दा १ करोड २५ लाख बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । आगोलागीका कारण वन क्षत्रमा भएको क्षतिको विवरण संकलन भैरहेको बताइएको छ । 


Views: 107