21st June | 2021 | Monday | 2:02:35 PM

गाउँ छिर्दै कोरोना भाइरस सचेत छैनन् स्थानीय सरकार

जीवन शर्मा   POSTED ON : जेठ ३, २०७८ (७:२४ PM)

गाउँ छिर्दै कोरोना भाइरस सचेत छैनन् स्थानीय सरकार

ओखलढुंगा ।  नयाँ भेरियन्ट कोरोना भाइरसको संक्रमण गउँ गाउँमा देखा पर्न थालेको छ । दैनिकजसो बृद्धि भैरहेको कोभिड–१९ ले शहरी क्षेत्र बढी जोखिमयुक्त देखिएपनि विस्तारै यसको संक्रमण गाउँसम्म पुग्न थालेको हो । 

कोभिड संक्रमणको डरले शहरमा बस्नेहरु अधिक मात्रामा गाउ आएसंगै कोरोना भाइरस गाउ भित्रीएको स्वास्थ्यकर्मीहरु बताउछन् । मान्छेहरुको भिडभाड बढी हुने क्षेत्रमा यसको संक्रमण दर बृद्धि भएपनि पछिल्लो समयमा गाउस्तर सम्म फैलिन थालेको हुँदा अवस्था डरलाग्दो हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले बताउनुभयो । 

कोरोना भाइरस रोकथाम तथा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु स्थानीय सरकारसंग पर्याप्त मात्रामा छैनन् । स्थानीय प्रशासन तथा स्थानीय सरकारले निशेधआज्ञा जारीगरेको भनिएपनि शहर केन्द्रीत नागरिकहरु निशंकोच गाउ भित्रीरहेका छन् । यसरी स्थानीय प्रशासन तथा स्थानीय तहहरुले सचेतता नअपनाउदा दुर्गम गाउसमेत कोरोनाको कहर बाट पिडित हुन थालेका छन् । जिल्ला बाहिर बाट आउने नागरिकलाई रोकलगाउनु पर्ने स्थानीयबासीको माग रहेको छ । छोटो तथा लामो दुरीका सवारी साधन आवत जावतमा रोक लगाएको भनिएपनि प्रशासनको फितलोपनले त्यसलाई पूर्ण रुपमा कार्यन्वायन गर्न सकेको छैन् ।  

पहिलो चरणमा प्रत्येक स्थानीय तहमा सञ्चालन गरिएका क्वारेन्टाइन अहिले बन्द भएका छन् । स्थानीय सरकार बाट संभावित जोखिम तथा स्वास्थ्य सुरक्षाका उपायहरु नखोजीएको सरोकारवालाहरु बताउछन् । स्वास्थ्य सचेतनाका सन्देशहरु नागरिक माझ पुग्न नसकेको र एकैपटक संक्रमण दर बृद्धि भएपछि गाउपालिका सिल गर्ने अवस्था आएको छ ।

गाउका न्यून बर्गीय नागरिकलाई संक्रमण भएपनि परिवार एकैठाउ बस्नु पर्ने, शौचालय, भाडाकुडा, एउटै प्रयोग गर्नुपर्ने बाध्यात्कम अवस्थामा समेत स्थानीय सरकारले संक्रमितलाई छुट्टै क्वारेन्टीनको व्यवस्थापन गर्ने तिर ध्यान नदिदा संक्रमणले भयावह स्थिति निम्तीने भन्दै स्थानीयहरु त्रसित बनेका छन् । बाहिरबाट आउनेबाट सरेको संक्रमण कमर्चारी हुँदै समुदायमा पुगेको छ । चिशंखुगढी गाउँपालिका, मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकामा समुदायस्तरमा फैलिएको स्वास्थ्यकर्मीहरु बताउछन् । 

आइतबार चिशंखुगढीमा ३० जनाको कोरोनाको पीसीआर परीक्षण गर्दा ३ जना कर्मचारी र ९ स्थानीयबासी सहित १२ जनामा कोरोना संक्रमण देखिएपछि चिशंखुगढी गाउँपालिकाको वडा नं ५ लाई ‘रेड जोन’ घोषणा गरिएको छ । आकस्मिक गाउँ कार्यपालिकाको बैठकले बसी वडालाई ‘रेड जोन’ घोषणा गरेर सिल गरेको गाउपालिका अध्यक्ष निशान्त शर्माले बताउनुभयो ।

यस्तै मोलुङ गाउँपालिकामा फेला परेका १५ संक्रमित सबै स्थानीय हुन् । सिद्धिचरण नगरपालिकाका ३ स्थानीय र २ बाहिरबाट आएर बसोबास गर्ने हुन् । मानेभञ्ज्याङ गाउँपालिकामा पनि संक्रमण समुदाय स्तरमै पुगेको छ । कुनै पनि स्थानीय सरकारले महामारी रोक्ने प्रभावकारी योजना तथा कार्यक्रम ल्याएका छैनन् । हाल सम्म ओखलढुंगामा संक्रमितको संख्या ८९ पुगेका र उनिहरु मध्य ६ जना अस्पतालमा छन भने बाँकी सबै विरामी होम आइसोलेशनमा रहेका छन् ।    आज २० जनामा एन्टीजेन गर्दा १० जनालाई कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । समुदायस्तरमै कोरोना फैलिनुको कारण भने स्वाव दिएका व्यक्तिको घुमफिर र होटल पसलमा हुने जमघट नै हो । अवस्था भयवह बने पनि यस अघि बनेका कोभिड अस्पताल र आइसोलेसनहरु स्थानीय तहले व्यवस्थापन गर्न ध्यान दिएका छैनन् । नागरिकको उपचारमा सरकार जिम्मेवार हुन नसकेको सर्वत्र गुनासो आइरहेको छ । 


Views: 168