21st June | 2021 | Monday | 1:37:53 PM

मानेभन्ज्याङमा नागरिक आरोग्य सेवा केन्द स्थापना

चिसाङ शेर्पा   POSTED ON : जेठ २७, २०७८ (७:५२ PM)

मानेभन्ज्याङमा नागरिक आरोग्य सेवा केन्द स्थापना

खोटाङ । खोटाङको साकेला गाउँपालिकामा ‘नागरिक आरोग्य सेवा केन्द्र’ स्थापना गरिएको छ । स्वास्थ्य व्यक्तिको स्वास्थ्यकोे रक्षा गर्ने र रोगी व्यक्तिको उपचार गर्ने उद्देश्यले गाउँपालिकाको केन्द्र मानेभन्ज्याङमा बुधबार केन्द्रको स्थापना गरिएको हो ।

गाउँपालिकाले उपलब्ध गराएको घरमा स्थापना गरिएको नागरिक आरोग्य सेवा केन्द्रको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका व्यवस्थापक एवंम् सञ्चालन समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले उद्घाटन गर्नुभयो ।

 गाउँपालिका अध्यक्ष अर्जुन कुमार खड्का, उपाध्यक्ष सरिता खड्का, प्रमुख प्रशासकीय अधिकृत रविन मगर, कर्मचारी, स्थानीय नागरिकहरुको उपस्थितीमा आरोग्य केन्द्रको उद्घाटन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख अजय कुमार झाले जानकारी दिनुभयो ।

नागरिक आरोग्य सेवा केन्दमा निःशुल्क पञ्चकर्म सेवा, योग सेवा, सामान्य उपचार, स्वस्थ जीवन कसरी बाँच्ने उपाय, सुत्केरीहरुको लागि दुग्धवर्दक औषधी, ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्यवर्दक औषधी वितरण हुनेछ । यस्तै, नेपाल सरकार तथा प्रदेश सरकारद्धारा निर्देषित कार्यक्रमहरु पनि सञ्चालन हुनेछ ।

राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा आयुर्वेद, प्राकृतिक चिकित्सा, योग तथा होमियोप्याथी लगायतका चिकित्सा प्रणालीलाई एकीकृत रुपमा विकास र विस्तार गरी संघिय संरचना अनुरुप आयुर्वेद चिकित्सा सम्बन्धी तहगत संस्थाहरुको योजनाबद्ध विकास तथा विस्तार गर्ने लक्ष्य अनुसार हालसम्म जिल्लाको तीनवटा गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको हो ।

यसअघि ऐसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिकामा सोही किसिमको नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको छ । आगामी आर्थिक वर्षमा दिप्रुङ चुईचुम्मा गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र वराहपोखरी गाउँपालिकामा पनि आरोग्य सेवा केन्द्रको विस्तार गरिने लक्ष्य रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख झाले बताउनु भयो ।


Views: 51