21st June | 2021 | Monday | 1:24:24 PM

मेयर र उपमेयर चढ्ने गाडी बन्यो एम्बुलेन्स

चिसाङ शेर्पा   POSTED ON : जेठ १, २०७८ (४:१५ PM)

मेयर र उपमेयर चढ्ने गाडी बन्यो एम्बुलेन्स

खोटाङ । । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर र उपमेयरले प्रयोग गर्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएका छन् । मेयर दीपनारायण रिजाल र उपमेयर विणादेबी राईले चढ्दै गरेको गाडीहरु एम्बुलेन्सको रुपमा प्रयोग हुने भएको छ ।

महामारीको रुपमा कोरोना भाइरसको दोश्रो लहरको संक्रमण फैलिएपछि स्वास्थ्य संस्थासम्म जानका लागि संक्रमितहरुले समयमै एम्बुलेन्स नपाई रहेको अवस्थामा शनिबारदेखी दुबै गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरिएको मेयर रिजालले जानकारी दिनुभयो ।

मेयर रिजालले प्रयोग गर्ने गरेको बा २ झ ३४६७ नम्बरको गाडीबाट जिल्ला अस्पतालमा आइसोलेसनमा रहेका एकजना संक्रमितलाई शनिबार विराटनगरस्थित कोसी कोभिड अस्पताल पठाइएको छ । बिजयखर्कका २९ वर्षीय पुरुषलाई स्वासप्रस्वासमा समस्या देखिएपछि अक्सिजनसहित मेयर रिजालले चढ्ने गाडीमा पठाइएको हो ।

नगरपालिकामा भएको एक वटा एम्बुलेन्स शुक्रबार बिरामी लिएर काठमाण्डौ गएपछि आज उक्त पुरुषलाई स्वासप्रस्वासमा समस्या देखिएको र संक्रमित लैजानका लागि गाडी व्यवस्था नभएपछि आफू र उपमेयरले प्रयोग गर्ने गाडीलाई एम्बुलेन्स बनाउने निर्णय गरिएको रिजालले बताउनु भयो । संकटका घडीमा आम जनताले घरभित्र बसेर तथा सबैले आ–आफ्नो स्थानबाट साथ सहयोग गर्न मेयर रिजालले आग्रह गर्नुभएको छ । 

उपमेयरले प्रयोग गर्दै आएको को १ झ ६६८ नम्बरको गाडीलाई पनि एम्बुलेन्सको रुपमा प्रयोग गर्न तयारी अवस्थामा राखिएको छ । जनताको माग र आवश्यकता अनुसार आफूले प्रयोग गरिएको गाडीलाई एम्बुलेन्स बनाउने निर्णय गरिएको उपमेयर राईले बताउनु भयो । विपदमा जस्तोसुकै मूल्य चुकाएर भए पनि जनताको उद्धार गर्छौ, उपचार गर्छौ । उपमेयर राईले भन्नुभयो । दुबै गाडीलाई पाटेसन गरेर चालक सुरक्षित हुने र अक्सिजन रहने बनाइएको छ ।

यसअघि हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले आफूले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिईसक्नुभएको छ । जनप्रतिनिधिहरुले गरेकोे यस कार्यको चौतर्फी प्रशंसा भईरहेको छ । 

फोटोमा : आफूले चढ्ने गाडीमा चढेको संक्रमितलाई हौसला प्रदान गर्दै मेयर दीपनारायण रिजाल ।

 तस्विर चिसाङ शेर्पा 


Views: 71