21st June | 2021 | Monday | 12:26:43 PM

खोटाङमा कोरोना संक्रमणबाट एक बृद्धको निधन

चिसाङ शेर्पा   POSTED ON : जेठ १, २०७८ (४:४३ PM)

खोटाङमा कोरोना संक्रमणबाट एक बृद्धको निधन

खोटाङ । खोटाङमा कोरोना भाइरस संक्रमित एक जना बृद्धको निधन भएको छ । ऐसेलुखर्क  गाउँपालिका–३ ऐसेलुखर्कका ७८ वर्षीय पुरुषको शनिबार बिहान निधन भएको हो ।

सुगर, प्रेसर, मृगौलाका रोगी तथा लामो समय प्यारालाइसिसले थलिएका उनलाई शुक्रबार एन्टीजेन परिक्षण गर्दा कोरोना संक्रमण देखिएको र शनिबार बिहान निधन भएको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताउनु भयो ।

निधन भएका व्यक्तिको शवलाई नेपाली सेनाको सहयोगमा व्यवस्थापन गरिएको छ । गाउँपालिकाले निर्धारण गरेको स्थानमा शव व्यवस्थापन गरिएको अध्यक्ष निरौलाले बताउनु भयो ।

निधन भएका व्यक्तिको परिवारको बाँकी तीन जनालाई पनि संक्रमण देखिएको छ । तीन जनालाई होम आइसोलेसनमा राखिएको छ ।

यस गाउँपालिकामा कोरोना संक्रमितको संख्या १२ जना पुगेको छ । जिल्लाभरी ११८ जना कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा र केही भने स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

यसैवीच, नेपाली कांग्रेस क्षेत्र नं.१ ले शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली प्रकट गरेको छ । नेपाली कांग्रेस ऐसेलुखर्क गाउँपालिका सभापति हरेराम राजभण्डारीको पिता गोपिलाल राजभण्डारीको निधनमा क्षेत्रिय सभापति इवन राईले शोक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली प्रकट गर्नुभएको हो ।


Views: 62